२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एकै जिल्लाबाट ३८ करोडको सुन्तला

डम्बरसिं राई

खोटाङ — जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका ३८ वर्षीय श्याम राईले सुन्तलाबाट यस हिउँदमा पाँच लाख रुपैयाँ कमाए । आफ्नो बगानमा फलेको एउटै बोटको सुन्तलाबाट ५६ हजार रुपैयाँसम्म आम्दानी गरेकोमा उनी दंग छन् । ‘बाउ–बाजेकै पालादेखि सुन्तला खेती गरे पनि बजारसम्म पुर्‍याउन सकिएको थिएन,’ राईले भने, ‘स्थानीय तह बनेपछि गाउँगाउँमा सडक पुगेकाले अब आएर राम्रो आम्दानी गर्न सकिएको छ ।’

एकै जिल्लाबाट ३८ करोडको सुन्तला

गाउँका अन्य पनि सुन्तलाबाट मालामाल भइरहेका छन् । घोर्ले टोलका २८ घरले यस वर्ष करिब ६३ लाख रुपैयाँको सुन्तला बेचेको सुनाए । सुन्तलाको कमाइले आफूहरूमा उत्साह ल्याएको उनीहरू बताउँछन् । उक्त पालिकाभरि ३ करोड ८८ लाख रुपैयाँको सुन्तला बगानबाटै बेचेको कृषि प्राविधिक तोसल भट्टराईले जनाए । ठेकेदारले बगान नै किन्ने गरेको उनले जानकारी दिए ।

‘ठेकेदारले यस वर्ष साढे दुई लाखदेखि पाँच लाख रुपैयाँसम्ममा बगान किने,’ राईले भने, ‘कात्तिकमै आएर बैना गरेका थिए ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा कोडगाउँका राम कुँवरले पनि सुन्तलाबाट पर्याप्त आर्जन गरेका छन् । दिक्तेल, गाईघाट र घरमा गरी १२ लाख रुपैयाँको सुन्तला बेचेको उनले बताए ।

‘बिचौलियालाई दिनुभन्दा आफैंले बेच्नु राम्रो लाग्यो,’ कुँवरले भने । जन्तेढुंगा, बराहपोखरी, दिप्रुङ चुइचुम्मालगायत गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष राम्रो सुन्तला फलेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । प्रतिकिलो एक सय रुपैयाँका दरले हिसाब गर्दा करिब ३८ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको देखिन्छ ।

गत वर्षको तुलनामा यो वर्ष करिब चार टन उत्पादन बढेको छ । अनुकूल मौसम तथा रोगकिराको प्रकोप कम भएका कारण सुन्तला उत्पादन बढेको पण्डितले बताए । यस वर्ष ३ हजार ७ सय २५ टन र गत वर्ष ३ हजार ३ सय ३१ टन सुन्तला उत्पादन भएको छ । जिल्लामा ७ सय ४२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ ।

प्रकाशित : माघ ९, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?