सुपर दोर्दी ‘ख’बाट परीक्षण उत्पादन

आश गुरुङ

(लमजुङ) — दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । यसअघि आयोजनाको बाँध, सुरुङ र विद्युत् गृहको ड्राई टेस्ट (सुक्खा परीक्षण) सकेको आयोजनाले पानी राखेर परीक्षण थालेको हो ।

सुपर दोर्दी ‘ख’बाट परीक्षण उत्पादन

केही दिनयता डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङको पानी राखेर परीक्षण भइरहेको आयोजनाले जनाएको छ । पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजना दोर्दी खोलामा हालसम्म सबैभन्दा माथिल्लो क्षेत्रमा निर्माण भइरहेको छ । आयोजनाको भौतिक संरचना निर्माण सकिएको छ । आयोजनाको डिसेन्डर र पावरहाउस भूमिगत निर्माण गरिएको छ । सुरुङ निर्माण भने गत वर्ष नै ‘ब्रेक थ्रु’ भएको थियो ।

केही दिनयता पानी राखेर इन्टेक र डिसेन्डरको परीक्षण भइरहेको आयोजना निर्देशक अर्जुनप्रसाद गौतमले जनाए । ‘अहिले हामीले खासगरी पानी चुहिने ठाउँ हेर्छौं । यसका लागि १ महिना लाग्छ,’ उनले भने । परीक्षण सकिएपछि विद्युत् प्राधिकरणका इन्जिनियरको रोहवरमा १५ दिन उत्पादन परीक्षण गर्ने र त्यसपछि व्यावसायिक उत्पादनमा जाने उनले बताए । ‘हाम्रो पछिल्लो व्यावसायिक उत्पादन मिति माघ २८ हो । परीक्षणमा बढी समय खर्चौं भनेर फागुन अन्तिम साता भनेका छौं,’ उनले भने ।

आयोजनाको निर्माण सकिएको प्रवर्द्धक पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले पनि बताए । ‘भूकम्प, नाकाबन्दी, कोरोना र बाढीपहिरो सामाना गर्‍यौं । सबै विपत्तिको सामना गर्दै उठेका छौं, अब निर्माण लगभग पूरा भएर परीक्षणमा लागेका छौं,’ उनले भने ।


डेढ महिनामा व्यावसायिक उत्पादन गर्ने लक्ष्यसाथ अघि बढेको उनको भनाइ छ । ५.२ किमि सुरुङ र १.१ किमि पेनस्टक पाइप रहेको आयोजनामा २७/२७ मेगावाटका दुई वटा पेल्टन टर्बाइन जोडिएको छ । आयोजनाको सुरुको विद्युत् उत्पादन तालिकाअनुसार आरसीओडी (व्यावसायिक उत्पादन मिति) ०७६ भदौ अन्तिम थियो । भूकम्प, नाकाबन्दी र कोभिडबाट समेत प्रभावित आयोजनाले डेढ वर्षअघि असारमा बाढीपहिरोले इन्टेक क्षेत्रको डिजाइन नै परिवर्तन गर्नुपरेको थियो । ‘सबैखाले विपत्तिको सामना गर्नुपर्दा आयोजना निर्माण ढिलाइ भयो,’ निर्देशक गौतमले भने ।

०७१ फागुन २० मा विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरेको आयोजना सुरुमा ४९.६ मेगावाटको बनाउने भनिएको थियो । इन्टेकलाई केही माथि सार्दा आयोजनाबाट ५४ मेगावाट विद्युत् उत्पादन हुने अध्ययन गरिएको थियो । सुरुमा लागत ८ अर्ब ५० करोड अनुमान गरिएकामा उत्पादन बढ्दा आयोजनाको लागत ८ अर्ब ८० करोड प्रक्षेपण गरिएको छ । आयोजनामा प्रवर्द्धकको स्वलगानी (इक्विटी) पुँजी ३० प्रतिशत हुनेछ । यसको १० प्रतिशत जिल्लावासीले लगानी गरेका छन् । आयोजनामा नबिल बैंकसहित ९ वटा बैंकको ७० प्रतिशत ऋण लगानी छ । बहावमा आधारित (रन अफ रिभर) आयोजनाबाट वार्षिक २८ करोड ६४ लाख युनिट विद्युत् उत्पादन हुने प्रक्षेपण छ । दोर्दी गाउँपालिका–६ ताँजे गाउँमाथि तुम्सीमा बाँध बाँधेर भूमिगत सुरुङमार्फत ल्याइएको पानीलाई लोंदो र दोर्दी खोलाको दोभानमा खसालिनेछ ।


प्रकाशित : माघ १६, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?