'राज्यले बर्दियालाई चिन्न सकेन'- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

'राज्यले बर्दियालाई चिन्न सकेन'

कान्तिपुर संवाददाता

काठमाडौँ — राज्यले बर्दियालाई चिन्न नसकेको होटेल संघ नेपाल बर्दियाका अध्यक्ष मोहन चौधरीले बताएका छन्। शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको लुम्बिनीको सामर्थ्य बहसको 'पर्यटनको उडान' विषयक सत्रमा बोल्दै चौधरीले अन्तर्राष्ट्रिय क्षेत्रले बर्दियालाई चिन्दा पनि देशले चिन्न नसकेको बताएका हुन् ।

‘अन्तर्राष्ट्रिय क्षेत्रले चिनेको र देशले बिर्सिएको ठाउँ बर्दिया हो । म बदिएयाको परिचय यसरी दिन चाहन्छु,’ उनले भने, ‘बाघ हेर्नलाई संसारको उच्चतम गन्तव्य हो भनेर संसारका राम्रा टुरिजम जर्नलहरूले सम्मान दिइरहेका छन् । बाघको संख्या बढाएकोमा अन्तर्राष्ट्रिय सम्मान छ । पर्यटन गन्तव्य बन्यो भनेर अन्तर्राष्ट्रिय सम्मान छ । तर राज्यको कुनै पनि अंगमा देख्नुस् यो सम्मानको कुनै फोटो देख्नुहुन्न।’

कोभिडमा बर्दियाले थेगेको र हाल इकोनोमी क्रन्च भइरहेको अवस्थामा जेनतेन थेग्ने कोसिस गरिरहेको चौधरीले बताए । कोभिड पछाडि जेनतेन आन्तरिक पर्यटकले बर्दिया रिभाइब हुन खोजेको र त्यसमा नेपाल राष्ट्र बैंकले पनि केही राहत दिएको उनले बताए।

‘हालको जसरी अर्थतन्त्र संकुचित भएको छ त्यसले बर्दियाका अधिकांश होटेलहरू ताल चाबी कसैलाई बुझाउनु पर्छ की या आत्मदाह गर्न पर्छ की भन्ने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘म यसो किन भन्दैछु भने विदेशी पर्यटक नआएपनि आन्तरिक पर्यटकहरूको एक किसिमको घुइँचो लाग्ने गरेको थियो बर्दियामा । तर अहिले हेर्नुहोस् निकुञ्जको गेटमा एउटा गाडी भित्र छिर्दैन । कुनै क्रियाकलाप हुँदैन । किनकी मान्छे आउँदैन मान्छेसँग पैसा छैन । यो अवस्थाबाट बर्दिया गुज्रिरहेको छ । तर बर्दियाको सम्पदाको विषयमा कुरा गर्नुहुन्छ भने देशको लामो नदी बगिरहेको छ। प्राकृतिक विविधता छ । ऐतिहासिकता छ । यी सबैको खानी हुँदाहुँदै पनि बर्दिया पछि परेको छ ।'

प्रकाशित : माघ २१, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ जासूसी उडानका कारण अमेरिकाले स्थगित गर्‍यो ब्लिङकेनको बेइजिङ भ्रमण

एजेन्सी

काठमाडौँ — अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले आफ्नो चीन यात्रा स्थगित गरेका छन् । संयुक्त राज्य अमेरिकाको हवाई क्षेत्रमा चिनियाँ जासूस बेलुनको उपस्थितिले अमेरिकी सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै उनले चिनियाँ भ्रमण स्थगित गरेका हुन् ।

यही आइतबारका लागि ब्लिङकेनको चीन भ्रमण तय भएको थियो । तर ब्लिङकेनले चिनियाँ हवाइ निगरानीका कारण अमेरिकी सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै आफ्नो भ्रमण स्थगित गरेका हुन् । साथै उक्त निगरानीले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि उनले बताए ।

चीनले भने मौसम विज्ञान अनुसन्धानका लागि प्रयोग गरिएको बेलुन अमेरिकी वायुक्षेत्रमा प्रवेश गरेकोमा दु:ख व्यक्त गरेको छ । तर अमेरिकाले यसलाई 'उच्च उचाइको निगरानी बेलुन' भएको भनेको छ ।

चीनको विदेश मन्त्रालयले भने शनिबार विज्ञप्ति जारी गर्दै अमेरिकामाथि चिनियाँ उडानलाई दुर्घटनाको रुपमा व्याख्या गर्दै अमेरिकी राजनीतिज्ञ र मिडियाले बेइजिङलाई बदनाम गर्न परिस्थितिको फाइदा उठाएको आरोप लगाएको छ। चीनले आफू सधैँ अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने र अन्य देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने जनाएको छ ।

साथै चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले चीन भ्रमणको कुनै घोषणा नगरेको भन्दै उक्त भ्रमणको विषय उसको आफ्नै सवाल भएको जनाएको छ। र आफूहरूले त्यसको सम्मान गर्ने पनि चिनियाँ विदेश मन्त्रालयको भनाइ छ । अमेरिकी रक्षा मन्त्रालयले ल्याटिन अमेरिकामा अर्को चिनियाँ जासूसी बेलुन देखेको जनाएपछि चीनले उक्त विज्ञप्ति जारी गरेको हो। यद्यपि उक्त बेलुन उडेको स्थानको स्थान यकिन गरिएको छैन ।

यस क्रममा अमेरिकाले वर्तमान परिस्थितिमा चीन भ्रमण गर्नु रचनात्मक नहुने भन्दै ब्लिन्केन चाँडै उपयुक्त अवसरमा यात्रामा निस्किने योजना रहेको जनाएको छ । त्यसलगत्तै ब्लिङकेनले अहिले कायम रहेको समस्या समाधानका लागि आफू बेइजिङ जान लागेको जनाएका थिए ।

चिनियाँ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भने चिनियाँ विदेश मामिला आयोगका निर्देशक वाङ यीले शुक्रबार साँझ ब्लिन्केनसँग फोनमा कुराकानी गरेका थिए । साथै अमेरिकी आकाशमा भएको आकस्मिक घटनालाई शान्त र व्यवसायिक रूपमा कसरी व्यवहार गर्ने भनेर छलफल गरेका थिए।

प्रकाशित : माघ २१, २०७९ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×