भारतबाट बढेर आयो इन्धनको भाउ, निगम फेरि घाटामा - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

भारतबाट बढेर आयो इन्धनको भाउ, निगम फेरि घाटामा 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ । 

भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ । विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो । विगतमा परेको घाटाका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ । त्यस्तै आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार (१ः२० बजे) ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ८५, डब्लूटीआईको ७९, मुर्बानको ८४ डलरमाथि कारोबार भइरहेको छ ।


प्रकाशित : माघ १८, २०७९ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्

परराष्ट्र सचिवद्वारा नेदरल्यान्ड्सलाई आग्रह : नेपाललाई अन्तर्राष्ट्रिय सहयोगका प्राथमिकतामा राख्नु

नेदरल्यान्ड्सका परराष्ट्र उपमन्त्री मार्सेल डी भिन्क र परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता
कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्र सचिव भरतराज पौड्यालले नेपाललाई अन्तर्राष्ट्रिय सहयोगका लागि प्राथमिकता दिने देशको सूचीमा राख्न नेदरल्यान्ड्सलाई आग्रह गरेका छन् । यूरोप भ्रमणमा रहेका परराष्ट्र सचिव पौड्यालले मंगलबार नेदरल्यान्ड्सको सहर हेगमा त्यहाँका परराष्ट्र उपमन्त्री मार्सेल डी भिन्कसँग भेटवार्ताका क्रममा उक्त आग्रह गरेका हुन् ।

बेल्जियमस्थित नेपाली दूतावासका अनुसार भेटवार्तामा दुई पक्षबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । विगतमा नेपालसँग मानव संशाधन र ग्रामीण विकासका क्षेत्रमा भएको उल्लेखनीय सहयोगको बारेमा उल्लेख गर्दै सचिव पौड्यालले मानव संशाधन विकास नेपालको प्रमुख प्राथमिकताको क्षेत्र भएकाले बताएका थिए । उनले नेदरल्यान्ड्स सरकारबाट भइरहेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरे ।

नेदरल्यान्डस्‌का उपमन्त्री भिन्कले नेपालको विकास आकांक्षाको प्रशंसा गरेका थिए । उनले नेदरल्यान्ड्सबाट सहयोग गर्ने आश्वासन दिए । उनले नेदरल्यान्ड्सको विश्वव्यापी दृष्टिकोण, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी रणनीतिबारे पनि जानकारी दिएको दूतावासले जनाएको छ ।

उक्त भेटवार्तामा नेपालबाट बेल्जियम र इयूको लागि नेपाली राजदूत गहेन्द्र राजभण्डरी र सहसचिव सेवा लम्साल लगायत थिए ।

प्रकाशित : माघ १८, २०७९ १३:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×