कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कीर्तिमानी बाटोमा सुनको मूल्य

बिहीबार प्रतितोला १ लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार
डेढ/दुई सातामा प्रतितोला १ लाख १० हजारसम्म पुग्ने प्रक्षेपण
राजु चौधरी

काठमाडौँ — पहेंलो धातुका रूपमा चिनिएको सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, मन्दी, द्वन्द्वलगायत कारणले सुनको भाउमा नयाँ नयाँ रेकर्ड बनेको छ । बिहीबार प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै ऐतिहासिक हो । बुधबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

कीर्तिमानी बाटोमा सुनको मूल्य

‘बुधबारको तुलनामा प्रतिऔंस ३१ डलर बढेको छ, त्यसकारण नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड बनाएको छ,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘मूल्य विश्लेषण गर्दा कीर्तिमानीको बाटोमा देखिन्छ ।’ बुधबार प्रतिऔंस १९ सय २१ डलरमा कारोबार भएको सुनको मूल्य बिहीबार बढेर १९ सय ५२ डलरमा कारोबार भएको छ, जसले गर्दा यहाँ मूल्य बढेको उनको भनाइ छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधारमा मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै यहाँ मूल्य बढेको महासंघले जनाएको छ । यसअघि ०७७ साउन २१ मा सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको थियो । त्यस बेला सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ पुगेको थियो । साउन २२ मा पुनः नयाँ रेकर्ड बनाउँदै १ लाख २ हजार ५ सय, साउन २३ मा १ लाख ३ हजार ५ सयमा कारोबार गर्दै नयाँ रेकर्ड बनेको थियो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै ०७८ फागुन १५ मा पुनः नयाँ रेकर्ड बन्यो । महासंघका अनुसार फागुन १५ मा प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोबार भएको थियो । त्यो पनि मूल्य ऐतिहासिक हो । त्यसपछि मूल्य फेरि घटबढ हुँदै प्रतितोला ८२ हजार रुपैयाँसम्मा झरेको थियो ।

०७९ मंसिर २३ देखि भने प्रतितोला १ लाख रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ । पुस १ मा प्रतितोला ४ सय रुपैयाँ घटेर ९९ हजार ९ सय रुपैयाँमा कारोबार भए पनि त्यसपछि मूल्य १ लाख रुपैयाँभन्दा माथि नै छ । ‘मूल्य १ लाख रुपैयाँभन्दा माथि पुग्नुको मुख्य कारण नै मुद्रास्फीति हो । अन्तर्राष्ट्रिय बजारमा महँगी बढेको छ, सुरक्षित लगानीका लागि लगानीकर्ताले सुन रोजेका छन्,’ पूर्वअध्यक्ष शाक्यले भने, ‘जसले गर्दा भाउ १ लाख रुपैयाँभन्दा माथि छ । अन्तर्राष्ट्रिय बजार विश्लेषकले प्रतिऔंस २ हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् । यस्तो अवस्था आए नेपाली बजारमा सुनको भाउ १ लाख १० हजार रुपैयाँसम्म पुग्नेछ ।’

०७९ माघ १० मा मूल्य बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको महासंघले बताएको छ । उक्त मूल्य पनि कीर्तिमानी नै हो । माघ १२ मा बढेर पुनः १ लाख ६ हजार ९ सय रुपैयाँ पुग्यो । माघ १९ मा मूल्य थप बढेर १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भयो । ‘सुनको भाउ बढ्नुको प्रमुख कारण बजार महँगी नै हो । मुद्रास्फीतिको दबाबले भाउ बढ्दो क्रममा छ । लगानीकर्ताको नजरमा सुरक्षित लगानी भनेकै सुन हो,’ शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजार विश्लेषण गर्दा डेढ/दुई सातामा प्रतितोला १ लाख १० हजारसम्म पुग्ने देखिन्छ ।’

सुनको मूल्य बढ्नुको अर्को प्रमुख कारण अमेरिका र चीनको आर्थिक व्यापारिक गतिरोध पनि हो । सन् २०२० देखि दुई मुलुकबीच ८ सय खर्ब डलरको व्यापार गतिरोध भइरहेको छ । ‘अमेरिका र चीनको आर्थिक द्वन्द्व र रुस अनि युक्रेनबीचको युद्धले पनि मूल्य बढाउन सघाएको छ,’ शाक्यले भने । अन्तर्राष्ट्रिय बजारमा महँगी बढेपछि त्यसलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले लगातार आठौं पटक ब्याजदर बढाउने निर्णय गरेको छ । यसअघि गरिएको ब्याजदर वृद्धिले मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुगेको र थप नियन्त्रणको प्रयास गरिएको फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम एच पावेलले बताएका छन् ।

सन् २०२३ मा पहिलो पटक बुधबार बसेको फेडरल रिजर्भ बैंकको बैठकले मार्चदेखि लागू हुनेगरी ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो । मार्चदेखि फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर (पोलिसी रेट) ४.५ देखि ४.७५ प्रतिशत कायम गर्ने भएको छ । यसले महँगी केही नियन्त्रण हुने अनुमान छ । तर पनि बजारमा अझै अस्थिरता देखिएको महासंघको दाबी छ ।

प्रकाशित : माघ २०, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?