अमलटारीबाट पनि जिप सफारी

अमलटारी हुँदै गैंडाखासा, देवीताल, टाइगर टप्सको रुट र गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्ने अनुमति
नारायण शर्मा

नवलपरासी पूर्व — चितवन राष्ट्रिय निकुञ्जले अब पूर्वी नवलपरासीको अमलटारीबाट पनि निकुञ्ज प्रवेश खुलाएको छ । होटल र पर्यटन व्यवसायीको आग्रहमा निकुञ्जभित्र पर्यटक प्रवेश गर्न जिप सफारीका लागि अनुमति दिइएको हो । यसअघि यहाँका दुई होटलले मात्र यस्तो सुविधा लिइरहेका थिए ।

अमलटारीबाट पनि जिप सफारी

होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र आफ्नोमा आएका पर्यटक लैजाने अनुमति पाएका थिए । अब सबै होटल र पर्यटन व्यवसायीले त्यस्तो सुविधा पाएका हुन् । यसले साना होटल र पर्यटन व्यवसायीलाई राहत मिलेको बताइएको छ । निकुञ्जले यही माघ ११ मा निर्णय गरेर सबै होटल र व्यवसायीले पर्यटकका लागि अमलटारी पोस्टबाट समेत निकुञ्ज प्रवेशको अनुमति दिएको हो ।

निकुञ्जको निर्णयले पर्यटन व्यवसायी उत्साही बनेको अमलटारीस्थित थारू कम्युनिटी लजका सञ्चालक बुद्धिसेन थारूले बताए । अमलटारीबाट गैंडाखासा, अमलटारी हुँदै देवीताल, अमलटारी हुँदै टाइगर टप्सको रुट र गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्ने अनुमति दिइएको हो । यस रुटमा पर्यटक आवगमन गर्न कुनै समस्या नरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

सबै पर्यटन व्यवसायीबाट संयुक्त रूपमा निवेदन आएकाले सबैलाई हुने गरी अनुमति दिइएको चितवन निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जनाए । अब प्रतिदिन ५ जिप निकुञ्ज प्रवेश गर्न पाउनेछन् । सबै होटल र पर्यटन व्यवसायीलाई फस्ट कम फस्ट सर्भिसका आधारमा अनुमति पाउनेछन् । एउटा जिपमा १० जना एकै पटक आउजाउ गर्न सक्छन् । हात्ती सफारी मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र प्रवेशको अनुमति छ ।

निकुञ्ज प्रवेशका लागि नेपालीले एक सय ५० रुपैयाँ, सार्क क्षेत्रका पर्यटकले एक हजार र अन्य देशका हरेकले दुई हजार रुपैयाँ तिर्नुपर्छ । हरेक जिपले एकपल्ट निकुञ्ज क्षेत्र प्रवेश गर्दा ५ हजार शुल्क दिनुपर्छ । व्यक्तिले शुल्क तिरेपछि हरेक जिपले थप शुल्क तिर्नुपर्छ । डुंगा सयरको पनि छुट्टै शुल्क लाग्छ । डुंगा सयर गर्दा प्रत्येक नेपालीको ३ सय, सार्क क्षेत्रका पर्यटकले ३ हजार र अन्य विदेशीले जनही ४ हजार शुल्क बुझाउनुपर्ने सूचना अघिकारी तिवारीले जनाए । जंगल पैदल जाने पर्यटकले कम्तीमा दुई जना नेचर गाइड लैजानुपर्ने पनि उनको भनाइ छ ।

चितवन निकुञ्जसँग जोडिएको सौराहा क्षेत्रमा कोलाहल बढेका कारण गैंडा र अन्य वन्यजन्तु अवलोकन गर्न आउने पर्यटक अमलटारी आउने गरेका छन् । निकुञ्जका वन्यजन्तु हेर्ने हो भने अमलटारी आउनैपर्ने अमलटारी होमस्टेका परिकल्पनाकार प्रेम शंकर मर्दनिया थारू सुनाउँछन् ।

चितवन क्षेत्रमा मान्छे बाक्लिएका कारण वन्यजन्तुको चाप यता बढेको उनको भनाइ छ । घाँसे मैदान र आहाल खेल्ने स्थान अमलटारी क्षेत्रमा धेरै रहेकाले वन्यजन्तुको ओहोरदोहोर यतै बढी हुने उनले बताए ।

प्रकाशित : माघ १४, २०७९ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?