ओपन एआईमा १० अर्ब डलर लगानी गर्ने माइक्रोसफ्टको घोषणा

एजेन्सी

काठमाडौँ — माइक्रोसफ्टले सोमबार ओपन एआई (आर्टिफिसियल इन्टेलिजेन्स)सँग नयाँ साझेदारीको घोषणा गरेको छ । सान फ्रान्सिस्कोमा अवस्थित यो आर्टिफिसियल इन्टेलिजेन्स ल्याबमा माइक्रोसफ्टले ‘बहुवर्षीय अर्बौं डलर’ लगानी गर्ने उल्लेख गरिएको छ । पछिल्लो दिनमा च्याटजीपीटी नामक च्याटबट सार्वजनिक गरेर चर्चामा रहेको ओपन एआईसँग कति रकमको सम्झौता भएको हो भन्ने घोषणामा उल्लेख नभए पनि माइक्रोसफ्टसँग नजिकको स्रोतलाई उदृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेअनुसार रकम १० अर्ब डलरभन्दा माथि छ ।

ओपन एआईमा १० अर्ब डलर लगानी गर्ने माइक्रोसफ्टको घोषणा

माइक्रोसफ्टले ओपन एआईमा यसअघि नै ३ अर्ब डलर लगानी गरिसकेको छ । यो पछिल्लो महत्त्वपूर्ण साझेदारीमार्फत कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफू गुगल, एप्पल र मेटाको सशक्त प्रतिस्पर्धी भएको संकेत दिएको मात्र नभई कम्पनीको भविष्यको लागि ओपन एआईको महत्त्वको संकेत पनि गरेको प्रविधि विषयका लेखक केड मेट्जको आँकलन छ । गत नोभेम्बरमा सार्वजनिक भएलगत्तै अत्यन्तै चर्चित बनेको च्याटजीपीटीको एक साताभित्रै दस लाखभन्दा बढी प्रयोगकर्ता बनेका थिए ।

अहिले यसको प्रिमियम भर्सन पनि आउने चर्चा चलेको छ । प्रयोगकर्ताले खोज्नेबित्तिकै टेक्स्ट, तस्बिर वा अन्य किसिमका मिडिया तुरून्तै जेनेरेट गर्नसक्ने जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्महरू सृजना गर्ने प्रतिस्पर्धामा आफूहरू रहेको माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले एक घोषणामा पनि उल्लेख गरेका थिए ।

माइक्रोसफ्टले पछिल्लो घोषणामा डेलई, च्याटजीपीटी, गीटहब कपीलटजस्ता उत्कृष्ट एआई प्लाटफर्महरूको सृजना सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा सुपरकम्प्युटिङ, एआईमा आधारित अझै सुधारिएका प्लाटफर्म र एआई क्लाउडमा थप लगानी गर्ने जनाएको छ । पाँच वर्षअघि माइक्रोसफ्टले शुरू गरेको टे नामक यस्तै च्याटबट घृणास्पद र भेदभावपूर्ण टेक्स्ट सृजना गरेको गुनासो आएपछि बन्द गरिएको थियो ।

नयाँ एआईले गुगलजस्ता सर्च इन्जिन, फोटोसपजस्ता ग्राफिक एडिटरसँगै एलेक्सा, सिरिजस्ता डिजिटल सेवालाई अझै परिस्कृत ढङ्गबाट अगाडि सार्ने अनुमान गरिएको छ । आउँदा दिनमा यी प्लाटफर्महरूले प्रयोगकर्ताहरूलाई अर्को व्यक्तिसँग कुरा गरेझैँ हुनेगरी कुनै पनि सफ्टवेयर वा कम्प्युटरहरूसँग अन्तरक्रिया गर्नसक्ने बनाउने ओपनएआईको दाबी थियो । ओपनएआई स्टार्टअपको पछिल्लो कुल बजार मूल्य ३० अर्ब डलरभन्दा माथि रहेको र माइक्रोसफ्टको घोषणाले यसलाई अझै बढाउने प्रविधि विज्ञ ज्याकोब कार्पेन्टरको अनुमान छ ।

तर अहिलेका लागि माइक्रोसफ्टले ओपनएआईसँग गरेको साझेदारीले ल्याउने परिणाम र यसको पछिल्लो स्वरूपबारेका अपडेटहरू सैद्दान्तिक मात्रै छन् । च्याटजीपीटीमा विभिन्न समस्या देखिएका छन् भने यसले गलत र म्याद गुज्रिएको सूचना दिने खतरा पनि उत्तिकै छ । (स्मरणीय छ यसमा भएका जानकारीहरू सन् २०२१ सम्मको मात्रै हुन् ।) ओपन एआईका सह संस्थापक तथा प्रमुख साम एल्टम्यानले च्याटजीपीटी अहिलेको अवस्थामा 'अत्यन्तै सीमित तर अहिलेसम्म भ्रम दिइरहेका विभिन्न प्लाटफर्महरू भन्दा उत्तम रहेको' भन्दै ट्विट गरेका थिए । ओपनएआईको प्यारेन्ट कम्पनीको स्थापना एल्टम्यान र टेस्ला तथा ट्विटर प्रमुख इलन मस्कले २०१५ मा गरेका थिए । त्यसयता २०१८ मा मस्कले माइक्रोसफ्टको लगानी आउनुअघि नै ओपनएआईबाट राजीनामा दिइसके पनि अप्रत्येक्ष रूपमा यसको प्रवर्द्धन गर्दै आएकाले यसमा उनको लगानी भएको अनुमान गर्नेहरू छन् ।

कतिपय रिपोर्टले च्याटजीपीटीजस्ता प्लाटफर्महरूलाई 'गुगल किलर' भएको र गुगलसँगको प्रतिस्पर्धाको लागि माइक्रोसफ्टको यो उल्लेख्य लगानी आएको अनुमान गरेका छन् । सो आर्टिफिसियल इन्टेलिजेन्सको सफलताले गुगल दवावमा आएको उनीहरूको दाबी छ । गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले १२ हजार गुगल कर्मचारीहरूलाई अवकास दिने घोषणा गर्दै पठाएको इमेलमा पनि ‘त्यति ठूलो परिवर्तन कठिन भए पनि अब आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्महरूको सृजनामा आक्रामक र जिम्मेवार भएर अगाडि बढ्ने अवसर आएको’ उल्लेख गरेका थिए ।

गुगलले निकट भविष्यमै २० भन्दा बढी एआईमा आधारित सेवाहरू सार्वजनिक गर्ने र आफ्नो सर्च इन्जिनमा च्याटबट फिचर यही वर्षभित्र जोडिसक्ने अनुमान न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमा गरिएको छ । योसँगै गुगल र माइक्रोसफ्टका प्रतिस्पर्धी कम्पनीहरू एप्पल र मेटाको पनि विभिन्न आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्म विकास र खोजमा सयौं मिलियन डलरको लगानी रहेको रिपोर्टहरू सार्वजनिक भएकाले अबको प्रविधि प्रतिस्पर्धा एआईमा आधारित रहने सहजै अनुमान गर्न सकिन्छ ।

सिलिकन भ्यालीमा सन् २०१९ यता आर्टिफिसियल इन्टेलिजेन्स प्लाट्फर्महरूमा लगानीको होड सुरू भएको हो । त्यसयता सफ्टब्यांकले सेकेन्ड भिजन अन्तर्गत एआईको क्षेत्रमा झण्डै १०८ अर्ब डलर लगानी हुने संकेत गरेको थियो, जसमा सफ्टब्यांक ग्रुपको मात्रै ३८ अर्ब डलरसँगै माइक्रोसफ्ट, एप्पल र फक्सकनसँग काम गर्ने उल्लेख थियो । मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले सन् २०१९ मै आर्टिफिसियल इन्टेलिजेन्सका विभिन्न शोधको लागि १.१ अर्ब डलर बराबर लगानी गर्ने घोषणा गरेको थियो भने रसियन डिरेक्ट इन्भेस्टमेन्ट फण्ड नामक रुसी संस्थाले पनि लगभग २ अर्ब डलर बराबरको लगानी आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी अध्ययन र प्रविधि विकासका लागि जुटाएको रिपोर्टहरू सार्वजनिक भएका थिए । जर्मनीको प्रख्यात कार निर्माता कम्पनी फक्सवागेनले स्वचालित कार समेतका विभिन्न आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विकासमा लगाउन झण्डै २.६ अर्ब डलरको स्टार्टअप यसअघि नै घोषणा गरिसकेको छ ।

प्रकाशित : माघ १०, २०७९ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?