कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

चामत्कारिक अर्बपतिको साम्राज्यमा भूकम्प

सजना बराल

काठमाडौँ — सन् २०१४ मा चामत्कारिक परिणामसँगै भारतको शक्तिशाली प्रधानमन्त्री निर्वाचित भएपछि नरेन्द्र मोदी एउटा निजी जेट जहाज चढेर राजधानी नयाँदिल्ली ओर्लिए । मिडियाको उत्सुक हेराइ र क्यामेराहरूको ठेलमठेलबीच जुन जहाजको सिँढीबाट बाहिर निस्किएर मोदीले आफ्नो नियमित अभिवादन गरेका थिए, पृष्ठभूमिमा अडानीको बैजनी रङको लोगो चम्किरहेको थियो ।

चामत्कारिक अर्बपतिको साम्राज्यमा भूकम्प

गएको दशक एकाएक चर्चामा आएका गुजरातका व्यवसायी गौतम अडानीले आफ्नो कुल मूल्यमा विगत तीन वर्षमा झन्डै एक सय अर्ब डलरको बढोत्तरी गरे । सन् २०१८ को अन्त्यसम्म सेयर मूल्यमा भएको अस्वाभाविक उठानले सघाएको उनको प्रगतिको सानो झलक के हो भने बजारमा सूचीकृत उनका ९ कम्पनीमध्ये ७ ले यस अवधिमा औसत ८१९ प्रतिशतको वृद्धि गरेको देखिन्छ ।

यिनै अडानीका लागि गएको साता कठिन रह्यो, मंगलबार अमेरिकी इन्भेस्टमेन्ट रिसर्च कम्पनी हिन्डेनबर्गले सार्वजनिक गरेको एक प्रतिवेदनमा अडानीको कम्पनीलाई ‘दशकौंदेखिको स्टक हेराफेरी र हिसाबकिताब गडबडीको कार्यमा संलग्न भएको’ आरोप लगाइएको छ । त्यसयता अडानीका कम्पनीहरूको सेयर मूल्यमा ५० अर्ब डलरसम्मको गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । ब्लुमबर्गको अर्बपतिहरूको सूचीमा गएको साता उनी दोस्रो स्थानमा थिए । हिन्डेनबर्ग प्रतिवेदन सार्वजनिक भएयता दुई दिन मात्रै सेयर कारोबार हुँदा उनी सातौं स्थानमा झरिसकेका छन् । सोमबार बजार खुल्दा यो क्रम अझै जारी रहने देखिन्छ । किनभने अमेरिकी अर्बपति लगानीकर्ता बिल एकम्यानलगायतले सार्वजनिक रूपमै प्रतिवेदन ‘अत्यन्तै विश्वसनीय र एकदमै राम्ररी रिसर्च गरिएको’ भनेर प्रशंसा गरिसकेका छन् ।

हिन्डेनबर्ग प्रतिवेदनमा त्यस्तो के छ ?

हिन्डेनबर्ग रिसर्च अमेरिकाको एक रिसर्च कम्पनी हो, जसले इक्विटी, क्रेडिट र डेरिभेटिभ विश्लेषणको आसपास रहेर फरेन्सिक वित्तीय रिसर्च सेवा दिने काम गर्छ । उनीहरूले विशेषतः हिसाबकिताब गडबडी, व्यापारिक लेनदेनमा हुने बेइमान प्रकृतिका क्रियाकलाप र खराब व्यवस्थापनलगायतका विषयमा केन्द्रित रहेर अध्ययन र रिसर्च गर्छन् । यही कम्पनीले जनवरी २४ को साँझ अडानी ग्रुपबारे ‘कसरी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्तिले व्यवसायको इतिहासकै सबैभन्दा ठूलो ठगी गरिरहेका छन् ?’ शीर्षकको एक प्रतिवेदन प्रकाशन गरेको थियो । यस प्रतिवेदनमा मुख्यतया ७ विषयमा आधारित रहेर चर्चा गरिएको छ ।

१.अधिमूल्यन गरिएको सेयर : प्रतिवेदनले अडानी ग्रुपलाई आफ्नो सेयर मूल्यमा भयंकर अधिमूल्यन गरेको आरोप लगाएको छ । प्रतिवेदनका अनुसार पी/ई अनुपात, मूल्य/बिक्री अनुपात वा ईभीईभीआईटीडीईलगायत चल्तीका मेट्रिक्सका आधारमा हेर्दा उल्लेख्य रूपमा अधिमूल्यन गरिएको पाइएको छ । उदाहरणका लागि अडानी इन्टरप्राइजेजको सेयर मूल्य उद्योगको औसत पी/ई रेसियोभन्दा ४२ गुणा बढी र अडानी ग्यासको सेयर मूल्य/बिक्री अनुपातभन्दा १४२ गुणासम्म अधिमूल्यन भएको देखिएको छ । सारांशमा अडानी ग्रुपका सेयर भारतीय सेयर बजारमा ८० प्रतिशतसम्म अधिमूल्यन गरिएको हिन्डेनबर्गको अनुमान छ ।

२. ऋणले धानेको व्यवसाय : अडानी ग्रुपको प्रमुख मानिएका ७ मध्ये ५ कम्पनीको कुल सम्पत्ति ती कम्पनीको कुल दायित्वभन्दा कम अर्थात् तिनको अनुपात १ भन्दा कम छ । प्रतिवेदनले यसलाई अस्वस्थ व्यावसायिक अभ्यास मानेको छ ।

३. अस्वस्थ व्यावसायिक अभ्यास : पहिले नै अधिमूल्यन गरिएको सेयर र कुल सम्पत्तिले धान्न नसक्ने ऋणमाथि कम्पनीका प्रवर्तक सेयर स्वामित्व हुनेहरूले त्यस्तो सेयरलाई समेत धितो राखेर अझै ऋण लिनु भनेको अझै अस्वस्थ व्यावसायिक अभ्यास भएको प्रतिवेदनले उल्लेख गरेको छ ।

४. व्यवस्थापकहरूमाथिको प्रश्न : प्रतिवेदनले व्यावसायिक नेतृत्वमा रहेका धेरैजसोमाथि धोखाधडी, ठगी तथा वित्तीय अनियमितताको आरोप भएको र कतिपय पक्राउसमेत परेर अनुसन्धानका क्रममा रहेको उल्लेख गरेको छ । प्रतिवेदन भन्छ, ‘उच्च पदमा रहेका २२ मध्ये ८ अडानी परिवारकै हुन् । बाँकी पनि नजिकका आफन्त हुन् । त्यसैले पनि यो पारिवारिक व्यवसाय जस्तो बनेको छ ।’ प्रतिवेदनमा कम्पनीमाथि झन्डै १७ अर्ब डलर बराबरको कर छली, भ्रष्टाचार, अवैध धनसम्बन्धी ४ वटा अनुसन्धान अहिले पनि जारी रहेको उल्लेख गरेको छ ।

५. प्रवर्तकहरूको सेयरमाथिको अधिक नियन्त्रण : पहिले नै अधिक नियन्त्रण र अधिमूल्यन गरिएका प्रवर्तक सेयरबाहेक कम्पनीका बाँकी सेयरमा पनि अडानी ग्रुपसँगै सम्बन्धित अफसोर कम्पनीको स्वामित्व छ (कुनै–कुनै कम्पनीमा ७४ प्रतिशतसम्म) । हिन्डेनबर्गको अनुसन्धानमा यीमध्ये धेरै कम्पनीले अडानी ग्रुपका व्यवसायमा मात्रै लगानी गरेको देखिएको र कतिपयको नियन्त्रण अप्रत्यक्ष रूपमा अडानी परिवारकै सदस्यसँग रहेको देखाएको छ । उदाहरणका लागि मरिससमा रहेका ३८ यस्ता कम्पनी गौतम अडानीका जेठा दाजु विनोद अडानीको प्रत्यक्ष नियन्त्रणमा रहेको देखिएको र यी सबै कार्य भारतको सार्वजनिक सेयरसम्बन्धी नीतिलाई छल्न गरेको हिन्डेनबर्गले उल्लेख गरेको छ ।

६. बनावटी माग : यी सबै नियन्त्रण र अडानी ग्रुपसँगै प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सम्बन्धित कम्पनीहरूमार्फत सिर्जित अत्यधिक खरिद दबाब (एक्सेसिभ बाइङ प्रेसर) का आधारमा अडानी ग्रुप सेयर बजारमा बनावटी रूपमा उच्च मागको वातावरण बनाउन सफल भएको देखिन्छ । प्रतिवेदनले अडानी ग्रुपको सेयरको आपूर्ति आयतन (डेलिभरी भोल्युम) सम्भावित वास ट्रेडिङ (एउटै व्यक्ति वा समूहले कुनै सेयरको कारोबार धेरै देखाउन गर्ने निरन्तर खरिद–बिक्री) का आधारमा धेरै देखाउने काम भएको छ ।

यस्तो कार्यमा केतन परेख जस्ता चर्चित सेयर व्यवसायीसमेत संलग्न भएको औंल्याइएको छ ।

७.अपर्याप्त इजाजत : प्रतिवेदनमा अडानी ग्रुपका विभिन्न कम्पनीले आवश्यक इजाजत वा अनुमतिसमेत नलिएको र लिएकामा पनि सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) सँग बारम्बार समस्यामा परेको देखाएको छ ।

कत्रो छ व्यापारिक साम्राज्य ?

अडानी ग्रुपको बजार पुँजी अप्रिल २०२२ मा २ सय अर्ब डलर नाघेको थियो । टाटा समूह र रिलायन्स समूहपछि उक्त आँकडा पार गर्ने यो तेस्रो भारतीय व्यावसायिक संस्था हो । नोभेम्बर २०२२ को उच्च बिन्दुमा अडानी ग्रुपले टाटा समूहलाई उछिन्दै आफ्नो बजार पुँजी झन्डै २८० अर्ब डलर पुर्‍याएको थियो । कोल म्याग्नेट भनिने अडानी आफ्नै देशका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै धनी व्यक्ति बनेका थिए ।

अडानी इन्टरप्राइजेज, ग्रिन इनर्जी, पोर्ट्स एन्ड सेज, पावर, ट्रान्समिसन, टोटल ग्यास, विल्मरलगायत अनेकौं कम्पनीका उनी मालिक हुन् । अडानीको कम्पनीले भारतका विभिन्न प्रमुख बन्दरगाह सञ्चालन गर्छ । सिमेन्ट, खाना पकाउने ग्यास, ऊर्जालगायत विभिन्न कम्पनी स्वामित्वमा रहेका उनको प्रमुख (झन्डै ६० प्रतिशत) आम्दानी कोइलासँग सम्बन्धित व्यवसायबाट आउँछ । भारतको सैन्य सामग्री आपूर्तिलगायत हालसालै प्रख्यात टीभी च्यानल एनडीटीभीसमेत खरिद गरेको अडानी ग्रुप फ्रान्सेली कम्पनी टोटल इनर्जीजलगायत विदेशी लगानीकर्तालाई साझेदारीका लागि आकर्षित गर्नसमेत सफल भएको थियो ।

हिन्डेनबर्ग प्रतिवेदनको असर के ?

शुक्रबार मात्रै अडानी ग्रुपको सेयर मूल्यमा झन्डै ३९ अर्ब डलरभन्दा बढीको गिरावट आएको थियो । अडानी ग्रुपका प्रमुख ७ सूचीकृत कम्पनीमध्ये अडानी ट्रान्समिसन, अडानी टोटल ग्यास, अडानी ग्रिन इनर्जीका सेयर मूल्यमा शुक्रबार मात्रै २० प्र्रतिशतले गिरावट आएको थियो । अडानी इन्टरप्राइजेजको सेयर मूल्यमा झन्डै १८ प्रतिशतको गिरावट देखिएको थियो । प्रतिवेदनपछि बिहीबार बिदाको दिन कारोबार नभएकाले सोमबारबाट बजार खुल्दा यो क्रम अझै जारी रहने विज्ञहरूको अनुमान छ ।

अडानी ग्रुपको सेयर गिरावटको असर भारतका प्रमुख सेयर बजारमा पनि भएको छ । शुक्रबार मात्रै सेन्सेक्स ८७४ र निफ्टी २८६ अंकले घटेका थिए । यो अक्टोबर २०२२ यताकै एक दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो । त्रासमा सेयर बिक्री (प्यानिक सेलिङ) गर्दा लगानीकर्ताहरूले साढे सात लाख करोड भारतीय रुपैयाँभन्दा बढी गुमाएका छन् ।

आफ्ना पुराना चिठी र ट्वीट पोस्ट गर्दै तृणमूल कांग्रेसकी नेतृ महुआ मोइत्राले ‘मैले त भनेकै थिएँ नि’ भन्ने आशयको ट्वीट पोस्ट गरेकी छन् । भारतको प्रमुख विपक्षी दलका विभिन्न नेताले यति ठूलो ठगीको खुलासा हुँदा पनि सरकार चुप रहेको र जनताको पैसाले चलेका बैंकहरूले अडानी ग्रुपमा लगानी गर्ने क्रम जारी राखेको भन्दै प्रश्न उठाएका छन् ।

अब के हुन्छ ?

अडानी ग्रुपसम्बन्धी हिन्डेनबर्गको यो प्रतिवेदन महत्त्वपूर्ण समयमा आएको छ । अडानी ग्रुप आगामी महिना झन्डै अढाई अर्ब डलर बराबरको सेयर निष्कासनको तयारीमा थियो । अडानी ग्रुपले आफूमाथि लगाइएका आरोप र उठाइएका प्रश्नमाथि प्रतिक्रिया दिने क्रममा हिन्डेनबर्ग प्रतिवेदन ‘भारतको उच्च अदालतहरूमा बारम्बार परीक्षण भएर खारेज भइसकेका चुनिएका भ्रामक सूचनासँगै बासी, निराधार तथा झूटा आरोपहरूको दुर्भावनापूर्ण संयोजन’ भनेको छ । २५ जनवरीमा कम्पनीका तर्फबाट एक ट्वीट गर्दै अडानी समूहले प्रतिवेदन प्रकाशन गरिएको समयमाथि पनि प्रश्न उठाएको छ ।

त्यसपछि हरेक बुँदामा प्रतिक्रिया दिँदै कम्पनीले कुनै पनि रूपमा सेयरको बनावटी अधिमूल्यन नगरिएको र अडानी ग्रुपका सेयर भारतका नियामक निकायहरूबाट नियमित अनुगमनमा रहेको उल्लेख गरेको छ । उसले आफ्ना सार्वजनिक रूपमा सूचीकृत ९ मध्ये ८ कम्पनी बिग सिक्स नामक प्रख्यात कम्पनीबाट लेखापरीक्षण गराइएको र अडानी ग्यासको पनि केही समयमै उक्त काम सम्पन्न गरिने हुनाले कुनै हिसाबको ठगी तथा धोखाधडी नभएको दाबी गरेको छ । कम्पनीले आधारहीन र दुराशयपूर्ण आरोपहरूको कानुनी उपचार खोज्ने उल्लेख गरेको छ ।

भारतमा ‘असफल हुनै नसक्ने गरी धेरै ठूलो’ कम्पनी मानिने अडानी ग्रुपसँग सम्बन्धित यो काण्ड खुद्रा लगानीकर्ताहरूका लागि खासै ठूलो समस्याको विषय नहुन पनि सक्छ । तर यसले ल्याउने असरले सेयर बजार र कालान्तरमा भारतीय अर्थतन्त्रमै कुनै न कुनै हिसाबको प्रभाव पार्ने विज्ञहरूको आकलन छ ।

‘अडानी ग्रुपसँग सम्बन्धित सेयरको द्रुत गतिको गिरावटले यस प्रतिवेदनलाई बजारमा गम्भीरतापूर्वक हेरिएको’ स्वतन्त्र रिसर्चर हेमिन्द्रा हजारी प्रतिक्रिया दिन्छन् । यस प्रतिवेदनले भारतीय पुँजी बजारको इमानदारीको परीक्षण गर्नुका साथै नियामक निकायसामु कसरी लगानीकर्ताहरूमा बजारप्रतिको भरोसा बढाउने भन्ने चुनौती तेर्स्याएको ब्लुमबर्ग ओपिनियनका विश्लेषक एन्डी मुखर्जीको भनाइ छ । जे होस्, अडानी ग्रुपसम्बन्धी हल्लाखल्लाबीच सोमबार खुल्ने भारतीय सेयर बजार र नियामक निकायहरूको प्रतिक्रिया हेर्नलायक हुनेछ ।

(एजेन्सीहरूको सहयोगमा)

को हुन् गौतम अडानी ?

६० वर्षीय गौतम अडानी भारतको पश्चिम गुजरातस्थित कपडा व्यवसायी परिवारमा जन्मिएका हुन् । उनी सानै उमेरदेखि स्कुटरमा प्लास्टिक खरिदबिक्री गर्थे । अध्ययनका क्रममा विश्वविद्यालय भर्ना भए पनि उनले पढाइ छाडे । भारतमा १९९० को सुरुमा उदार अर्थतन्त्र फस्टाएपछि सफलताको उचाइ चढ्न सुरु गरेका उनले मुन्द्रा नामक भारतकै ठूलो व्यावसायिक बन्दरगाह निर्माणको जिम्मा पाए । त्यसपछि उनका कम्पनीले पूर्वाधार, सामान आयात तथा ऊर्जा क्षेत्रमा हात हाले ।

अडानीको सबैभन्दा सफल व्यवसाय कोइलासँग सम्बन्धित छ । भारतीय जनता पार्टीका तत्कालीन युवा नेता र पछि गुजरातका मुख्यमन्त्रीसँगै प्रधानमन्त्री बनेका नरेन्द्र मोदीसँग सुरुदेखि नै अत्यन्तै निकट रहेका अडानीको सफलतामा मोदी र भारतीय जनता पार्टीको ठूलो भूमिका रहेको विज्ञहरू बताउँछन् । वासिङ्टन पोस्टले प्रकाशन गरेको एक रिपोर्टमा अडानी ग्रुपको कोइला व्यवसायलाई सहयोग पुर्‍याउन ३ पटक कानुन संशोधनसमेत गरिएको उल्लेख छ ।

त्यसबाट उनलाई १ अर्ब डलरभन्दा बढी प्रत्यक्ष फाइदा भएको देखिएको छ । अडानीको प्रगतिको आधार नै नरेन्द्र मोदीले पहिले गुजरात र पछि देशभर सञ्चालन गरेको पूर्वाधार अभियान रहेको अडानी वाचलगायत विभिन्न आलोचकको आरोप छ । अडानी वाच भन्छ, ‘सत्य हो भने हिन्डेनबर्ग प्रतिवेदन आसेपासे पुँजीवाद (क्रोनी क्यापिटलिजम) र राज्यको पक्षपाती व्यवहारले कसरी दण्डहीनताको स्थिति सिर्जना गर्छ भन्ने एउटा गतिलो उदाहरण हो ।’


प्रकाशित : माघ १६, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?