रसुवागढीबाट ६ महिनामा १५ अर्बको सामान आयो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रसुवागढीबाट ६ महिनामा १५ अर्बको सामान आयो

३ अर्ब ७३ करोड राजस्व संकलन, निर्यात खुलेको एक महिनामा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात
बलराम घिमिरे

रसुवा — रसुवागढी नाका हुँदै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १४ अर्ब ८४ करोड ८४ लाख ५४ हजार बराबरको सामान आयात भएको छ । यसबाट भन्सारले ३ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जनाए ।

आर्थिक वर्ष ०७८/७९ मा ३० अर्ब ९९ करोड ६३ लाख ५३ हजार बराबरको सामान आयात भएको थियो । यसबाट भन्सारले ७ अर्ब १७ करोड ६३ लाख ९० हजार राजस्व संकलन गरेको थियो ।

भन्सार विभागले आर्थिक वर्ष ०७९/८० का लागि रसुवा भन्सार कार्यालयलाई ९ अर्ब ३८ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, रबर, प्लास्टिकका जुत्ता चप्पल, विद्युतीय जिप, कार, मोबाइल फोन, स्याउ, हाते झोला, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायत मुख्य वस्तु आयात भएका छन् । कोभिडपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात अझै प्रभावित छ । रसुवागढीबाट ०७६ माघ १५ अगाडिकै जस्तो गरी अझै आयात हुन सकेको छैन । अहिले नाकाबाट प्रतिदिन बिहान ७ बजे र बेलुका ७ बजे गरी १४ वटा चिनियाँ कन्टेनरमा मात्र सामान आयात भइरहेको छ । निर्यात खुलेको एक महिनामा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ ।

रसुवागढी नाकाबाट अहिलेसम्म करिब ६ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ निर्यात भएको छ । सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत हुन सकेको छैन । आयात सुरु भए पनि कहिले कोरोना, कहिले पहिरो र हिमपातका कारण नाका पटक पटक प्रभावित हुँदै आएको छ । यस किसिमका समस्याले व्यापारी भने मर्कामा छन् । चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ ।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । नेपालबाट चीनतर्फ बाँसका मुडा, अम्रिसो, मैदा, डाल्टा घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सीको क्यान्डी, चकलेट, सख्खर, चुइगमलगायत वस्तु निर्यात हुने गर्छन् । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किमि छ ।

प्रकाशित : माघ १७, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

बोर्ड बैठकमा क्यानको १७ बुँदे एजेन्डा

‘अर्ली इलेक्सन’ र सन्दीपको निलम्बन फुकुवा पनि
विनोद पाण्डे

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) को आगामी निर्वाचन निर्धारित समयभन्दा चाँडै हुने सम्भावना देखिएको छ । पोखरामा मंगलबार हुन लागेको बोर्ड बैठकले यसबारे टुंगो लगाउने छ । बैठकमा क्यानको साधारणसभासहित १७ बुँदामा छलफल हुँदै छ ।

निर्धारित तालिकाअनुसार असोजमा चतुरबहादुर चन्द नेतृत्वको क्यानले चारवर्षे कार्यकाल पूरा गर्दै छ । त्यसभन्दा तीन महिनाअगाडि नै साधारणसभा बोलाएर क्यान नेतृत्व ‘अर्ली इलेक्सन’ को तयारीमा देखिन्छ । बोर्ड बैठकका लागि प्रस्तुत गरिएको एजेन्डाको चौथो नम्बरमा क्यानको वार्षिक साधारणसभा र सातौं नम्बरमा विशेष साधारणसभा र निर्वाचन छ । त्यसका लागि बाँकी जिल्लाहरूको निर्वाचन, ७ प्रदेशको निर्वाचनको विषयमा बोर्ड बैठकले निर्णय गर्नेछ । संघको विधान संशोधन पनि एजेन्डाको रूपमा राखिएको छ ।

बैठकले गण्डकी प्रदेशका दुई जिल्लाको मान्यतालाई पनि टुंगो लगाउने छ । मान्यता पाए पनि ती दुई जिल्ला आगामी साधारणसभामा पर्यवेक्षकसरह रहनेछन् । त्यस्तै राष्ट्रिय पुरुष तथा महिला खेलाडीको करारका सम्बन्धमा पनि बैठकले निर्णय गर्नेछ ।

पूर्वकप्तान सन्दीप लामिछानेमाथि क्यानले लगाएको निलम्बन फुकुवासम्बन्धी पनि बोर्ड बैठकको एजेन्डा बनाइएको छ । उनले बलात्कारको आरोपमा अदालतबाट सफाइ पाएका छैनन् । तर, क्यानले उनको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीमा फर्काउने हतारो गरिरहेको छ । फुकुवा गर्ने एजेन्डाप्रति क्यानको आलोचना हुँदै आएको छ । फौजदारी अभियोग र नैतिकताको विषयमा क्यानजस्तो संस्थाले आँखा चिम्लिन नहुने तर्क गर्नेहरू पनि छन् ।

तीन साताअघि सम्पन्न नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ ले जरा गाडेपछि क्यानले इन्ट्रिग्रेटी टोली बनाउने निर्णय गरेको छ । स्पट फिक्सिङ, पारिश्रमिक विवाद, प्रक्रियागत स्वीकृति लिन नसकेको विषयमा गभर्निङ काउन्सिलको प्रतिवेदन र यसबारे बैठकमा छलफल हुने जनाइएको छ । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल र स्ट्रेजेटिक पार्टनर बनाउँदै क्यानले नेपाल टी–२० लिग आयोजना गरेको थियो । सेभेन थ्रीसँग भएको आकस्मिक दोस्रो संशोधनबारे जानकारी र सम्झौता साधारणसभामा लैजाने भएको छ । नेपाल टी–२० लिगको खर्च विवरण एजेन्डामा राखिएको छ ।

नेपाली टी–२० लिगको विविध विवादपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानबिन समिति नै बनाएको थियो । सीआईबीबाट प्राप्त जानकारी र राखेपको छानबिन समितिको प्रतिवेदनबाट प्राप्त निर्देशनका बारेमा बोर्ड बैठकमा छलफल हुने भएको छ ।

प्रिमियर कपको सम्भावना

नेपालले मेन्स प्रिमियर कप क्रिकेट आयोजना गर्ने सम्भावना बलियो देखिएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्ने ५० ओभरको यो प्रतियोगिता अप्रिलमा हुने तालिका छ ।

एसीसीका अध्यक्ष एवं भारतीय क्रिकेट बोडेका सचिव जय शाहले केही समयअघि सामाजिक सन्जाल ट्विटरमार्फत सन् २०२३ र २०२४ मा एसीसीले आयोजना गर्ने प्रतियोगिताहरू सार्वजनिक गरेका थिए । त्यसमा पुरुषतर्फ प्रिमियर कप २०२३ को अप्रिलमा हुने भनिए पनि आयोजक राष्ट्रको नाम तोकिएको छैन ।

नेपाल टी–२० लिगको विवादबारेमा आफ्नो भनाइ राख्ने उद्देश्यले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रिमियर कप आयोजनाका लागि नेपाल पाइपलाइनमा रहेको बताएका थिए । ‘नेपालले यो प्रतियोगिता आयोजना गर्ने लगभग निश्चित भइसकेको छ, होटलको बजेटबारे लगभग टुंगो लागेको छ । कतारसहित अन्य केही मुलुकभन्दा सस्तो रेट उपलब्ध गराएपछि नेपालले प्रिमियर लिग आयोजना गर्ने मौका पाउने भएको हो,’ मंगलबार हुने बोर्ड बैठकका लागि पोखरामा चन्दले भनेका छन् ।

नेपालले प्रतियोगिता आयोजनाका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी मैदानलाई अघि सारेको छ । मूलपानी मैदानको निरीक्षणका लागि एसीसीको टोली काठमाडौं आउने चन्दले जनाए । प्रिमियर कप समूह ‘ए’ मा नेपालसहित यूएई, कुवेत र कतार तथा समूह ‘बी’ मा ओमान, हङकङ, सिंगापुर र मलेसिया छन् । यसै महिनामा मेन्स च्यालेन्ज कप पनि हुँदै छ । त्यसका विजेता र उपविजेताले प्रिमियर कपमा स्थान बनाउने छन् ।

प्रिमियर कप विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानमा हुने एसिया कपमा प्रिमियर कप विजेताले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । त्यस्तै प्रिमियर कपको शीर्ष तीन टोलीले पुरुष इमर्जिङ टिम्स एसिया कपमा खेल्न पाउनेछन् ।

सन् २०१३ मा एसीसी ट्वान्टी–२० कप आयोजना गरेयता नेपालले एसियाली क्रिकेटको सर्वोच्च निकायले आयोजना गर्ने कुनै प्रतियोगिता गरेको छैन । एसीसी अध्यक्ष शाहले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले यस वर्ष एसीसी यू–१६ रिजनल र एसीसी यू–१९ प्रिमियर कप र त्यसबाट छनोट भए एसीसी यू–१९ एसिया कप पनि खेल्नेछ । यू–१९ प्रिमियर नोभेम्बर र यू–१९ एसिया कप डिसेम्बरमा हुने तालिका छ । त्यसभन्दा अघि नेपालले अर्को महिना यूएईमा गएर आईसीसी यू–१९ एसिया क्षेत्रको विश्वकप छनोट खेल्दै छ । त्यहाँ विजेता बन्न सके नेपालले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।

...

३२ दिनमा १२ एकदिवसीय खेल

नेपालले ३२ दिनभित्र आईसीसी विश्वकप लिग २ को १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । क्यान बोर्ड बैठकमा यसबारे एजेन्डा राखिएको छ ।

नेपालले फेब्रुअरी १४ देखि २१ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबिया र स्कटल्यान्डसम्मिलित लिग २ त्रिकोणात्मक शृंखला आयोजना गर्दै छ, जसका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । नेपालको यो सातौं शृंखलामा फेब्रुअरी १४ मा नामिबियासँग पहिलो खेल खेल्नेछ । फेब्रुअरी १५ मा नामिबिया र स्कटल्यान्ड, फेब्रुअरी १७ मा नेपाल र स्कटल्यान्ड, फेब्रुअरी १८ मा नेपाल र नामिबिया, फेब्रुअरी २० मा नामिबिया र स्कटल्यान्ड तथा फेब्रुअरी २१ मा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसपछि नेपाली टिम यूएई र पपुवा न्युगिनीसँग लिग २ मा आफ्नो आठौं शृंखला खेल्न दुबई लाग्ने छ । यो शृंखला फेब्रुअरी २७ देखि ६ सम्म हुने क्यानले जनाएको छ । त्यसपछि नेपालमै मार्च ९ देखि १६ सम्म यूएई र पपुवा न्युगिनीसम्मिलित नेपालको नवौं तथा अन्तिम शृंखला हुनेछ । यी तीन शृंखलामा नेपालले प्रत्येकमा ४ खेल खेल्नेछ ।

प्रकाशित : माघ १७, २०७९ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×