२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दुई महिनायता सीमावर्ती बजारमा नेरु बलियो, भारु कमजोर

सुन तस्करीबाट अवैध रुपमा भित्रिनेभारू र सीमावर्ती क्षेत्रका क्यासिनोका कारण पनि बजारमा छ्यापछ्याप्ती हुँदा भारू कमजोर

काठमाडौं, भैरहवा, कपिलवस्तु, विराटनगर, धनगढी र कञ्चनपुर — भारतसँग सिमाना जोडिएका बजारमा भारतीय मुद्रा (भारु) को तुलनामा नेपाली मुद्रा (नेरु) बलियो हुने क्रम कायमै छ । विरलै देखिने यस्तो प्रवृत्ति करिब साढे २ दशकयता पहिलो पटक सीमावर्ती बजारमा देखिएको हो । पछिल्लो दुई महिनायता सीमावर्ती बजारमा भारुको तुलनामा नेरु बलियो बनिरहेको छ ।

दुई महिनायता सीमावर्ती बजारमा नेरु बलियो, भारु कमजोर

तस्करी र हुन्डीबाट मागभन्दा बढी भारु भित्रिँदा केही महिनायता सीमावर्ती बजारमा भारु कमजोर भएको त्रिभुवन विश्वविद्यालय आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक अर्जुन बरालले बताए । ‘तरलता अभावको मार खेपिरहेको नेपालको अर्थतन्त्र बलियो भएर यति बेला भारुको तुलनामा नेरु बलियो भएको होइन । अहिले नेरु बलियो हुनुमा बजारको मागभन्दा बढी अवैध रूपमा भारु भित्रिनु हो,’ उनले भने, ‘बजार माग र आपूर्तिले विनिमय दर तय गर्ने भए पनि तस्करी र हुन्डीबाट धेरै भारु भित्रिएकाले त्यसको आपूर्ति बढेर भाउ घटेको हो ।’

सुन तस्करीबाट अवैध रूपमा भित्रने भारु र सीमावर्ती क्षेत्रका क्यासिनोका कारण पनि बजारमा छ्यापछ्याप्ती हुँदा भारु कमजोर भएको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलको भनाइ छ । केही महिना अघिसम्म नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय भैरहवा र त्यहाँका मुद्रा सटही काउन्टरमा भारतीय मुद्रा किन्नेको भीड लाग्थ्यो । माग धेरै हुँदा त्यति बेला भारतीय मुद्रा अभाव हुन्थ्यो । राष्ट्र बैंक, बैंक र सटही काउन्टरले मागअनुरूपको भारतीय मुद्रा उपलब्ध गराउन सक्दैनथे । सर्वसाधारणले चलनचल्तीमा निर्धारित विनिमय दरभन्दा धेरै मूल्यमा भारतीय मुद्रा खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीय व्यापारी बताउँछन् । अहिले परिस्थिति बदलिएको छ । सीमावर्ती नेपाली बजारमा भारतीय मुद्रा फालाफाल छ । बैंक र सटही काउन्टरबाहेक बजारमा भारतीय मुद्रासँग कायम नेपाली विनिमय दर (१ सय ६० रुपैयाँ) मा भारु पाइँदैन । भारतीय मुद्रा लिन सकभर कसैले चाहन्नन् । भारतीय मुद्राको कारोबार गर्ने यहाँका तीन दर्जनभन्दा धेरै सटही काउन्टर सुनसान छन् । पहिला निर्धारित विनिमय दरभन्दा केही रकम बढी लिएर (बट्टा) लिएर भारु उपलब्ध गराउने दुई नम्बरी कारोबारमा संलग्न व्यवसायीले अहिले ठीक उल्टो अर्थात् निर्धारित विनिमय दरभन्दा कम नेपाली रुपैयाँ लिएर भारु उपलब्ध गराउने गरेको स्थानीय जानकार बताउँछन् ।

बजारमा भारतीय मुद्राको उपलब्धता धेरै भएको र माग पनि घटेको भैरहवास्थित नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालयकी निर्देशक रञ्जना पौडेलले जनाइन् । ‘के कारणले यस्तो अवस्था आयो भन्नेबारे कुनै अध्ययन नगरिएकाले आधिकारिक रूपमा केही भन्न सकिने स्थिति छैन,’ उनले भनिन्, ‘बजारमा भारतीय मुद्राको आपूर्ति बढेको भने यथार्थ हो । हामीकहाँ भारतीय मुद्रा जम्मा गर्न आउने आधिकारिक स्रोतले पहिलाको तुलनामा धेरै भारु ल्याउने गरेका छन् ।’ पछिल्लो समय सीमावर्ती नेपाली बैंक तथा वित्तीय संस्थामा निक्षेप र खाता खोल्ने संख्या बढे–नबढेको विषयमा भने अध्ययन नभएको पौडेलको भनाइ छ ।

भारतमा कालोधनलाई उपयोगमा ल्याउन नेपालबाट कारोबारीमार्फत सुन खरिद गर्ने र त्यसको सट्टा भारु भुक्तानी दिने, भारतमा बसोबास गर्ने तर दोहोरो नागरिकता हुने परिवारले कालोधन लुकाउन वा उपयोगमा ल्याउन नेपालमा ल्याउने गरेको, भारतमा रोजगारीबाट निवृत्त पेन्सनरले पेन्सन ल्याउँदा भारु ल्याउने र सीमावर्ती नेपाली बजारमा भारतीय नागरिकबाट सामान किनमेल तथा सेवा लिँदा भारुको प्रयोग गरिएकाले यस्तो अवस्था आएको हुन सक्ने स्थानीय व्यापारीको अनुमान छ ।

भारतीय बैंकको तुलनामा नेपाली बैंकमा निक्षेपको ब्याजदर धेरै भएकाले नेपालतर्फ भारतीय मुद्राको आपूर्ति बढेको हुन सक्ने अनुमान पनि छ । यो पुष्टि हुने आधिकारिक प्रमाण भने भेटिएको छैन । यसबारे सीमावर्ती बजारमा रहेका वाणिज्य बैंकका शाखा कार्यालयमा निक्षेप वृद्धिको अवस्थाबारे जिज्ञासा राख्दा अपेक्षा गरेअनुरूप निक्षेप बढेको पाइएन । ब्याजदरकै कारणले भारतबाट नेपालमा निक्षेप नआएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भैरहवा शाखाका उपप्रबन्धक सुदर्शन पाण्डेले बताए । ‘हाल भारतीय बैंकमा निक्षेपमा ६/७ प्रतिशत ब्याज पाइन्छ । नेपालमा भने ११/१२ प्रतिशतसम्म पाइन्छ । तर पछिल्ला दिनमा बैंकमा डिपोजिट रकम र निक्षेप खाता खोल्नेको संख्यामा बढेको भने देखिन्न,’ पाण्डेले भने, ‘भारतीय धनाढ्यले भारु डम्प गरेर राख्नुभन्दा नेपाली रुपैयाँ डम्प गरेर राख्दा सुरक्षित भइने ठानेर नेपाली मुद्राको माग धेरै भएको अनौपचारिक रूपमा सुन्नमा आएको छ ।’

आफूले बिमा गराएबापत पाएको ६२ हजार भारु प्रचलित विनिमय दरमा साट्न नसकेको बिमा अभिकर्ता माधव शर्माले बताए । ‘एक सय भारुलाई नेपाली १ सय ५७ रुपैयाँ पनि दिन मानेनन्,’ उनले भने, ‘भारु लिएर सीमावर्ती भारतको सुनौली बजारमा जाँदा पनि नेपाली रुपैयाँ लगे भारु बढी लाग्ने बताएको उनको भनाइ छ । जब कि पहिला भारु लिँदा नेपाली रुपैयाँमा बट्टा लाग्थ्यो ।’ भारु अवमूल्यन भएकाले सबै मनी चेन्जर व्यवसाय सुनसान बनेको भैरहवाका मनी चेन्जर व्यवसायी लोकनाथ ज्ञवालीको गुनासो छ । नेपाल राष्ट्र बैंकबाटै कायम विनिमय दरमा मनी चेन्जरबाट भारु कारोबार गर्ने गरिए पनि बाहिर बजारमा भने एक सय भारुको ३ रुपैयाँसम्म सस्तो पर्ने गरेको उनले बताए । ‘तर अब यो क्रम भने बिस्तारै रोकिँदै छ,’ ज्ञवालीले भने, ‘अब केही दिनमा परिस्थिति साबिककै अवस्थामा आउने देखिन्छ ।’

नेपालगन्जमा पनि एक सय भारु १५४/१५५ रुपैयाँमा कारोबार भइरहेको छ । बजारमा भारुको आपूर्ति धेरै रहेकाले अझै केही दिन नेरु बलियो हुने स्थानीय जानकार बताउँछन् ।

नेपालमा चल्तीमा नरहेका भारु पाँच सय र दुई हजारका नोट बजारमा धेरै रहेकाले पनि सटहीमा समस्या भएको हुन सक्ने नेपालगन्जका मनी चेन्जरहरूको भनाइ छ ।

वीरगन्ज र पर्साका सीमावर्ती बजारमा पनि एक सय भारु नेरु १ सय ५२ रुपैयाँसम्ममा कारोबार भइरहेको पाइएको छ । नेपाली बैंकमा ब्याजदर धेरै भएकाले भारतबाट ठूलो परिमाणमा निक्षेप आएको भन्ने कुरा वीरगन्जमा नै पुष्टि हुन सकेन । भारतीयले पछिल्लो समय नेपाली बैंकमा निक्षेप गर्ने प्रवृत्ति बढेको बारे आफूलाई जानकारी नभएको नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका निर्देशक राजनदेव भट्टराईले जनाए । ‘भारतीय नागरिकले नेपाली बैंकमा आएर सोझै खाता खोल्न सक्ने अवस्था छैन । यसकारण सिधै भारतीय नागरिकले नेपाली बैंकमा निक्षेप जम्मा गर्न सक्दैनन्,’ उनले भने, ‘भारतीय नागरिकले नेपाली बैंकमा खाता खोल्न नेपालमा बसेर कुनै कम्पनीमा काम गरेको हुनुपर्छ । त्यस्ता भारतीय नागरिकले यहाँस्थित भारतीय दूतावासको पत्र र सम्बन्धित कम्पनीले प्रमाणित गरेको पत्रका आधारमा मात्र नेपाली बैंकमा खाता खोल्न पाउँछन् ।’

एक सय भारुको १ सय ५५ रुपैयाँका कारोबार हुँदै आएको कपिलवस्तु यशोधरा गाउँपालिका पोखरभिटवाका हनुमान पाण्डेले बताए । ‘म गाउँ छेउकै पेट्रोल पम्पमा दुई लिटर तेल हाल्न गएको थिएँ । पाँच सय भारु दिएपछि पम्प सञ्चालकले प्रतिसय भारुको नेपाली १ सय ५५ रुपैयाँमा चल्ने बताए,’ उनले भने, ‘यसपछि पम्पवालासँग एकछिन विवाद पनि भयो ।’

नेरुको तुलनामा भारु अवमूल्यन भएपछि भारु कारोबारी समस्यामा परेका छन् । सीमावर्ती बजारमा चोरी तस्करी रोकिँदा भारु भारततिर जान पाएको छैन । नेपालबाट सुन तस्कारी बढ्दा भारुको आपूर्ति बढेको व्यवसायी बताउँछन् ।

विराटनगर र आसपासका सीमावर्ती क्षेत्रमा पनि एक सय भारुको नेपाली १ सय ५५ देखि १ सय ५८ रुपैयाँसम्ममा कारोबार हुँदै आएको छ । ठूलो परिमाणमा नेरु चाहिनेले भारु एक सयलाई नेरु १ सय ५५ रुपैयाँसम्ममा पनि बिक्री गर्ने गरेको भव्य सटही सेन्टरका संजोग भगतले जनाए । ‘विगतमा सटही सेन्टरले एक सय भारु नेपाली १ सय ६५ रुपैयाँसम्ममा किन्थे । अहिले त्यो अवस्था छैन,’ स्थानीय एक व्यवसायीले भने, ‘दुई साताअघि जोगवनी बजारमा एक सय भारु नेपाली १ सय ४० रुपैयाँमा पनि बिक्री भएको थियो ।’

केही महिनाअघिसम्म भारतको जोगवनीस्थित स्टेट बैंक र सेन्ट्रल बैंकमा पैसा राख्ने नेपालीको संख्या निकै थियो । पछिल्लो समयमा भारतीय बैंकले निक्षेपमा ब्याज कम दिन थालेपछि धेरैजसो नेपालीले खाता बन्द गरेका छन् । ती नेपालीले भारतबाट ल्याएको पैसा नेपाली बैंकमा जम्मा गरेको स्रोतको दाबी छ ।

कुनै बेला धनगढीमा एक सय भारु लिँदा दुई सयभन्दा बढी नेपाली रुपैयाँ तिर्नुपर्ने अवस्था रहेकामा अहिले ठ्याक्कै उल्टो भएको स्थानीय व्यवसायी बताउँछन् । एक साताअघि धर्मसिंह विक भारतबाट काम गरेर अछाम घर फर्केका थिए । उनले धनगढी बजारबाट घरका लागि केही लत्ताकपडा र समान किन्न खोजे । तर कपडा र समानको एकमुस्ट १० हजार भारु तिर्न खोज्दा नेपाली व्यापारीले भारु लिन मानेनन् । त्यसपछि विकले आफ्नो साथीसँग भारु सटही गरेर पसलेलाई नेरु तिरेका थिए ।

धनगढी बजारको गौरीशंकर इन्टरप्राइजेजका प्रोप्राइटर जयन्त स्वाँरका अनुसार पहिला भारतीय व्यापारीको लगानी नेपाली बजारमा हुन्थ्यो । उनीहरूलाई धनगढीमा व्यापारीले भारुमा तिर्नुपर्दा भारुको अभाव हुने गरेको थियो । पहिला खुला सीमाका कारण चोरी तस्करीबाट सामान बढी आउँथ्यो । त्यसको भुक्तानी भारतीय सीमावर्ती क्षेत्रका व्यापारीले भारुमै रकम माग गर्थे । अहिले त्यो क्रम घटेकाले भारतीय भारुको आपूर्ति धेरै भएको हुन सक्ने स्वाँरको भनाइ छ । नेपाली व्यवसायीले त्यत्तिकै भारु नलिने भएकाले भारतबाट कमाइ गरी नगद ल्याउने मजदुरलाई समेत भारु सटही गर्न समस्या भएको स्थानीय व्यवसायी बताउँछन् ।

कञ्चनपुरमा पनि केही दिनयता सीमावर्ती क्षेत्रमा भारुको उपलब्धता सहज भएको छ । विगतमा भारुबाट नेरु सटही गर्दा १ सय ६० रुपैयाँभन्दा धेरै तिर्नुपर्थ्यो । अहिले भारु सहज उपलब्ध हुन थालेपछि १ सय ६० रुपैयाँमा भारु सटही हुन छाडेको स्थानीय व्यवसायीको भनाइ छ । खासगरी प्रतिनिधिसभा र प्रदेशको निर्वाचनपछि सीमावर्ती बजारमा भारुको उपलब्धता बढेपछि भारु कमजोर बनेको छ भने धेरैले भारुबाट नेरु सटही नै गर्न नचाहेको उनीहरूको भनाइ छ । ‘विगतमा भारु सटहीका लागि १ सय ६० रुपैयाँभन्दा बढी तिर्नुपर्थ्यो,’ ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले भने, ‘अहिले १ सय ६० भन्दा कममै भारु पाइन्छ ।’

प्रकाशित : माघ २०, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?