पीपीएको दर बढाउन ऊर्जामन्त्रीलाई चेम्बरको आग्रह 

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सको एक पदाधिकारी टोलीले उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङदेनसँग भेटवार्ता गरी पीपीए (ऊर्जा खरिद सम्झौता)को दर बढाउन आग्रह गरेको छ ।

पीपीएको दर बढाउन ऊर्जामन्त्रीलाई चेम्बरको आग्रह 

सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्माण सम्पन्न भइसकेका आयोजनाको पीपीए दर २ रुपैयाँ ९२ पैसा देखि ३ रुपैयाँ ९२ पैसासम्म मात्रै रहँदा लगानीकर्ता मारमा परेकाले पीपीएको नयाँ दरअनुसार समायोजन गर्न आग्रह गरे । जलविद्युत् आयोजनाको निर्माण लागत दिन प्रतिदिन बढ्दै गएको तथा प्रतिमेगावट उत्पादन लागत समेत बढेकाले पीपीए दर बढाउनु जरुरी भइसकेको मल्लले बताए । त्यस्तै पीपीएको हाल कायम ३५ वर्षको अवधिलाई बढाएर ५० वर्ष पुर्‍याउनुपर्ने सुझाव चेम्बरले दिएको छ ।

साथै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन समेत माग गरेको छ । स्वदेशमै ऊर्जाको खपत र निर्यातको वातावरण निर्माण गर्नुपर्नेमा मल्लले जोड दिए । उनले विद्युत् आयोजना निर्माणमा हुने नीतिगत झन्झट अन्त्य एवम् प्रसारण लाइन निर्माणलाई पनि तीव्र बनाउनुपर्नेमा जोड दिए । रेमिट्यान्सको पैसालाई विद्युत्‌मा लगानीका लागि प्रोत्साहन गर्ने गरी नीति बनाउन सुझाव दिए ।

भेटमा ऊर्जा मन्त्री लिङदेनले जलविद्युत् विकासमा सर्वसाधरणको लगानी प्रवर्द्धन गर्न आफू प्रयासरत रहेको बताए । दूधकोसी, माथिल्लो अरुण, बुढी गण्डकीजस्ता आयोजना स्वदेशी लगानीबाटै बनाउनका लागि सरकारले योजना अघि सारेको मन्त्री लिङदेनको भनाइ छ । नेपालको विद्युत् निर्यातका लागि भारत, बंगलादेशसहित त्रिदेशीय सम्झौताको तयारी भइरहेको र छिट्टै परिणाम आउने मन्त्री लिङदेनले दाबी गरे ।

प्रकाशित : माघ १०, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?