२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘बैंकको कर्जा नतिरी आन्दोलन गर्नु वित्तीय अपराध’

संगठनका नाममा समूह बनाएर सडकमा उफ्रिएर कर्जा नतिर्ने भनी दबाब दिन कसैले मिल्दैन – महाप्रसाद अधिकारी गभर्नर, नेपाल राष्ट्र बैंक

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर तोकिएको समयमा साँवाब्याज भुक्तानी नगरेर आन्दोलन गर्नु वित्तीय अपराध भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । ऋणीहरूले कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको र यस्तो प्रवृत्तिले वित्तीय प्रणालीमा नयाँ चुनौती थपेको उनको भनाइ छ ।

‘बैंकको कर्जा नतिरी आन्दोलन गर्नु वित्तीय अपराध’

गत शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधारणसभामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बैंकहरूबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रूपमा बैंकबाट लिएको कर्जा तिर्नुपर्दैन भन्नु अराजकताको माथिल्लो रूप भएको उनको टिप्पणी छ । ‘बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनका नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रूपमा दबाब दिन मिल्दैन,’ उनले भने, ‘बैंकको अधिकांश कर्जा सार्वजनिक सम्पत्ति र सर्वसाधारणको निक्षेप भएकाले कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता र वित्तीय स्थायित्वमा समस्या आउन सक्छ ।’

पछिल्लो समय बैंकहरूमा धेरै चुनौती छन् । समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौती देखिएको उनले बताए । बैंकहरूबाट ऋण लिने तर त्यो ऋण तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने भनी संगठन गरी संगठित रूपमा बैंकबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने खालका कुरा बजारमा आउन थालेका छन् । जुन कुरा एउटा अराजकताको पनि अत्यन्तै माथिल्लो रूप हो,’ उनले भने । बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर गरी कुल १३ प्रतिशत लाभांशको प्रस्ताव राष्ट्र बैंकमा पठाएको छ । गत पुस मसान्तसम्म बैंकको कुल निक्षेप १ खर्ब ७२ अर्ब र कर्जा प्रवाह १ खर्ब ७९ अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंकको गैरकोष कारोबार ६० अर्ब, सेयरधनी कोषमा ३३ अर्ब र पुँजीकोष अनुपात १४.८३ प्रतिशत छ । गत पुस मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.५४, कोषको लागत ८.५३ र आधार दर ११.०६ प्रतिशत छ । यद्यपि अघिल्लो वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको कुल खराब कर्जा २.०८ प्रतिशत थियो ।

हाल बैंकको कुल अधिकृत पुँजी २५ अर्ब र चुक्ता पुँजी १८ अर्ब ६२ करोड छ । बैंकमा नेपाल सरकारको लगानी ५१ प्रतिशत र सर्वसाधारणको करिब ४९ प्रतिशत छ ।

प्रकाशित : माघ ९, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?