हामी लुम्बिनीको विविधता बेच्छौं : पर्यटन व्यवसायी पन्त


काठमाडौँ — लुम्बिनी घुम्न आउने पर्यटकलाई आफूहरूले त्यहाँको धार्मिक, सांस्कृतिक र पर्यावरणीय विविधता देखाउने उल्लेख गर्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले लुम्बिनीका सबै क्षेत्र र निकायले एक-अर्कालाई प्रवर्द्धन गर्न आवश्यक रहेको भनाइ राखेकी छन् ।

'लुम्बिनीबाहिर पनि लुम्बिनी प्रदेश छ भन्ने बुझ्नुपर्छ,' उनले भनिन्, 'बर्दियाको बाघ बर्दिया वा बाँकेको मात्र होइन रुपन्देहीको पनि हो । रुपन्देहीले त्यसलाई आफ्नो ठानेर प्रचार गर्नुपर्छ ।' कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'लुम्बिनीको सामर्थ्य' कार्यक्रमको अन्तिम सत्र 'पर्यटनको उडान' मा बोल्दै पन्तले पर्यटकहरुलाई पाल्पाको हिमाल, ऋषिमुनीको तपस्यास्थल रेसुङ्गा, प्यूठानको स्वर्गद्वारी जस्ता ठाउँको विशेषता सुनाउने गरेको बताइन् ।
लुम्बिनी प्रदेशको भ्रमणमा आउनेलाई उचित आवासिय व्यवस्था नभएकाले यहाँको भौतिक पूर्वाधारमा लगानी र त्यसमा सरकारको साथ आवश्यक रहेको पनि उनले औंल्याएकी छन् । पर्यटनको उडानका लागि आफूहरुसँग आकर्षक प्याकेज तयार रहेको र यसलाई साकार पार्न सरकारको साथ मात्रै अपुग रहेको पन्तको भनाइ छ ।
प्रकाशित : माघ २१, २०७९ १७:४६