कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

साना उद्यमीका समस्या समाधान गर्न निजी क्षेत्रको माग

काठमाडौँ — लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न निजी क्षेत्रले सरकारसमक्ष माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग संगठन मोरङ र उद्योग वाणिज्य महासंघ प्रदेश १ ले छुट्टाछुट्टै विज्ञप्ति निकालेर बिहीबार सरकारसमक्ष यस्तो माग गरेका हुन् ।

साना उद्यमीका समस्या समाधान गर्न निजी क्षेत्रको माग

तरलता अभावका कारण सिर्जित समस्या, अस्थिर ब्याजदर, बजारमा उधारो नउठ्ने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्टता र सरकारी निकायको बेवास्ताका कारण लाखौं लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत छन् । उल्लिखित कारणले इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले व्यावसायिक कठिनाइका कारण आत्मदाह गर्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘ब्याजदर स्थायित्व, उधारोसम्बन्धी ऐन, दामासाहीसम्बन्धी ऐन, व्यावसायिक उधारोको बिमा, प्रक्रियागत सहजीकरण, सहज वित्तीय पहुँच, बजार पहुँच विस्तारलगायत विषयको सम्बोधन गर्न महासंघले सरकारलगायत सरोकारवालासमक्ष पैरवी गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार र केन्द्रीय बैंकबाट यस्ता मागको सुनुवाइ हुन नसक्दा दुःखद घटना बढ्दै गएका छन् । यस परिप्रेक्ष्यमा लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न महासंघ जोडदार माग गर्दछ ।’

देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानसाथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुःखद् आत्मदाहले राज्य र राज्यका सञ्चालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको उद्योग संघ मोरङको विज्ञप्तिमा उल्लेख छ । ‘यस दुःखद् घटनाबाट पाठ सिकी काम गरी खान पाउने, स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार रक्षाका लागि जिम्मेवार अभिभावकका रूपमा राज्य प्रस्तुत हुने गरी नीतिगत एवं प्रक्रियागत सुधारका लागि सम्बन्धित सबैमा संगठन अपिल गर्दछ,’ संघको विज्ञप्तिमा भनिएको छ ।

उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याबारे सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि यसमा ठोस कार्यान्वयन हुन नसक्दा यस्ता घटना बढ्न थालेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘देशमा प्रेमप्रसाद आचार्य, मोहन न्यौपाने जस्ता कैयौं व्यवसायी पीडामा छन् । भविष्यमा यस्ता घटना नदोहोरिएलान् भन्न सकिन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको नीतिकै कारण आज व्यवसायीले अनेकौं समस्या झेल्दै आएको हामीले महसुस गरेका छौं ।’

व्यवसायीलाई आफ्नो कारोबार निर्धक्क गर्ने वातावरण बनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन पनि महासंघले सरकारलगायत सम्बन्धित निकायमा अनुरोध गरेको छ ।

प्रकाशित : माघ १३, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?