कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुराना ल्यापटप भित्र्याएर नयाँ मूल्यमा बिक्री

पाँच सय ५० थानको प्राविधिक जाँचपछि अन्तर्राष्ट्रिय बजारमा नाम चलेका कम्पनीका पुराना ल्यापटप आयात गरी नयाँकै मूल्यमा बेचेको पाइयो
विदेशबाट सेकेन्ड–ह्यान्डमा किनिएको ल्यापटपलाई नेपाली उपभोक्ताले भने नयाँकै मोल तिर्नु परिरहेको पाइएको छ ।
ऋषिराम पौड्याल

काठमाडौँ — विदेशमा धेरै पटक प्रयोग गरेर थन्काइएका वा थोत्रा ल्यापटप तथा डेस्कटप कम्प्युटर नेपाल भित्र्याएर यहाँको बजारमा नयाँकै मूल्यमा बिक्री गरिएको भेटिएको छ । बिग्रिएका वा प्रयोगपछि पुनः नवीकरण गरिएका रिफर्बिस्ड (उपकरण नवीकरण गरिएका) डिभाइसलाई प्रिमियमका रूपमा उच्च मूल्यमा बेच्ने गरिएको पाइएको हो ।

पुराना ल्यापटप भित्र्याएर नयाँ मूल्यमा बिक्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको ल्यापटप तयार गर्न प्रयोग गरिने मुख्य पार्टपुर्जा, ल्यापटप तथा डेस्कटपसहित ५ सय ५० थानको प्राविधिक जाँचपछि यस्तो खुलासा भएको हो ।

नियन्त्रणमा लिइएका सबै ल्यापटपसहितका बेर बोल्ड्स जफत गर्ने अन्तिम तयारी गरिएको विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले जनाए । भन्सारले सनसाइन इलेक्ट्रोनिक र एसआरपीसी टेक्नोलोजी प्रालि, ललितपुर तथा कौशिका इन्टरनेसनल काठमाडौंले दुबईबाट आयात गरेका ल्यापटपको गुणस्तरमा शंका लागेपछि नियन्त्रणमा लिएर प्राविधिक छानबिन गरेको थियो ।

पाँच महिनाअघि नियन्त्रणमा लिइएको सामानको गुणस्तर जाँचका लागि समिति गठन गरिएको भन्सार प्रशासक पोखरेलले बताए । अनुसन्धानको निष्कर्षअनुसार अन्तर्राष्ट्रिय बजारमा नाम चलेको एसपी र डेल कम्पनीका पुराना ल्यापटपलाई नयाँ प्याकिङ र मूल्यमा आयात गरेर बिक्री गरिँदै आएको खुलेको छ ।

नेपाली बजारमा आई–३, आई–५, आई–७ मोडेलका एचपी र डेल ल्यापटप चल्तीमा छन् । यी ल्यापटप मोडलअनुसार ४० हजारदेखि तीन लाख रुपैयाँसम्म बजारमा बिक्री हुने गरेका छन् । विदेशबाट सेकेन्ड–ह्यान्डमा किनिएको ल्यापटपलाई नेपाली उपभोक्ताले भने नयाँकै मोल तिर्नु परिरहेको पाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागको समेत प्राविधिक जाँच पूरा भएपछि यी ल्यापटप पुराना भएको थप पुष्टि भएको हो । प्राविधिक रूपमा भएको जाँचपछि बजारमा यस्ता ल्यापटप किनेर उपभोक्ता ठगिँदै आएको प्रमाणित भएको भन्सारका अधिकारीहरूले जनाए । काठमाडौं नयाँ सडकका एक ल्यापटप विक्रेताका अनुसार नेपालका ग्राहकले सस्तो खोज्ने चलन भएकाले त्यस्ता सामान आयात हुने गरेको प्रस्ट्याए । ‘यस्ता सामान आयात भइरहेका छन् । यो रोकिँदैन । किनकि यसरी नै चल्दै आएको छ,’ ती विक्रेताले भने ।

बयानका क्रममा आयातकर्ताले नै नेपाली बजारमा धेरै ल्यापटप तथा डेस्कटप यसरी नै भित्रिने गरेको खुलासासमेत गरेको अनुसन्धानमा संलग्न भन्सार अधिकारी बताउँछन् । आयातकर्ताकै भनाइमा विदेशमा प्रयोगविहीन भएर फ्याँक्ने अवस्थाका ल्यापटपलाई पार्टपुर्जा हेरफेर, म्यानुफ्याक्चर र ग्यारेन्टी मिति परिवर्तन गरेर नयाँ प्याकेजिङसहित ब्रान्डेड मूल्यमा बिक्री गरिँदै आएको छ । रिफर्बिसिङ अन्य देशमा निकै प्रचलनमा रहे पनि त्यस्ता डिभाइसको मूल्य नयाँसरह लिनु गलत हो । भन्सार प्रशासक पोखरेलले सामानको कुल मूल्य भने मूल्यांकन भइरहेको बताए ।

अनुसन्धान अधिकारीहरूका अनुसार बजारमा रिफर्बिस्ड डेस्कटपभन्दा ल्यापटप धेरै संख्यामा बिक्री हुँदै आएको पुष्टि भएको छ । यस घटनापछि ल्यापटप र डेस्कटप पाँच महिनादेखि विमानस्थल भन्सारबाट आयात भएको छैन । त्यसैले पनि विगतमा सेकेन्ड ह्यान्ड ल्यापटप तथा डेस्कटप कम्प्युटर सहज रूपमा भित्रिएर उपभोक्ताको हातमा पर्ने गरेको अधिकारीहरूको अनुमान छ । अहिले बजारमा ल्यापटप अभाव नभएकाले त्यस्ता आयातकर्ताले कुनै न कुनै नाकाबाट आयात गरिरहेको हुन सक्ने भन्सार अधिकारीहरूको अनुमान छ । ‘बजारमा जति ल्यापटप छन्, सबै ब्रान्डेड होइनन्,’ ती व्यवसायीले भने, ‘अहिले पनि कुनै न कुनै नाकाबाट यस्ता ल्यापटप भित्रिरहेका छन् ।’

यस घटनाले बजारमा इलेक्ट्रोनिक सामानको पनि अनुगमन गर्नुपर्ने देखिएको भन्सार प्रमुख प्रशासक पोखरेल बताउँछन् । ‘भन्सारले पनि नांगो आँखाले सबै ठम्याउन नसक्ने भएकाले उपभोक्ता हितको काम गर्ने निकायले बजारमै अनुगमन गर्नुपर्छ,’ उनले भने । त्यस्ता मालवस्तुको अनुगमन गर्न सकिने भए पनि दक्ष जनशक्तिको अभाव रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए ।

कुनै पनि इलेक्ट्रोनिक्स सामानको मूल्य, ब्याजलगायत विषयमा अनुगमन हुने गरे पनि प्राविधिक जाँच गर्ने चलन नभएको उनको भनाइ छ । ‘प्राविधिक जाँच गर्न सूचना प्रविधिसम्बन्धी ज्ञान भएका प्राविधिक कर्मचारीको खाँचो हुन्छ, त्यस्तो जनशक्ति हामीसँग छैन,’ उनले भने ।

पाँच महिना लगाएर गरिएको प्राविधिक जाँचका आधारमा भन्सार कार्यालयका अधिकारीले धेरै उपभोक्ताले अन्जानमै यस्ता पुराना ल्यापटप नयाँ मूल्यमा खरिद गरिरहेको सहज अनुमान लगाउन सकिने बताए । भन्सारले नियन्त्रणमा लिएको ल्यापटपको प्राविधिक जाँच गर्दा पाँच वर्षअघि नै ग्यारेन्टी म्याद सकिएको र एक पटक प्रयोग भएको प्रमाणित भएको छ ।

त्यस्ता ल्यापटपलाई नेपाली आयातकर्ताले आफ्नो कम्पनीमार्फत भन्सार नाकाहरूमा नयाँ मूल्य घोषणा गरेर बजारमा लैजाने गरेको अनुसन्धानबाट खुलेको छ । भन्सारले पनि नयाँकै मूल्यअनुसार मूल्यांकन गरेर राजस्व तिराएपछि विदेशमा सस्तो मूल्यमा खरिद गरेका ‘सेकेन्ड–ह्यान्ड’ ल्यापटपले कानुनी रूपमा ब्रान्डेडको मान्यता पाउँदै आएको छ ।

भन्सारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको ल्यापटप र त्यसका पार्टपुर्जाका सम्बन्धमा वातावरण संरक्षण विभागलाई समेत जाँच गराएको छ । विभागले वातावरण संरक्षण ऐन, २०७६ अनुसार त्यस्ता ल्यापटप, डेस्कटप र त्यसमा प्रयोग हुने सामान जुन देशबाट आयात गरिएको हो, त्यतै फर्काउन सुझाव दिएको छ ।

म्याद सकिएका इलेक्ट्रोनिक सामान आयात गर्न नपाइने र आयात गरे भन्सार बिन्दुबाट फिर्ता पठाउनुपर्ने प्रावधान ऐनमा छ । ‘हामी सकभर ती ल्यापटप र डेस्कटपको मूल्यमा २ सय प्रतिशत जरिवाना गराउने सोचमा छौं,’ पोखरेलले भने, ‘सबै तयारी भइसकेको छ ।’

प्रकाशित : माघ १३, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?