सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम ३६ महिनाभित्र सक्नुपर्ने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम ३६ महिनाभित्र सक्नुपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार गरिदैँ छ । त्यसका लागि ३६ महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । कुल १५.५ किमि सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का भएको छ ।

८.४ किलोमिटर दूरी रहेको उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । उक्त खण्डको ठेक्का सम्झौता २०७९ मंसिर २७ मा भएको हो । ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ रहेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता भीमार्जुन अधिकारीले बताए ।

सूर्यविनायक–साँगा खण्डको दूरी भने ७.५ किमि छ । उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीले २०७९ पुस २४ गते लिएको हो । ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेको छ । ‘यी दुवै खण्डको काम ठेक्का सम्झौता भएको मितिबाट ३६ महिनाभित्र सकिसक्नु पर्नेछ,’ प्रवक्ता अधिकारीले भने, ‘सवारी आवामगमन नरोकी काम गरिनेछ ।’ यो खण्डमा दैनिक सवारी चाप हुन्छ ।

साँघुरो सडकका कारण ट्राफिक जाम बढेपछि यो सडकलाई विस्तार गर्न लागिएको हो । ‘यो सडकमा सवारी चाप बढ्दो छ,’ उनले भने, ‘बढी ट्राफिक जाम साँगा खण्डमै हुने गरेको छ । सडक विस्तार भएपछि यो समस्या समाधान हुने अपेक्षा छ ।’ बीपी राजमार्ग सञ्चालनमा आएपछि यो खण्डमा सवारी चाप बढेको हो । कोटेश्वर ट्राफिक प्रहरीका अनुसार कोटेश्वरबाट लामा दुरीका सवारी मात्र दैनिक १ हजार बढी छुट्ने गरेका छन् ।

प्रकाशित : माघ १३, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

रवि लामिछाने नेपाली हुन्, नेपाली नागरिक होइनन् : कर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नेपाली भएको तर नेपाली नागरिक नभएको वरिष्ठ अधिवक्ता रमन कर्णले बताएका छन् । लामिछाने संसद् सदस्य पदका लागि अयोग्य रहेको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा बहसका क्रममा वरिष्ठ अधिवक्ता कर्णले नयाँ नागरिकता जारी गर्ने भनेको निरन्तरता टुटेको देखाउनका लागि भएको बताए ।

'कानुनले पुरानो नागरिकता स्वत: क्रियाशील हुनेछ भनेर बोलेन, निस्सा दर्ता भएदेखि निजको नेपाल नागरिकता पुनः जारी गर्ने भनेको छ । निस्सा जारी भएको मितिदेखि नेपाली नागरिकता पुनः कायम रहनेछ,' कर्णले भने, 'विदेशी नागरिकता लिएको अवस्थामा त्यागे र त्यो त्यागेको निस्सा दिने भन्ने छ । पुन: जारी हुने विषय किन महत्त्वपूर्ण छ भने त्यस अवधिसम्म कुनै पनि व्यक्तिको नागरिकता छैन भन्ने र नेपाली नागरिकता होइन भन्ने विषय स्थापित गर्नका लागि यो व्यवस्था गरिएको हो । अन्यथा पुरानो नागरिकताले चल्थ्यो । पुनः जारी गर्नुको अर्थ निश्चित अवधिमा नेपाली नागरिक हुनुहुन्थ्यो भन्नका लागि हो । स्वत: कायम हुने कानुनले नभनेको र पुनः कायम हुनेछ भन्नुको अर्थ प्रक्रिया पूरा गर्नुपर्ने थियो ।'

लामिछाने राज्यविहीन भने नभएको वरिष्ठ अधिवक्ता कर्णको भनाइ थियो । उनले लामिछाने नेपाली भएको तर नेपाली नागरिक नभएको तर्क गरेका थिए । 'राज्यले उहाँ (लामिछाने)लाई नागरिकता दिने भने ग्यारेन्टी गरेको छ त्यसैले उहाँ राज्यविहीन भने होइन' उनले भने, 'उहाँले जुन दिन विदेशी नागरिकता र पासपोर्ट त्याग गर्दा पनि डिपोर्ट नगर्नु, पछि उहाँलाई नेपालले नेपाली हो भनेर स्वीकार गर्‍यो नि । नभए डिपोर्ट गर्दथ्यो । उहाँ नेपाली नागरिक हुनका लागि योग्य हुनु भएको हो । त्यसपछि नागरिकता लिने प्रक्रिया लिनु पर्ने हो ।'

नागरिकताका विषयमा राज्यका कानुन उदार हुनुपर्ने भएपनि नागरिकले निश्चित नागरिकता भने पूरा गर्नुपर्ने कर्णको भनाइ थियो ।

प्रकाशित : माघ १३, २०७९ १३:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×