नेटफ्लिक्सको पासवर्ड सेयरिङ फिचर मार्च अन्त्यबाट बन्द हुँदै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

नेटफ्लिक्सको पासवर्ड सेयरिङ फिचर मार्च अन्त्यबाट बन्द हुँदै

कान्तिपुर संवाददाता

एजेन्सी — नेटफ्लिक्सले अघिल्लो साता आफ्ना सेयरहोल्डरलाई बुझाएको एक समीक्षा पत्रमा आफ्ना प्रयोगकर्ताले पाउँदै आएको निःशुल्क पासवर्ड सेयरिङ सुविधा मार्च अन्त्यदेखि बन्द हुने घोषणा गरेको छ ।

पत्रमा ‘पहिलो चौमासिकको अन्त्यसम्ममा पेड सेयरिङलाई अझै सशक्त रूपमा लागू गर्ने’ भनिएको छ । मार्च अन्तिम साताभन्दा उता तपाईंले आफ्नो नेटफ्लिक्स पासवर्ड निःशुल्क सेयर गर्न पाउनुहुनेछैन ।

यसअघि अक्टोबरमा नेटफ्लिक्सले कम्पनीको प्रयोगकर्तामा आएको कमी र घट्दो आम्दानीलाई दृष्टिगत गर्दै पासवर्ड सेयर गर्न शुल्क लिने बताएको थियो । तर कहिलेदेखि त्यो सुरु हुने भन्ने खुलाएको थिएन । अहिले पनि स्पष्ट मिति त तोकिएको छैन । तर अप्रिलबाट पासवर्ड सेयरिङ सशुल्क हुने पक्कापक्की जस्तै देखिएको छ । कम्पनीले एक प्रयोगकर्ताका लागि एउटा मात्रै ‘होम’ अकाउन्ट उपलब्ध हुने र बाँकी अतिरिक्त होमका लागि शुल्क लाग्ने घोषणा गरिसकेको छ ।

नेटफ्लिक्सले अर्जेन्टिना, डोमिनिकन रिपब्लिक, होन्डुरस, एल साल्भाडोर, ग्वाटेमालामा अहिले यो मोडल लागू गरिसकेको छ । यसअन्तर्गत हरेक अतिरिक्त ‘होम’ अकाउन्टहरूका लागि २.९९ डलर थप शुल्क लाग्ने बनाइएको छ । अमेरिकालगायत अन्य देशमा पनि यही शुल्क लागू हुने कि यसमा पनि संशोधन हुन्छ भन्ने खुलाइएको छैन । कम्पनीले पत्रमा आफ्नो सन् २०२२ वर्ष कठिन भएर गुज्रेको उल्लेख गरेको छ ।

नेटफ्लिक्सले गएको एक दशकमा पहिलो पटक प्रयोगकर्ता घटेको अनुभव गरेको थियो । पहिलो चौमासिकमै कम्पनीका प्रयोगकर्ता झन्डै २ लाखले घटेका थिए । तर कम्पनीले वर्षको अन्त्य ‘आशालाग्दो’ भएको र नाफा र मेम्बरसिपमा वृद्धि हुनुका साथै ह्यारी र मेगनको डकुमेन्ट्री जस्ता सफल कार्यक्रमले साख जोगाउने काम गरेको बताएको छ ।

प्रकाशित : माघ १७, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

भन्सार प्रमुखसहित तीन कर्मचारी कारबाहीमा

विनोद भण्डारी

विराटनगर — तेस्रो मुलुकबाट प्रतीतपत्र (एलसी) मार्फत आयातित सामानको भन्सार प्रज्ञापनपत्र सिस्टममा प्रविष्ट गरेलगत्तै डिलिट गरेको आरोपमा भन्सार विभागले विराटनगर भन्सार प्रमुखसहित तीन कर्मचारीलाई भन्सार विभाग तथा अर्थ मन्त्रालयमा तानेको छ ।

एक साताअघि देव इन्टरनेसनल काठमाडौंले चीनबाट मगाएको ७३ हजार अमेरिकी डलर बराबरको जुत्ता एवं गार्मेन्टका तयारी सामान भन्सार एजेन्ट शरण खरेलमार्फत ४५ लाख राजस्व घोषणा गरेर सामान छुटाउन प्रज्ञापनपत्र दर्ता गराएको थियो । खरेलले प्रज्ञापनपत्र दर्ता गरेपछि भन्सारले सिस्टममा इन्ट्री गरेलगत्तै डिलिट गरेको भन्सार स्रोतको दाबी छ । यसपछि विभागले भन्सार प्रमुख ताराप्रसाद सापकोटालाई विभाग, अधिकृत नकुल शर्मा र नासु हिमाल दाहाललाई अर्थ मन्त्रालयमा तानेर छानबिन टोली पठायो ।

अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालको नेतृत्वमा आएको टोलीलाई भन्सारले रद्द गरिएको प्रज्ञापनपत्रमा घोषित सामान विराटनगर भन्सारमा आइनपुगेको र आईसीपीको गोदाममा पनि नभएको जवाफ दिएको थियो । स्रोतले भन्यो, ‘त्यसपछि टोलीले गोदामको परीक्षण गर्दा रद्द गरिएको प्रज्ञापनपत्रमा घोषित सामान फेला पारेपछि १ करोड २५ लाख राजस्व लिएर छाडेको थियो ।’

कोलकाता बन्दरगाहले उक्त सामान उल्लेख गर्दै विराटनगर नाकाका लागि कस्टम ट्रान्जिट डिक्लियरेसन (सीटीडी) फर्म जारी गरेको थियो । एलसी खोलेर मगाइएको विदेशी सामान नआए विदेशी मुद्रा अपचलनको अभियोग लाग्ने र वस्तु आयात भएर भन्सार छले राजस्व अपचलनको अभियोग लाग्ने स्रोतको भनाइ छ । दाहाल नेतृत्वको टोली फर्किसकेको छ । यस विषयमा भन्सारका कुनै पनि अधिकृतले प्रतिक्रिया दिन चाहेनन् । आयातकर्ताका भन्सार एजेन्टले उक्त प्रज्ञापन पत्र दर्ता गरेर त्यसमा उल्लिखित सामान आधा मात्र आइपुगेको र आधा आउन बाँकी रहेको भनेपछि सिस्टममा इन्ट्री भएको प्रज्ञापनपत्रलाई टिप्पणी उठाएर रद्द गरिएको एक अधिकृतको दाबी छ ।

विराटनगर भन्सारले चालु वर्षको ६ महिनामा लक्ष्यको आधा मात्र राजस्व असुली गरेको छ । सामानको न्यून मूल्यांकन गरेर भन्सार जाँचपास गर्नु र जाँचपास नै नगरी सामान छाडेर राजस्व छली गर्नु भन्सारको पुरानै रोग भएको सम्बद्ध स्रोतको दाबी छ । सात वर्षअघि पनि भारतबाट आएको एक ट्रक ट्रेडिङका सामान भन्सार जाँचपास नै नगरी कर्मचारीले छाडेपछि प्रहरीले बजारबाट नियन्त्रणमा लिएर भन्सारमा बुझाएको थियो ।

विराटनगर भन्सारले चालु आर्थिक वर्ष ६० अर्ब भन्सार राजस्व असुली गर्ने लक्ष्य राखेको छ । ६ महिनामा २८ अर्ब ४० करोड लक्ष्य राख्दा १६ अर्ब ५३ करोड मात्र असुली गरेको छ । लक्ष्यअनुसारको असुली नहुनुलाई तस्करी बढेको, आयातमा प्रतिबन्ध हुनु र एक वर्षदेखि मीरगन्ज पुलबाट ढुवानीका साधन आउन प्रतिबन्ध लाग्नुलाई भन्सार अधिकारीले दोष दिँदै आएका छन् । कार्यालय चालु आर्थिक वर्षमा कुनै पनि महिना राजस्व असुली लक्ष्यको नजिक पुग्न सकेको छैन ।

भन्सारले पुसमा ५ अर्ब २३ करोड ७८ लक्ष्य राख्दा २ अर्ब ४२ करोड १० लाख मात्र असुली गरेको छ । यो लक्ष्यको ४६ दशमलव २२ प्रतिशत हो । भन्सारले साउनमा ३ अर्ब ६४ करोड लक्ष्यमा २ अर्ब ९५ करोड, भदौमा ४ अर्ब ७६ करोडमा ३ अर्ब ९१ करोड, असोजमा ५ अर्ब ५ करोडमा २ अर्ब ७८ करोड, कात्तिकमा ४ अर्ब ७७ करोडमा २ अर्ब ९३ करोड र मंसिरमा ४ अर्ब ९२ करोड लक्ष्य राख्दा २ अर्ब ३३ करोड मात्र असुली गरेको छ ।

प्रकाशित : माघ १७, २०७९ ०७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×