उधारो रकम उठाउने कानुन ल्याउन मन्त्रीलाई व्यवसायीको आग्रह

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष सोमबार सिंहदरवारमा भेटवार्ता गरी उधारो रकम उठाउने सम्बन्धी कानुन ल्याउन आग्रह गरेको छ । बजारमा उधारोको समस्या विकराल बनेको, रकम समयमै नउठ्ने गरेको गुनासो गर्दै महासंघले यस सम्बन्धी कानुन ल्याउन उद्योग मन्त्रीलाई आग्रह गरेको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वमा प्रतिनिधिमण्डलले बैंकको अस्थिर ब्याजदरका कारण व्यवसायी पीडित भएको भन्दै यसको समाधानका लागि पहल गर्न आग्रह गरेको छ । त्यस्तै उद्योगहरुमा अघोषित लोडसेडिङ भइरहेकाले उत्पादन प्रभावित बनेको व्यवसायीले गुनासो गरे ।
भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेको भन्दै व्यवसायीले यथाशीघ्र समाधान गर्न आग्रह गरेको छ । जवाफमा मन्त्री भण्डारीले गहुँको आयातका सम्बन्धमा भारतसँग छलफल भइसकेको र तत्कालै आयात खुल्ने आश्वासन दिएका थिए । बजेटको मध्यावधि समिक्षा मार्फत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गरिने मन्त्री भण्डारीले बताए । नेपालबाट भारत निर्यात गर्दा जारी हुने उत्पत्ति प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्न समेत महासंघले सुझाव दिएको छ । महासंघले तयार भएको स्टार्ट अप नीतिका सम्बन्धमा अन्तिम छलफल गरी पारित गर्न आग्रह गरेको छ ।