२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

खेती गरिएकोमध्ये ४२ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा

काठमाडौँ — गत वर्ष मुलुकभर कुल खेती गरिएको क्षेत्रफलमध्ये ४२ प्रतिशत जग्गामा मात्रै सिँचाइ सुविधा पुगेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन ०७८/०७९को वार्षिक प्रतिवेदन अनुसार गत वर्ष मुलुकभर २९ लाख १७ हजार ४०२ हेक्टर जमिनमा मात्रै खेती गरेको थियाे । त्यसमध्ये १२ लाख २६ हजार ५५६ हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

खेती गरिएकोमध्ये ४२ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा

कुलो, नहर, पोखरी, बोरिङ, थोपा र अन्य गरी सो क्षेत्रफलको जमिनमा सिँचाइ हुने गरेको प्रतिवेदनमा उल्लेख छ। देशभर ३६ लाख ८१ हजार ९६४ हेक्टर खेतीयोग्य जग्गा रहेको राष्ट्र बैंकले जनाएको छ । सिँचित क्षेत्रफलको प्रदेशगत हिस्सा हेर्दा प्रदेश नम्बर १ मा सबैभन्दा बढी २४.८ प्रतिशत छ । सबैभन्दा कम कर्णालीमा ४.४ प्रतिशत छ । मधेस प्रदेशमा १९.२, लुम्बिनीमा १९ प्रतिशत, गण्डकीमा १४.१, वाग्मतीमा ९.७ र सुदूरपश्चिम प्रदेशमा ८.८ प्रतिशत रहेको छ ।

प्रदेश १ को कुल खेती गरिएको ७ लाख १४ हजार ३८४ हेक्टर क्षेत्रफलमध्ये ३ लाख २ हजार ८२२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । मधेसमा ४ लाख ४० हजार ५४५ हेक्टर खेती गरिएको क्षेत्रफलमध्ये २ लाख ३४ हजार ४१३ हेक्टर, वाग्मतीमा ४ लाख २६ हजार १५८ हेक्टर जमिनमध्ये १ लाख १५ हजार ५३५ हेक्टरमा सिँचाइ सुविधा रहेको प्रतिवेदनले जनाएको छ ।

गण्डकीमा ३ लाख ६१ हजार ६३० खेती गरिएको क्षेत्रफलमध्ये १ लाख ७२ हजार ८७६ क्षेत्रफलमा र लुम्बिनीमा ५ लाख ४९ हजार ४०२ हेक्टर खेती गरेकोमध्ये २ लाख ३२ हजार ३४६ हेक्टरमा मात्रै सिँचाइ हुने गरेको छ । प्रतिवेदनअनुसार कर्णालीमा २ लाख ३२ हजार ४४० खेती गरिएको क्षेत्रफलमध्ये ५३ हजार ५०४ हेक्टरमा र सुदूरपश्चिममा २ लाख ९२ हजार ८४२ हेक्टरमा खेती गरिएकोमध्ये १ लाख ७ हजार ९८१ मा सिँचाइ सुविधा छ ।

प्रकाशित : माघ १५, २०७९ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?