कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

संकटमा दार्चुलाका गलैंचा उद्योग

मनोज बडू

दार्चुला — नेपालमै प्रसिद्ध मानिएको दार्चुलाको गलैंचाले पछिल्लो समय बजार पाउन छाडेको छ । परम्परादेखि नै यहाँका स्थानीयले तानबाट बुनेर गलैंचा बनाउने गरे पनि लागतअनुसारको प्रतिफल नपाउँदा उत्पादन घट्दै गएको हो ।

पहिले सौका समुदायका घरमा गलैंचा बुन्ने गरिएको थियो । पछि जिल्लाका अन्य समुदायका मानिसले पनि गलैंचा उत्पादनबाट आम्दानी गर्न थालेका थिए । बजारमा सस्तोमै चिनियाँ गलैंचा पाइन थालेपछि स्थानीय उत्पादन बिस्तारै हराउँदै गएको खलंगा बजारका व्यवसायी ललितप्रसाद भट्टले जनाए ।

८/१० वर्षअघिसम्म सरकारी काम विशेष र विकास निर्माणको निरीक्षणका लागि जिल्ला पुग्ने केन्द्रका कर्मचारी र यहाँका कार्यालयले दार्चुलाको चिनोका रूपमा गलैंचा राडीपाखी उपहार दिन्थे । जिल्लाको स्थानीय उत्पादन र घरेलु कच्चा पदार्थबाट बुनिएका गलैंचा चर्चित थिए । दार्चुलामा गलैंचा बजार खस्किएसँगै हालका वर्षमा उत्पादन पनि घटेको छ । ‘हातले ऊन कातेर तानमा बुनेको गलैंचा थोरै मात्र पाइन्छ,’ भट्टले भने, ‘रेडिमेड गलैंचाले स्थानीय उत्पादनलाई विस्थापित गर्दै छ ।’

कम लागत र राम्रो सजावटको गलैंचा बजारमा सहज उपलब्ध हुन थालेपछि स्थानीय उत्पादन घटेको उनको भनाइ छ । गलैंचा तयार गर्न जिल्लाबाहिरबाट कच्चा पदार्थ ल्याउनुपर्ने र मिहिनेत पनि धेरै लाग्ने हुँदा स्थानीय प्रविधिबाट बुनिएको गलैंचाको लागत धेरै पर्छ । बढी समय लगाएर गलैंचा बुने एक महिनामा दुई वटा तयार गर्न सकिन्छ । अन्य काम पनि गर्नुपर्दा महिनाको एकमात्र बुनिने हुँदा मिहिनेत र लागत धेरै आउने ब्यास गाउँपालिका–१ टिंकरखेडाकी जानकी बुढाथोकीले बताइन् । एउटा गलैंचा तयार गर्न ७/८ हजार रुपैयाँको कच्चा पदार्थ लाग्ने उनको भनाइ छ । ‘एक महिना बराबरको मिहिनेत जोड्ने हो भने लागत धेरै पुग्छ,’ उनले भनिन्, ‘सामान्य गलैंचा १२/१५ हजारमा तयार गर्न सकिन्छ ।’ बजारमा चिनियाँ गलैंचा ५/७ हजारमै पाइने हुँदा स्थानीय उत्पादन लोप हुन थालेको उनको भनाइ छ ।

दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायका प्रत्येक घरमा गलैंचा बुन्ने तान र मेसिन भेटिन्छन् । तर धेरैजसोले मेसिन खोलेर राखेका छन् । केहीको घरमा गलैंचा बुन्ने मेसिन चालु अवस्थामा पनि छन् । ‘सक्ने बेलासम्म गलैंचा बुन्छौं । म मरेपछि मेरो घरमा पनि तान बुन्ने कोही छैन,’ ७७ वर्षीया पार्वती बोहराले भनिन् । बूढापाका भएको घरमा मात्र तान भेटिने गरेको उनको भनाइ छ ।

‘अहिले थोरैले मात्र बिक्रीका लागि गलैंचा बुन्ने गरेका छन्,’ बोहराले भनिन्, ‘रेडिमेड गलैंचा बजारमा नआउँदासम्म दार्चुलाको गलैंचा खोजी–खोजी किन्ने गरिन्थ्यो । अहिले हातले बुनेको गलैंचा भारतीय बजारमा गएर खरिद गरेर ल्याउनुपर्ने अवस्था छ ।’

प्रकाशित : माघ २१, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?