मझगाउँ विमानस्थल निर्माण अवरोध हट्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मझगाउँ विमानस्थल निर्माण अवरोध हट्यो

भवानी भट्ट

कञ्चनपुर — जग्गा प्राप्त नहुँदा रोकिएको मझगाउँ विमानस्थल निर्माण पुनः सुरु हुने भएको छ । औपचारिक रूपमा जग्गा प्राप्त नभए पनि मौखिक सहमतिका आधारमा निर्माण अघि बढाइने भएको हो ।

विमानस्थलको दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नबाटिका र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खेल मैदान रहेको जमिनको भोगाधिकार नपाउँदा निर्माण रोकिएको थियो । जेठ अन्तिममा उक्त क्षेत्रमा धावनमार्ग निर्माण गर्दा निकुञ्ज प्रशासनले निर्माण कम्पनीका एस्क्काभेटरदेखि कामदारसमेत नियन्त्रणमा लिएको थियो । एस्क्काभेटर चालकमाथि निकुञ्जले मुद्दा नै चलाएको थियो ।

पछिल्लो समय जग्गा प्राप्तिको प्रक्रियासँगै काम गर्न दिने मौखिक सहमतिपछि निर्माण पुनः सुरु हुने तयारी गरिएको मझगाउँ विमानस्थलका आयोजना प्रमुख मीनराज ओझाले बताए । अब रोकिएको काम छिट्टै सुरु हुनेछ । ‘निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने मौखिक सहमति जनाएका छन्,’ ओझाले भने, ‘जग्गा प्राप्तिका लागि पनि आवश्यक प्रक्रिया अघि बढिसकिएको छ ।’ विगतमा निर्माण चलिरहेकै बेला निकुञ्ज प्रशासनले उपकरण र कामदार नियन्त्रणमा लिनुका साथै कामदारमाथि मुद्दा चलाएपछि असारदेखि काम रोकिएको हो ।

मंसिरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहित भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरलगायत नेपाली सेना, निर्माण कम्पनीका प्रतिनिधिलगायतको छलफलले निर्माणमा अवरोध नगर्ने लिखित सहमति भएको छ । उक्त सहमतिपछि निर्माण कम्पनी कान्छाराम/केएस/उमा एन्ड कम्पनीले काम पुनः सुरु गर्न लागेको हो । यसअघि पनि स्थानीय र जनप्रतिनिधिले निर्माण पुनः सुरु गर्न पटकपटक मौखिक सहमति जनाइसकेका छन् ।

‘कामदारदेखि निर्माणका उपकरण सबै तयार भइरहेका छन्, अब काम सुरु हुन्छ,’ निर्माण कम्पनी कान्छाराम/केएस जेभीका इन्जिनियर जितेन्द्रकुमार यादवले भने, ‘रनवेमा माटो भर्ने काम सकिएको छैन, साइड क्लियर पनि पूरा भएको छैन ।’

असारसम्म केही मात्रामा माटो भर्ने र साइड क्लियर पार्ने काम भएको छ । रत्नवाटिका क्षेत्रमा रहेका बुट्यान र रूख हटाउने क्रममै निकुञ्जले अवरोध गरेको थियो । विमानस्थल निर्माणका लागि ०७८ कात्तिकमा ४५ करोड ६६ लाखमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । अहिले मझगाउँ विमानस्थलको लम्बाइ १ हजार मिटर छ । रत्नवाटिका र सेनाले भोगचलन गरिरहेको जमिन प्राप्त भएपछि यसको लम्बाइ १५ सय २५ मिटर पुग्छ ।

प्रकाशित : माघ १८, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

भारतले अचानक ब्यारेज खोल्दा नेपालतर्फ जोखिम

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका–१० सिसैयाका नरेन्द्र जोशी सोमबार बिहानै ट्र्याक्टर लिएर महाकाली पुगे । करिब ८ बजेतिर ट्र्याक्टर महाकालीको एउटा भँगालोको बीचमा पुगेको थियो । एक्कासि नदीमा पानीको सतह बढ्यो । उनलाई न अगाडि बढ्न सकिने न फर्किन सकिने अवस्था भयो । हेर्दाहेर्दै ट्र्याक्टर पूरै पानीमा डुब्न थाल्यो ।

चालक र मजदुरले ट्र्याक्टरमाथि चढेर ज्यान जोगाए । पानीको सतह झन्–झन् बढिरहेको थियो । पानीको वेगले ट्र्याक्टर पल्टिने जोखिम भइरहँदा सुरक्षाकर्मी पुगेर समन्वय गरेपछि भारतको उत्तराखण्डमा पर्ने शारदा ब्यारेजले केही मात्रामा पानी घटायो । कामदारको ज्यान जोगियो । सोमबार बिहान महाकाली नदीको भुजेला घाटमा पूर्वसूचनाबिना एक्कासि पानी छाडिँदा यस्तै पीडा भयो ।

शारदा ब्यारेजबाट पूर्वपट्टिको ढोका खोलिँदा केही कामदारसँगै नदीजन्य निर्माण सामग्री ढुवानी गर्ने ट्र्याक्टर र टिपरहरू नदीको बीच भागमै अड्किए । कतिपय बिग्रिए, कतिपय जेनतेन नदी तारिए । ‘यो पहिलो पटक भएको होइन, नदीमा धेरै ढुवानी साधन देखेपछि ब्यारेजका ढोका एक्कासि खोलिन्छ,’ जोशीले भने, ‘हरेक वर्ष पटकपटक हामीले यस्तै दुःख खेपिरहेका छौं ।’ उनका अनुसार महाकालीमा अचानक पानी छाडिँदा ८ वटा ट्र्याक्टर बीच भँगालोमै डुबेका थिए । ट्र्याक्टरसँगै चालक र कामदारलाई पानी घटेपछि निकालिएको थियो । हिउँदमा महाकालीमा पानीको सतह कम हुन्छ । शारदा ब्यारेजका ढोकामा खर तथा अन्य सामग्री राखेर पानी रोकिन्छ । ब्यारेजमा जम्मा पारिएको पानी नहर हुँदै लोहियाहेड पावर स्टेसन र उत्तर प्रदेशमा सिँचाइका लागि लगिन्छ ।

ब्यारेजमा कार्यरत कर्मचारीले तल्लो तटीय क्षेत्रमा निर्माण सामग्री ढुवानीका साधन फसेको वा बढी चलेको देखेमा एकाएक ढोका खोलेर दुःख दिने गरेका छन् । यसअघि पनि महाकाली नदी किनारमा तटबन्ध निर्माणका बेला एकाएक ढोका खोलिँदा निर्माण कार्य नै प्रभावित भएको थियो ।

पूर्वसूचनाबिना अनियन्त्रित रूपमा ढोका खोलिँदा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम पनि पटकपटक प्रभावित भएको छ । ‘यस पटक पनि हामीलाई कुनै सूचना भएन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले भने, ‘सूचनाबिना नै पानी छाड्दा केही समस्या र क्षति भएको छ ।’ उनले सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको बैठकमा पटकपटक यो विषयमा पनि कुरा उठ्ने गरेको बताए । तर उत्तराखण्डमा पर्ने शारदा ब्यारेजको नियन्त्रण उत्तर प्रदेश सरकारमातहत भएका कारण समन्वयमा समस्या हुने गरेको भारतीय सुरक्षा निकायका प्रमुखको गुनासो रहेको उनले बताए । हिउँदमा मात्रै होइन, बर्खाका बेला पनि बाढी आउँदा पूर्वसूचनाको अभाव र नेपालतर्फकै ढोका खोलेर बढी क्षति हुने गरेको गुनासो पटकपटक उठ्ने गरेको छ । २०७० मा महाकालीको बाढीले भुजेला क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । त्यतिबेला शारदा ब्यारेजका कर्मचारीले पूर्व र पश्चिमका ढोका मात्रै खोलेको स्थानीयको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सोमबारको घटनाका विषयमा सीमावर्ती क्षेत्रका डीएमसँग छलफल गरिने बताए । उनले काउन्टर पार्टको बैठकमा पछिल्लो पटक यो विषय नउठेका कारण आफूले जानकारी नपाएको बताए ।

प्रकाशित : माघ १७, २०७९ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×