भारतमा भन्दा महँगो भएपछि पेट्रोल र डिजेल आयात घट्यो

शंकर आचार्य

पर्सा — भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगिएपछि वीरगन्ज नाका हुँदै दुवै इन्धनको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरगन्ज नाका हुँदै डिजेलको आयातमा ३३ र पेट्रोलको आयातमा ६ प्रतिशतले गिरावट आएको छ ।

भारतमा भन्दा महँगो भएपछि पेट्रोल र डिजेल आयात घट्यो

चालु आर्थिक वर्षको पुस मसान्तसम्म यो नाकाबाट ५१ अर्ब ६५ करोड ९५ लाख १८ हजार रुपैयाँँ बराबरको ४ लाख ९ हजार ५ सय ४६ किलो लिटर डिजेल आयात भएको छ । जवकि गत आर्थिक वर्षको यसै अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाख ३५ हजार रुपैयाँँ बराबरको ६ लाख १४ हजार ३ सय ४९ किलो लिटर डिजेल आयात भएको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा यो नाका हुदै १९ अर्ब ३१ करोड ४९ लाख २१ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार ६ सय ३९ किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १६ अर्ब १२ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ५ हजार २ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

मुलुकमा वर्षेनि मोटर साइकल, जिप, कार, भ्यान तथा बस-ट्रक जस्ता सवारी साधनको संख्या बढ्दो क्रममा छ । यस्तो अवस्थामा अचानक इन्धनको आयात घट्नुले भारततर्फ हुने तस्करी घटेको बताइन्छ । वीरगन्ज नाका इन्धन आयात हुने मुलुककै मुख्य नाका हो । डिजेलको ठूलो हिस्सा पेट्रोलियम पाइपलाइनबाट आयात हुन्छ भने पेट्रोल ट्यांकरबाट आयात हुन्छ ।

हाल वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलमा पेट्रोलको प्रति लिटर मूल्य १ सय ७४ रुपैयाँ ७२ पैसा (नेरु) र डिजेलको प्रति लिटर मूल्य १ सय ५३ रुपैयाँ ३९ पैसा (नेरु) रहेको छ । यता वीरगन्जमा पेट्रोल प्रति लिटर १ सय ७५ रुपैयाँ ७५ पैसा र डिजेल प्रति लिटर १ सय ७२ रुपैयाँ ७५ पैसा रहेको छ । २०२२ मार्च महिनाको चौथो सातामा भारतमा इन्धनको मूल्य बढेपछि नेपालभन्दा भारतमा डिजेल करिब २० रुपैयाँ महगो भएको हो । हाल दुवै मुलुकमा पेट्रोलको मूल्यमा करिब १ रुपैयाँ मात्र अन्तर छ । भारतभन्दा नेपालमा पेट्रोल करिब १ रुपैयाँ महगो छ ।

करिब ४ वर्ष निरन्तर भारतभन्दा नेपालमा यी दुवै इन्धन सस्तो हुँदा भारततर्फ दुवैखाले इन्धनको तस्करी हुने गर्थ्यो । जिल्लाका ग्रामीण भेगमा रहेका पेट्रोल पम्पहरुले पनि त्यति बेला उल्लेख्य परिमाणमा इन्धन बिक्री गर्थे । सीमावर्ती भारतीय सहर तथा गाउँका सवारीधनीहरु मोटर साइकल तथा चारपांग्रे सवारी साधनमा इन्धन भर्न नेपाली बजारहरुसम्म आइपुग्थे । भारतका विभिन्न सहरबाट मालवस्तु बोकेर आउने ट्रक तथा लरीहरुले पनि यहीँबाट डिजेल भरेर भारत जाने गरेका थिए ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले भन्सार कार्यालयले इन्धनको आयातमा सहजिकरणको काम मात्र गर्ने बताए । उनले आयात घटने वा बढ्ने कारणबारे भने आफूहरु अनभिज्ञ रहेको बताए ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतभन्दा नेपालमा इन्धन महँगो भएपछि यसको आयात स्वाभाविक रुपले घटेको बताए । यसबाहेक नेपालमा विकास निर्माणले अपेक्षाकृत गति लिन नसक्दा पनि इन्धनको खपत कम भएको उनको भनाइ थियो ।

‘विकास बजेटनै ११ प्रतिशत मात्र खर्च हुन सकेको अवस्था छ,’ उनले भने, ‘यसले देशमा विकास निर्माणको कामले गति लिन नसकेको र त्यसको कारण इन्धनको खपत पनि घटेको संकेत गर्छ ।’

प्रकाशित : माघ ८, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?