एक क्विन्टल चिराइतोको मूल्य एक लाख

आनन्द गौतम

ताप्लेजुङ — झापा बिर्तामोडका व्यापारी हरि मिश्रले नेपालमा उत्पादित चिराइतो यस वर्ष प्रतिक्विन्टल एक लाख रुपैयाँमा भारत निर्यात गरे । डेढ दशकअघि व्यवसाय गर्न ताप्लेजुङबाट बिर्तामोड सरेपछि लगातार चिराइतोको कारोबार गर्दै आएका उनले बिक्री गरेको यो अहिलेसम्मकै बढी मूल्य हो ।

एक क्विन्टल चिराइतोको मूल्य एक लाख

उनले गत वर्ष प्रतिक्विन्टल ७५ हजार रुपैयाँमा चिराइतो भारत निर्यात गरेका थिए । यस वर्ष भने क्विन्टलमै २५ हजार रुपैयाँ बढी पाए ।

चिराइतो संकलनका लागि गाउँ पसेका फुङलिङ नगरपालिका–९ हाङदेवाका व्यवसायी गोविन्द बरालले किसानलाई ८० हजारसम्म मूल्य दिइरहेका छन् । संकलन गरेको ठाउँदेखि बिर्तामोडसम्मको गाडी भाडा, गोदाममा लाग्ने शुल्क र मजदुरको ज्यालालगायत हिसाब गरेर किसानबाट उनले त्यति रुपैयाँमा चिराइतो किनेका हुन् ।

कोरोना संक्रमणका बेला निर्यात ठप्प भएपछि गाईभैंसीको गुहालीदेखि घरको बार्दली तथा गोदाममा राखेका चिराइतो किसानले यतिबेला धमाधम बेच्दै छन् । विगतका वर्षको तुलनामा राम्रो मूल्य आएकाले चिराइतो बेचेको फक्ताङलुङ गाउँपालिका–६ लेलेप लावाजिङका बुद्धिमान लिम्बूले जनाए ।

ताप्लेजुङ सदरमुकामबाट बिर्तामोडसम्मको भाडा प्रतिगाडी ५० देखि ६० हजार रुपैयाँ पर्छ । एउटा गाडीमा २४ सय किलोसम्म मात्रै चिराइतो अटाउँछ । ‘थोरैले धेरै ठाउँ ओगट्ने भएकाले तौल कम भए पनि बढी भाडा लागेको हो,’ बरालले भने, ‘गाउँदेखि सदरमुकामसम्मको भाडा पनि जोड्दा ढुवानीमै बढी खर्च हुन्छ ।’ निकासी कर प्रतिकिलो ५ रुपैयाँ तिर्नुपर्छ । छुट पुर्जीका लागि हरेक जिल्लाका डिभिजन वन कार्यालयमा किलोको १५ रुपैयाँ बुझाउनुपर्छ । यी सबै खर्च व्यापारीले नै तिर्नुपर्ने भएकाले किसानले यी खर्च कटाएर मात्रै मूल्य पाउने बराल बताउँछन् । अहिलेको बिक्री मूल्य हरेकजसो किसानकहाँ पुग्ने भएकाले निर्यात गर्दा आफूलाई थोरै नाफा हुने उनको दाबी छ ।

जडीबुटीको गाडी बाटोमा निकै जाँच हुने र धेरै समय लगाउने भएकाले भाडादेखि मजदुरको पारिश्रमिक र गोदाम खर्च बढी लाग्ने गरेको पाँचथरका चिराइतो संकलक रुद्र अधिकारी बताउँछन् । ‘अलैंचीलगायत अन्य बालीको तुलनामा चिराइतो निकासी झन्झटिलो छ,’ अधिकारीले भने, ‘त्यो समस्या नबेहोर्न किसान घरमै आएर उठाइदिए हुन्थ्यो भन्छन् ।’ संकलन पुर्जी, छोट पुर्जी, निकासीलगायत कागजात बनाउन भदौ–असोजदेखि नै थाल्नुपर्छ । डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार वार्षिक ३५ हजार किलोसम्म चिराइतो संकलन गर्न सकिन्छ । संकलकले भने आधा जतिको मात्रै पुर्जी लिने गरेको तथ्यांकले देखाएको छ । रोयल्टीबाट २ लाख ५० हजार संकलन भएको वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

झार वर्गको यो वनस्पति संकलनका लागि २८ महिनामा मात्रै योग्य हुने डिभिजन वन अधिकृत वीरेन्द्र शाह बताउँछन् । ‘पहिलो वर्ष काण्ड वृद्धि नभई त्यसबाट पात पलाई मुला जस्तो हुन्छ,’ उनले भने, ‘दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउँछ । यसमा फूल फुल्ने र बीउ लाग्ने गर्छ ।’ दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने किसानको भनाइ छ । हाँगाहाँगा भएर बढ्ने चिराइतो २८ देखि ४८ महिनासम्म उखेल्न योग्य हुन्छ । त्यस बेलासम्म यसले बीउ आफैंले उत्पादन गर्छ । ‘राम्ररी पाक्न दिए बीउ त्यहीं झर्ने भएकाले त्यो ठाउँमा फेरि लगाउनुपर्दैन, आफैं उत्पादन हुन्छ,’ बुद्धिमानले भने ।

भाले र पोथी भनेर पनि छुट्याइने चिराइतो २७ प्रजातिको हुने शाह बताउँछन् । हिमालय क्षेत्रको रैथाने यो प्रजाति प्राकृतिक अवस्थामा १७ देखि ३५ सय मिटरसम्ममा उत्पादन हुन्छ । औषधिजन्य वनस्पतिका रूपमा रहेको यसलाई आयुर्वेदिक, होमियोप्याथी, आम्ची तथा एलोप्याथी औषधीय पद्धतिका साथै अन्य उद्योगमा पनि प्रयोग गर्ने गरिएको शाहको भनाइ छ ।

साउनदेखि कात्तिकसम्म फल्ने र असोजदेखि मंसिरमा पाक्ने यसको संकलन भने मंसिरपछि गरिन्छ । जरासँगै उखेलेपछि एक किलो जतिका ससाना मुठा बनाइने यसलाई हावा आवतजावत गर्न सकिने ठाउँमा भण्डारण गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझाको भनाइ छ । राम्रो सुकिसकेपछि दाना संकलन गरिएकै ठाउँमा झर्ने भएकाले सुकाएरै मात्रै उखेल्न र बिक्री गर्न सामुदायिक वनका तर्फबाट पटकपटक चेतनामूलक तालिम चलाएको ओझाले बताए ।

पहिला जंगल र खेतबारीमा स्वतः उम्रने चिराइतोको किसानले खेती पनि गर्न थालेका हुन् । कोरोना संक्रमणपछि चीन र भारततिर निर्यात ठप्प भएपछि यसमा किसानले पनि ध्यान नदिएको कारोबारीको गुनासो छ । ‘यस वर्षको मूल्यलाई राम्रै मान्नुपर्छ,’ मिश्रले भने, ‘तर चिराइतो उत्पादन भने एकदमै कम भएको पाइएको छ ।’ मंसिरमा उखेलेको चिराइतो माघमै पाइन छाडेको मिश्र बताउँछन् । चिराइतो काँकडभिट्टा र जोगवनी भन्सारबाट निर्यात हुन्छ । नाका बन्द भएकाले चीनतर्फ तीन वर्षदेखि नै निर्यात ठप्प छ । चालु आर्थिक वर्षमा २ करोड २४ लाख १७ हजार ३९ रुपैयाँ बराबरको १ लाख १८ हजार ५ सय ४४ किलो चिराइतो भारत निर्यात भएको मेची भन्सार कार्यालय झापाको तथ्यांक छ ।

प्रकाशित : माघ ११, २०७९ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?