कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेट्रोलियम पदार्थ खुल्ला रूपमा बिक्री गरे कारबाही गरिने

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुल्ला रूपमा बिक्री गर्ने बिक्रेतालाई कारबाही गर्ने भएको छ । अति प्रज्वलनशील पेट्रोलियम पदार्थ बोतल, जर्किन लगायत भाँडामा बिक्री वितरण, असुरक्षित ओसारपसार तथा घर, पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षति हुने जनाउँदै निगमले खुल्ला रूपमा बिक्री गरे कारबाही गर्ने जनाएको छ ।

पेट्रोलियम पदार्थ खुल्ला रूपमा बिक्री गरे कारबाही गरिने

‘आगलागी, मानवीय एंव भौतिक क्षतिसमेत हुने संवेदनशिल विषय भएकाले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रूपमा बिक्री/वितरण नगर्नु/नगराउन बिक्रेतालाई समय-समयमा सुचित गराइएकै छ,’ निगमले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसै सन्दर्भमा जिल्ला प्रहरी परिसर, काठमाडौंले पेट्रोलियम पदार्थको सुरक्षित बिक्री वितरणबारे सूचनासमेत प्रकाशित गरेको छ । सोही अनुसार गर्नु/गराउन हुन निगमका बिक्रेतालाई यही विज्ञप्तीमार्फत जानकारी गरिन्छ ।’

विक्रेताले अवज्ञा गरी खुल्ला रूपमा बोतल, जर्किन लगायत भाडामा बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने निगमले जनाएकाे छ । बुधबार नै जिल्ला प्रहरी परिसर काठमाडौंले पनि एक सूचना प्रकाशित गरेर बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गर्दै सूचना जारी गरेको थियो । ‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रूपमा बिक्रीवितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ,’ प्रहरीले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित : माघ ११, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?