१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३
सुदूरको सान

गौरवको गति

मोहन बुडाऐर

कञ्चनपुर — सुदूरपश्चिम प्रदेशमा सञ्चालित ठूला तथा राष्ट्रिय गौरवका आयोजनाहरूबारे चुनावी र कहिलेकाहीं राष्ट्रिय चर्चामा मात्रै आउँछन् । केही कार्यान्वयनमा चरणमा रहेका आयोजनाको काम पनि कछुवा गतिमा अघि बढ्दा, सुदूरपश्चिमको जीवनस्तरमा परिवर्तन देखिन अझै केही समयलाई पर्खनुपर्ने देखिन्छ ।

गौरवको गति

जलस्रोतका क्षेत्रमा सेती र पञ्चेश्वर परियोजना चुनावी र राष्ट्रिय चर्चाका विषय मात्रै बनिरहेका छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका टिंकरसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर सडक निर्माण योजनाको काम पनि कछुवा गतिमा छ । कृषियोग्य जमिनलाई सिँचाइ सुविधा पुर्‍याउने गरी सुरु भएको रानी–जमरा, कुलरिया र महाकाली सिँचाइ तेस्रो चरणका राष्ट्रिय गौरवका आयोजनामा पर्छन् । उक्त दुई आयोजनाले सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रूपमा रहेका कैलाली र कञ्चनपुरको ७० हजार हेक्टरभन्दा बढी कृषियोग्य जमिन सिञ्चित गर्छ । ती दुई आयोजनाबाट किसानलाई पुग्ने सिँचाइ सुविधाले बढाउने कृषि उत्पादकत्व, प्रदेशको खाद्य सम्प्रभुताका लागि महत्त्वपूर्ण आयोजना हुन् । आयोजनाको काममा भइरहेको ढिलासुस्तीले पूर्व–पश्चिम राजमार्ग आसपासको सिञ्चित क्षेत्र खण्डीकरण हँॅदै गएको छ ।

कैलालीको पूर्वी क्षेत्रको परम्परागत रानी–जमरा, कुलरिया सिँचाइ प्रणालीलाई एकीकृत योजनाका रूपमा नेपाल सरकारले विश्व बैंकको सहयोगमा ०६७/६८ देखि राष्ट्रिय गौरवका रूपमा सुरु गरेको हो । २७ अर्ब ७० करोड २४ लाख ४ हजारको लागत अनुमान गरिएको यो आयोजना ०८०/८१ सम्म पूरा गर्ने लक्ष्य लिएको छ । हालसम्म १६ अर्ब ६७ करोड ७८ लाख ६० हजार अर्थात् ६०.२० प्रतिशत समष्टिगत प्रगति गर्न सकेको छ । यस आयोजनाको लक्ष्य कैलाली जिल्लाको जानकी गाउँपालिका, टीकापुर र लम्की चुहा नगरपालिकाको ३८ हजार ३० सय हेक्टर कृषियोग्य जमिन वर्षैभरि सिँचाइ सेवा पुर्‍याउने रहेको छ ।

नेपाल सरकारले ०६३/६४ बाट महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा स्तरोन्नति गरी अघि बढाइएको हो । ३५ अर्बको गुरुयोजना स्वीकृत गरी १० वर्षभित्रमा योजना सम्पन्न गर्ने गरी महाकाली सिँचाइ तेस्रो आयोजना कार्यान्वयनको चरणमा आएको आयोजना प्रमुख रणबहादुर बमले बताए । आयोजना सुरु भए तापनि केही वर्ष भारतीय क्षेत्रमा पर्ने १ हजार २ सय २० मिटर नहर तथा टनकपुर ब्यारेजमा ‘हेडवर्क्स’ नबन्दा निर्माण गर्ने कार्य ढिला सुरु भएको आयोजनाका प्रमुख बमले बताए । महाकाली तेस्रो नहरको कुल लम्बाइ १ सय ५२ किलोमिटर छ । कुल नहरको नेटवर्क १ हजार ३ सय ४८ किलोमिटर रहेको छ । मूल नहरबाट निर्माण गर्नॅपर्ने १ सय ७२ किलोमिटर शाखा नहर, प्रशाखा नहर १ हजार २४ किलोमिटर निर्माण गरिनेछ ।

कञ्चनपुरको बह्मदेवबाट सुरु भई झुलाघाट दार्चॅला हुँदै टिंकरसम्मको सडक योजनाको नाम हो, महाकाली लोकमार्ग । आर्थिक वर्ष ०६५/६६ देखि सञ्चालनमा ल्याइएको यो योजना राष्ट्रिय प्राथमिकतामा पर्छ । उत्तर–दक्षिणमा महाकाली करिडोरका रूपमा प्रस्तुत महाकाली लोकमार्ग सुदूरपश्चिमको एक आर्थिक मेरुदण्डका रूपमा मात्रै नभई, त्रिदेशीय व्यापार परिवहन करिडोर पनि हो । कञ्चनपुर बह्मदेवदेखि डडेलधुराको जोगबुडा, बैतडीको पञ्चेश्वर, चमेलिया र दार्चुलाको लाली उखु खलंगा, धारी, हुती, धौलाकोट, सुनसेरा हुँदै चीनको ताक्लाकोटको सीमास्तम्भ नम्बर १ सम्म निर्माण हुनेछ । यो सडक ४ सय २५ किलोमिटर लम्बाइको छ । बह्मदेवदेखि दार्चॅलाको खलंगासम्म २९१ किलोमिटर, खलंगादेखि टिंकरसम्म १३४ किलोमिटर लम्बाइको छ । दार्चुलाको टिंकरसम्मको कुल १३४ किलोमिटर सडक खण्डको तुसारपानीसम्म यस योजनाबाट सडक निर्माणको काम भइरहेको छ । तुसारपानीदेखि टिंकरसम्मको ९१ किलोमिटर नेपाली सेनाद्वारा निर्माण कार्य भइरहेको छ ।

यो सडक आयोजनाको कुल लागत अनुमान १८ अर्ब ४८ करोड छ । हालसम्ममा २०४ किलोमिटर ट्र्याक खोल्ने काम भइसकेको छ । बाँकी २२१ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ । यो योजनामा हालसम्म १ अर्ब ४८ करोड लगानी भएको छ । योजनाको सुरुदेखि हालसम्म वित्तीय प्रगति ९ प्रतिशत मात्रै भएको छ । ४२५ किलोमिटर लम्बाइ भएको करिडोरअन्तर्गत विभिन्न प्याकेजमा निर्माणको काम भइरहेको योजना प्रमुख लक्ष्मण दत्त जोशीले बताए ।

प्रकाशित : माघ ९, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?