तोलामा १४ सय रुपैयँले घट्यो सुनको मूल्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

तोलामा १४ सय रुपैयँले घट्यो सुनको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख सात हजार रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले घटेर एक हजार तीन सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित : माघ २०, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

पर्सा निकुञ्ज तस्करी प्रकरण : २ सांसद, पूर्वगाउँपालिका अध्यक्षसहित ४७ जनाविरुद्ध मुद्दा दायर

गोविन्द पोखरेल

काठमाडौँ — पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको ठहर गर्दै दुई जना प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(२) का प्रदेश सांसद श्याम खड्का र सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवालविरुद्ध वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको रुपमा काम गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको पर्साका वार्डेन अशोक रामले कान्तिपुरलाई बताए । सांसद जयवाल स्वतन्त्रबाट निर्वाचित हुने भने खड्का नेपाली कांग्रेसका निर्वाचित सांसद हुन् । पूर्वगाउँपालिका अध्यक्ष जयसवाल जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध छन् ।

उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने उनले बताए ।

वन्यजन्तु तस्करीमा सांसद खड्का पनि मुछिए

उनीहरूलाई निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारीका लागि मतियारको रुपमा काम गरेको ठहर गरेको हो । वार्डेन रामका अनुसार उनीहरूलाई कसुरदारलाई लाग्ने सजायको आधा हुनेछ । कसुरदारलाई ५० हजार कैद र एक वर्षसम्मको जरिवाना हुने व्यवस्था छ ।

यस्तै, सांसद खड्काको हकमा निकुञ्ज कार्यालय आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निकुञ्जले निष्कर्ष निकालेको छ । उनलाई निकुञ्जले हातहतियार खरखजना ऐन,२०१९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर समेत पठाएको छ ।

पक्राउ परेका प्रतिवादीहरू झापसदास थारु, नवराज बस्ने, शिल सहनी, दामोदार अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरलाई भने सो ऐनको दफ २६(३) बामोजिक सजाय हुने निर्णय भएको छ ।

प्रकाशित : माघ २०, २०७९ ११:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×