कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकहरूद्वारा आक्रामक रुपमा धितो लिलामी, मूल्यांकनकर्ता भन्छन्- काम गर्न अप्ठेरो भयो

काठमाडौँ — पछिल्लो समय बैंकहरु कर्जा असुलीका लागि धितो लिलामी बिक्री गर्न आक्रामक रुपमा लागेका छन् । बैंकहरुले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणले समयमै बैंकहरुको नउठेको कर्जा तथा साँवा रकम समेत बढेको देखिएको छ । समयमै कर्जा तथा साँवा रकम नउठेपछि बैंकहरुले धितो लिलामी बिक्री गरी त्यसैबाट कर्जा असुल गर्दछन् । तर धितो मूल्यांकनकर्ता (भ्यालुयर्स)ले भने बैंकहरूको यो गतिविधिप्रति आपत्ति जनाएका छन् । 

बैंकहरूद्वारा आक्रामक रुपमा धितो लिलामी, मूल्यांकनकर्ता भन्छन्- काम गर्न अप्ठेरो भयो

बैंक तथा वित्तीय संस्था आक्रामक रुपमा कर्जा असुलीमा लागेकाले आफूहरुलाई काम गर्न अप्ठेरो भएको मूल्यांकनकर्ताहरूले गुनासो गरेका छन् । नेपाल भ्यालुयर्स एसोसिएसनले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो गुनासो गरेको हो । बैंक तथा वित्तीय संस्थाका यस्ता गतिविधिले मूल्यांकनकर्ताहरुमा ठूलो असर परेको एसोसिएसनले जनाएको छ । ‘हाल मुलुकको असहज आर्थिक परिदृष्यका कारण र बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसँग ऋण असुली गर्न एकतर्फी दवाव दिएका कारणले मूल्यांकनकर्ताहरुलाई पर्न सक्ने असरको बारेमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरू आक्रामक रुपमा धितो लिलामीमा लागेकाले मूल्यांकनकर्ता पनि नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिकाको धितो मूल्यांकनकर्ता सम्बन्धी विशेष व्यवस्थाको अन्तरनिहीत भावनाअनुरुप सजग भई मूल्याङ्न कार्य गर्नुपर्ने अवस्था आइपुगेको एसोसिएसनले जनाएको छ ।

‘अस्थिर बजारको कारण स्वभाविक रुपमा ऋणीहरुमाथि दवाव पर्ने बैंक तथा वित्तीय संस्था जवर्जस्ती असुलीमा जाने र जसको असर स्वरूप धितो मूल्याङ्कनमा झनै दवाव पर्न गइरहेको एसोसिएसनलाई महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ । यस अवस्थामा धितोको मूल्यांकन र पुनः मूल्यांकन कार्य स्वभाविक हुन नसक्ने कारणले मूल्यांकनकर्ताहरुलाई पर्न सक्ने असरमा एसोसिएसन गम्भीर रहेको र सरोकारवाला निकायलाई समेत यस एसोसिएसनले ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : माघ १६, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?