उड्ने मोटरसाइकलको बुकिङ खुल्यो, मूल्य कति पर्छ ?

एजेन्सी

काठमाडौँ — अमेरिकी कम्पनी जेटप्याक एभिएसनले बनाएको 'स्पीडर' नामक उड्ने मोटरसाइकलको बुकिङ शुरू भएको छ । झण्डै ९ करोड रुपैयाँ शुरूवाती मूल्य राखिएको यस्तो मोटरसाइकल लगभग ९६ किमि प्रतिघण्टाको गतिमा ३० मिनेटसम्म उड्न सक्ने र २७२ किलोसम्म बोक्नसक्ने क्षमताका हुनेछन् ।

उड्ने मोटरसाइकलको बुकिङ खुल्यो, मूल्य कति पर्छ ?

रिमोटबाट पनि चलाउन सकिने यी मोटरसाइकलहरूमा अहिले ४ वटा टर्बाइन छन् । अन्तिम उत्पादन बजारमा आउँदा टर्बाइनको संख्या ८ हुने बताइएको छ । लगभग ड्रोनजस्तै प्रविधिका हुने यी साधनको गएको सेप्टेम्बरमा अमेरिकामा आयोजित डेट्रोइट अटो शोमा पहिलोपटक जापानी उत्पादकले प्रदर्शन उडान गरेका थिए ।

यसअघि जापानको टोकियोस्थित एएलआई टेक्नोलोजी नामक स्टार्टअपले पहिलोपटक उड्ने मोटरसाइकल होभरबाइकको सफल परीक्षणपश्चात तत्कालको लागि २ सय थान बिक्री गर्न बुकिङ खोलेको थियो । अहिले जापानमा यस्ता मोटरसाइकल कानुनी र प्राविधिक चुनौती पन्छाउँदै विपद् क्षेत्रमा उद्दार र अत्यावश्यक सामाग्रीहरूको आपूर्तिका लागि प्रयोग गर्ने पहल शुरू भएको छ । प्रख्यात जापानी फुट्बलर केइसुके होन्डासमेत प्रवर्द्धक रहेको यो उत्पादन चर्चित हलिउड स्पेस ओपेरा फिल्म 'स्टार वार्स' बाट प्रभावित भएर निर्माण गरिएको उत्पादकले बताएका थिए ।

आउने २-३ वर्षभित्र अमेरिका र युरोपलगायत मध्यपूर्वका विभिन्न स्थानमा उपलब्ध गराउने लक्ष्य लिएको सो कम्पनीले अमेरिकाको फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन प्रमाणपत्र भने लिन बाँकी छ । यसको विकासक्रमलाई पछ्याइरहेका सवारी साधन क्षेत्रका उत्साहीहरूले यो मोटरसाइकल भविष्यको नयाँ ट्रेन्ड हुने र दुर्घटना, अपराध, आगलागीलगायत विपद्का समयमा सहयोग र प्रतिकार्यका लागि अत्यन्तै उपयोगी हुनसक्ने प्रतिकृया दिएका छन् । 'मेरो विचारमा यसलाई संसारभरका प्रहरी बलहरूले प्रयोग गर्नेछन् र आउने केही वर्षमा फिल्महरूमा हुने चेज सिक्वेन्सहरू रमाइला हुनेछन्,' महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले ट्वीट गरेका छन् ।

सोही कम्पनीले सैन्य सामाग्री बजारलाई ध्यानमा राखेर मानवरहित कार्गो मोटरसाइकलको पनि विकास गरिरहेको जनाएको छ । उक्त मोटरसाइकल जमिनभन्दा १०० फिटमाथि झण्डै ६०० किमि प्रतिघण्टाभन्दा बढीको गतिमा उड्नसक्ने हुनेछन् । 'मेरो विचारमा हामी वस्तु र सेवाको डेलीभरी गरेर ड्रोनजस्तै प्रकृतिको कामबाट यसको बजारीकरणको शुरूवात गर्छौं होला,' डेट्रोइट अटो शोमा उड्ने मोटरसाइकलको टेस्ट ड्राइभमा सहभागी हुने पहिलो व्यक्ति बनेका शोका अध्यक्ष थड स्कटले अनुभव सुनाउँदै भनेका थिए, 'एअरपोर्टबाट एअरपोर्ट मात्रै जान शुरू गर्ने हो भने त यो अहिले नै तयार छ । तर टोल-टोलमा कसरी र कहिले जान सकिन्छ भन्ने कुरामा म अलिक उत्सुक छु । हामी त्यसमा काम गर्दैछौँ । टेस्ट ड्राइभमा मैले आफूलाई बच्चाहरूजस्तै उत्साही भएको अनुभव गरें ।'

जापानी उत्पादकले रोयटर्सलाई दिएको अन्तरवार्तामा सन् २०२५ मा यसको सानो र विद्युतीय स्वरूपलाई नेपाली ६५ लाख रुपैयाँ (५० हजार अमेरिकी डलर) सम्ममा उपलब्ध हुनेगरी उत्पादन गर्न आफूहरू लागिपरेको बताएका थिए ।

प्रकाशित : माघ १३, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?