१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अघोषित लोडसेडिङले वीरगन्ज पथलैया करिडोरका उद्योग समस्यामा 

शंकर आचार्य

पर्सा — नेपाल विद्युत् प्राधिकरणको अघोषित लोडसेडिङले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा परेका छन् । पूर्व निर्धारित तथा तालिकाबिना नै प्राधिकरणले पटक पटक विद्युत् कटौती गरेपछि उद्योग सञ्चालन गर्न समस्या भएको उद्योगीको गुनासो छ । 

अघोषित लोडसेडिङले वीरगन्ज पथलैया करिडोरका उद्योग समस्यामा 

वीरगन्ज उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष माधव राजपालले विगतमा लोडसेडिङ हुँदा त्यसको पूर्व जानकारी प्राधिकरणले गराउने गरेकोमा हाल भने कुनै सूचना वा जानकारी बिना विद्युत् कटौती गर्ने गरेकाले समस्या भएको बताए । ‘दैनिक अघोषित रुपमा ४ देखि ८ घण्टासम्म विद्युत् कटौती भइरहेको छ,’ उनले भने, ‘तालिका बनाएर विद्युत् कटौती गरिएको भए हामीले सोही तालिका अनुरुप नै उद्योग सञ्चालन गर्थ्यौं ।’

विशेष गरी फलामजन्य वस्तु उत्पादन गर्ने उद्योग र 'बोइलर' मेसिन प्रयोग गर्ने उद्योगमा अचानक विद्युत् कटौती हुँदा बढी मर्का परेको उनले बताए । ‘फलाम गलाउँदै गर्दा फ्याट्ट बत्ती जान्छ,’ उनले भने, ‘फेरि फलाम सेलाइसकेपछि गलाउन धेरै विद्युत् खपत हुन्छ, यसरी उद्योगहरुको उत्पादन लागत बढनुको साथै कच्चा पदार्थ पनि खेर जाने गर्छ ।’

संघका द्वितीय उपाध्यक्ष हरि गौतमका अनुसार प्राधिकरणले विद्युत् कटौती गर्ने क्षेत्र र त्यसको समय तालिका बारे पूर्व सूचना वा जानकारी दिने गरेमा धेरै सहज हुन्छ । ‘अहिले हचुवाको भरमा ८ देखि १२ घण्टासम्म विद्युत् कटौती गरिएको छ,’ उनले भने, ‘यो कमजोर व्यवस्थापन बाहेक केही होइन, हामीलाई सुरक्षित र भरपर्दो विद्युत् प्राधिकरण उपलब्ध गराउनु पर्‍यो, हालको गैरजिम्मेवार अवस्थाबाट मुक्त भएर प्राधिकरण सच्चिनु पर्छ ।’

उद्योग व्यवस्थापनले जेनेरेटर चलाएर ४० देखि ४५ रुपैयाँ प्रति युनिट लागत खर्च गर्न सम्भव नरहेको उनले बताए । ‘एकातिर सकारले डिजेलमा दोब्बर, तेब्बरी मुनाफा कमाई रहेको छ,’ उनले भने, ‘प्राधिकरणले भारतमा सस्तो भएको बेला मात्र विद्युत् खरिद गर्ने सोच त्याग्नु पर्छ ।’ नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अमोद यादवले हाल हिउँदका कारण खोलानालाहरुको जलस्तर घटेर स्वदेशका जलविद्युत् आयोजनाहरुको उत्पादन उल्लेखनीय रुपमा घटेकाले भारतीय विद्युत् माथिको निर्भरता बढेको बताए ।

उनले वीरगन्ज पथलैया औद्योगिक करिडोरको हालको माग २ सय २० मेगावाट रहेको र रक्सौल–परवानीपुर १ सय ३२ केभी प्रशारण लाइनबाट ३० देखि ४० मेगावाट मात्र विद्युत् उपलब्ध भइरहेको बताए । यस बाहेक बाराको पिलुवामा रहेको सबस्टेसनबाट पनि विद्युत् आपूर्ति नभई रहेको अवस्थामा लोडसेडिङ वा भारतबाट विद्युत् किन्नुपर्ने बाध्यता रहेको बताए ।

बिहान र बेलुकाको समयमा विद्युत्‌को माग अत्यधिक रहेको बेला औद्योगिक करिडोरबाट कटौती गरी ग्राहस्थ तर्फका ग्राहकलाई विद्युत् उपलब्ध गराउने गरिएको उनले बताए । उनले भारतबाट खरिद गरिने विद्युत्‌को दर समय अनुसार महँगो र सस्तो पर्ने भएकाले दैनिक बिडिङ गरेर मात्र भारतसँग विद्युत् खरिद गर्ने अवस्था रहेको बताए । उनले भने, ‘१२/१३ रुपैयाँ भारुमा पिक आवरमा महँगोमा विद्युत् खरिद गर्नु भन्दा सस्तो रहेका बेला ६/७ रुपैयाँ प्रतियुनिट भारुमा खरिद गर्ने गरिएको छ ।’

प्रकाशित : माघ १५, २०७९ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?