कोदो उत्पादन बढाउन राइनसले दिन थाल्यो अनुदान- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

कोदो उत्पादन बढाउन राइनसले दिन थाल्यो अनुदान

आश गुरुङ

लमजुङ — राइनास नगरपालिका–२ पन्थेडाँडा गुरुङ गाउँका ढकबहादुर गुरुङले यस वर्ष ९ सय २ किलो कोदो फलाए । नगरपालिकाबाट उनले ८ हजार ६ सय रुपैयाँ अनुदान पाए । उक्त कोदोमध्ये ७ सय ८२ किलोको अनुदान उनले पाएका हुन् । १ सय २० किलोको पाएनन् ।

प्रतिकिलो ११ रुपैयाँका दरले अनुदान पाएको उनको भनाइ छ । ‘मैले ७/८ हलमा कोदो फलाएको हुँ । घरघरै आएर कोदो नाप्दै पैसा दिए,’ उनले भने । नगरपालिकाले कोदो बढी फलाउन भनेको छ । जग्गाजमिन बाँझो नराख्न भनेको छ ।

नगरपालिकाले कोदोलाई उत्पादनका आधारमा अनुदान दिने कार्यक्रम ल्याएको कृषि शाखा प्रमुख पवन ढकाल बताउँछन् । नगरपालिकाको आर्थिक विकास समितिले प्रतिकिलो कोदोको मूल्य ५५ रुपैयाँ तोकेको छ ।

किसानलाई उत्पादन गरेबापत प्रतिकिलो २५ प्रतिशत अनुदान दिन्छ । २५ प्रतिशतले ५५ रुपैयाँको अनुदान १३ रुपैयाँ ७५ पैसा हुन आउँछ । यसमा प्रतिकिलो अनुदानको २ रुपैयाँ ७५ पैसाबापत भने बोरा दिएको ढकालले बताए । ११ रुपैयाँ भने हातहातै नगद दिएको उनको भनाइ छ ।

समितिले १ मुरीमा ८० किलो कोदो रहने निर्णय गरेको छ । नगरपालिकाले दुई मुरीको अनुदान नदिने र त्यसपछि उत्पादनअनुसारको हिसाब गरेर अनुदान दिने गरेको छ । बोराका लागि भने ५० किलोको एउटा बोरा दिने गरिएको छ । राइनासको २, ३, ४, ९ र १० वडामा अनुदान दिने काम सकिएको छ ।

१० वटा वडा रहेको राइनासमा ५ वडामा अनुदान दिने काम भइरहेको छ । यसका लागि प्राविधिक, कर्मचारी र जनप्रतिधि कोदो जोख्ने मेसिन र बोरासहित घरघरै पुग्ने गरेका छन् । हालसम्म ३ सय ५६ जनाले अनुदान पाइसकेको कृषि प्रमुख ढकालले जनाए । ती प्रत्येक किसानले दुई मुरीभन्दा बढी कोदो फलाएका छन् ।

अनुदान पाएका किसानले १ लाख ६ सय ४८ किलो (१ हजार ६ क्विन्टलभन्दा बढी) कोदो फलाएका छन् । प्रत्येक घरको १ सय २० किलोबाहेक ५७ हजार ९ सय २८ किलोको अनुदान दिइएको छ । हालसम्म ६ लाख २७ हजार २ सय ८ रुपैयाँ अनुदान दिइएको कृषि प्रमुख ढकालले बताए । उनका अनुसार ९ सय ७६ बोरा वितरण गरिएको छ ।

राइनास नगरपालिकाले कोदो खेतीलाई प्राथमिकता दिएको छ । कोदो खेती बढाउन उत्पादनमा आधारित अनुदान दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए । तल्लो क्षेत्र राइनासटारमा धान फल्छ । माथिल्लो क्षेत्रमा भने कोदो फलाउने नगरपालिकाको योजना छ । यसको उद्देश्य राइनासको ब्रान्ड कोदो बनाउने तयारी हो ।

प्रकाशित : माघ १४, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

बाली जोगाउन झन्डा

आश गुरुङ

लमजुङ — क्व्होलासोंथर गाउँपालिका–८ तामु गाउँकी लक्ष्मी गुरुङले फलाएको तरकारी बालीमा चराचुरुंगी पल्कियो । मकैबालीमा बाँदर लाग्यो । चराचुरुंगी र वन्यजन्तु मार्न नपाइने भएपछि गाउँ समाजमा यसबारे छलफल भयो । उनीहरूले धपाउने अथवा तर्साउने उपाय निकाले ।

लक्ष्मीका अनुसार खेतबारीमा उनीहरूले निगालोमा हावा चल्दा चल्ने गरी पुरानो खदा (स्वागतमा प्रयोग गरिने), बोरालगायत काटेर राख्न थाले । खेतमा मानिसको ‘बुख्याचा’ बनाएर राख्न थाले । ‘बालीनाली सबै खाइदिए पनि दुःख गरेको कामै भएन । अहिले अलिअलि जोगिएको छ’ उनले भनिन् । उनका अनुसार अलैंची, केरालगायत बालीको छेउछाउ पनि झन्डा बनाएर राखिएका छन् ।

तामु गाउँ वनजंगलले घेरिएको छ । कूल ४२ घर छन् । गाउँमा तरकारी बाली फलाउने गरेका स्थानीयले बेंसीमा भने धान र मकै फलाउँछन् । त्रिदेवी आमा समूहका अध्यक्ष कुमारी गुरुङका अनुसार अहिले तरकारी बाली लगाइएको छ । काउली, बन्दा, आलु, केराउलगायत तरकारी बाली अहिले बारीमा छन् । वनजंगल छेउका बारीमा लगाइएका तरकारी जोगाउन विभिन्न रंगका झन्डा बनाएर राखिएको उनले बताइन् । ‘झन्डा राखेन भने हामी त भोकै पो हुन्छौं । अहिले तरकारीबालीमा लगाएका छौं । बर्खामा धान, मर्क र कोदो जोगाउन मान्छेजस्तो (बुख्याचा) बनाएर राख्छौं’ उनले भनिन् ।

तामु गाउँ करिव १ सय २० वर्षअघिको मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने यो गाउँमा बन्यजन्तु र चराचुरुंगी मार्न र चोरीशिकारी गर्न पाइँदैन । एक्यापअन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष दूधरास गुरुङका अनुसार वन्यजन्तु र चराचुरुंगीलाई मार्न नपाउने भएपछि गाउँले जुक्ति निकालेका हुन् । ‘पहिले पहिले वन्यजन्तु र चराचुरुंगीलाई धपाउँदै मारिन्थ्यो । एक्याप आएपछि मार्न नपाइने भयो’ उनले भने । उनका अनुसार २०५६ मा भुजुङ (क्व्होलासोंथार ४) मा एक्याप स्थापना भएपछि बन्यजन्तु र चराचुरुंगी मार्न नपाउने र चोरीसिकार गर्न नपाउने नियम आएको हो । ‘जंगली जनावर र चराहरूले पहिला पहिला त खासै दुःख दिने थिएन । अहिले त घरघरै आउन थालेको छ’ उनले भने, ‘यो बारे एक्यापको बैठकमा पनि भनेको छु । तर, के गर्नु, मिल्दैन (वन्यजन्तु र चराचुरुंगी मान), मिल्दैन भन्छ ।’

तामु गाउँका वासिन्दाको खेत मिदिमखोला किनारसम्म छ । खेतबारी वरपर सबै ठाउँको सिमानामा वनजंगल छ । वडाअध्यक्ष सन्तोष घलेका अनुसार यहाँका नागरिक प्रमुख पेशा भनेको खेतीकिसानी हो । प्रमुख बाली मर्क, धान र कोदो हो । तरकारी बालीमा आलु, काउली, बन्दा, रायो, केराउलगायत फलाउँछन् । ‘पहिले खेतीबाली रुँघ्न भन्दै बास बस्न समेत गइन्थ्यो । पछि पछि वन्यजन्तु र चराचुरुंगीले खेतीबाली खान अलि कम भयो । अहिले झन् धेरै आउन थालेको छ,’ उनले भने, ‘आफ्नो बाली जोगाउन सवैले उपाय अपनाएका छन् । अहिले यो विभिन्न रंगका झन्डा राख्ने कार्य पनि प्रभावकारी हुँदै छ । तर, यसले पनि पूर्ण मात्रामा वन्यजस्तु र चराचुरुंगी बारीमा आउन भने रोकिएको छैन ।’ उनले अब बेला–बेलामा ठूला–ठूला आवाज दिने मेसिनको आवश्यक परेको बताए ।

प्रकाशित : माघ ८, २०७९ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×