१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पर्साको विकास बजेट : एक चौथाइ पनि भएन खर्च 

शंकर आचार्य

पर्सा — चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा संघ सरकार मातहतका जिल्लास्थित विकास निर्माणसँग सरोकार राख्ने सरकारी कार्यालयहरुले विकास बजेटको एक चौथाइ हिस्सा पनि खर्च गर्न सकेका छैनन् । जिल्लाका सरकारी कार्यालयहरुको चालु आवको विकास बजेट ४ अर्ब १० करोड १७ लाख ५५ हजार रुपैयाँ रहेकोमा शुक्रबारसम्ममा ५१ करोड ९८ लाख ४६ हजार १ सय १२ रुपैया मात्र खर्च हुन सकेको छ । 

पर्साको विकास बजेट : एक चौथाइ पनि भएन खर्च 

कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जको तथ्यांक अनुसार सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको वार्षिक विकास बजेट १ अर्ब ५२ करोड ८२ लाख ५० हजार रुपैयाँ रहेकोमा त्यसमध्ये १५ करोड ८९ लाख ८९ हजार ७ सय ३९ रुपैयाँ मात्र खर्च भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जको वार्षिक विकास बजेट ६९ करोड ८० लाख रुपैयाँ रहेकोमा १३ करोड ९७ लाख ८२ हजार ७ सय ७२ रुपैयाँ मात्र खर्च हुन सकेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनको विकास बजेट ६६ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेकोमा ५२ लाख ६६ हजार ७ सय १ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । वीरगन्ज पथलैया सडक योजना कार्यालयको बजेट ५० करोड रुपैयाँ रहेकोमा ८ करोड ९१ लाख ३२ हजार ७ सय ३२ रुपैयाँ मात्र खर्च हुन सकेको छ ।

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयको वार्षिक विकास बजेट १७ करोड ५० लाख ५० हजार रुपैयाँ रहेकोमा ६० लाख ५२ हजार १ सय १८ रुपैयाँ मात्र खर्च हुन सकेको छ । भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालय वीरगन्जको विकास बजेट ६ करोड १६ लाख रुपैयाँ रहेकोमा ११ लाख ९४ हजार ४० रुपैयाँ खर्च हुन सकेको छ ।

आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि सरकारी कार्यालयहरुले एक चौथाइ विकास बजेट पनि खर्च गर्न नसक्दा यस वर्ष पनि ठूलो रकम फ्रिज हुने संकेत देखिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जका प्रमुख दारोगा प्रसादले यस वर्षको कुल बजेटमध्ये ठूलो हिस्सा चितवन राष्ट्रिय निकुन्जभित्र हुलाकी राजमार्ग र ७ वटा पुल निर्माणको लागि बिनियोजित रहेको तर निकुन्ज प्रशासनले काम गर्न नदिँदा बजेट खर्च हुन नसकेको बताए । त्यसैगरी, बारा सदरमुकाम कलैयामा अधुरो रहेको साढे ३ किलोमिटर सडक निर्माणमा २२ करोड रुपैयाँ बिनियोजित रहेको तर निर्माण व्यवसायी सम्पर्क विहीन रहेकाले उक्त बजेट पनि उपयोग हुन नसकेको उनले बताए ।

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेश कुमार साहले चालु आवको सुरुवातमै स्थानीय र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भएको तथा कार्यालय प्रमुख पदस्थापनमा पनि केही समय लागेकाले बजेट खर्च हुन नसकेको बताए । अब सबै विकास निर्माणको काम टेण्डर प्रकृयाबाट गरिने भएकाले निकट भविष्यमै सबै काम सुरु गरेर बजेटको उपयोग हुने उनले बताए ।


प्रकाशित : माघ ८, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?