कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

रसुवागढीबाट १५ दिन आयात नहुने

बलराम घिमिरे

रसुवा — चिनियाँ नयाँ वर्षका कारण रसुवागढी नाकाबाट सामान आयात नहुने भएको छ । शुक्रबार बिहानदेखि नै रसुवागढी नाकाबाट व्यापारीका सामान आयात नभएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जनाए । नयाँ वर्षका कारण १५ दिनसम्म सामान आयात नहुने अनौपचारिक जानकारी आएको उनको भनाइ छ ।

रसुवागढीबाट १५ दिन आयात नहुने

आगामी फेब्रुअरी ३ सम्म नाकाबाट सामान आयात नहुने जानकारी आएको हो । यस नाकाबाट हुने आयात पनि न्यून मात्रामा छ । अहिले नाकाबाट प्रतिदिन चिनियाँ १४ कन्टेनर मात्र सामान आयात भइरहेको थियो । बिहान ७ र बेलुका ७ गरी प्रतिदिन १४ कन्टेनर मात्र सामान आयात भइरहेको थियो । बिहीबारदेखि केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छाडिसकेको रसुवाका व्यवसायी धर्म पौडेलले बताए । चिनियाँ नयाँ वर्षका कारण केरुङमा रहेका सरकारी कार्यालय नै बन्द हुन्छन् ।

नेपाली सामान चीनतर्फ निर्यात हुन थालेको एक महिना मात्र भएको छ । तीन वर्षपछि रसुवागढीबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको हो । निर्यात खुलेको एक महिनामा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ । रसुवागढी नाकाबाट अहिलेसम्म करिब ६ करोड मूल्य बराबरको ३९ कन्टेनर सामान चीनतर्फ निर्यात भएको छ । सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत हुन सकेको छैन ।

यस नाकाबाट कोरोनाअगाडिको अवस्थामा व्यापारीका सामान सहज रूपमा आउन अझै सकेको छैन । रसुवागढी नाकाबाट आयात–निर्यात प्रभावित भएको तीन वर्ष भइसकेको छ । ०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित भएको थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात–निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस देखिएपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात थप प्रभावित बनेको थियो । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । आयात–निर्यात ठप्प रहेको साढे पाँच महिनापछि ०७७ असार २२ बाट पुनः आयात सुरु भए पनि निर्यात ठप्प थियो । आयात सुरु भए पनि कहिले कोरोना, कहिले पहिरो र हिमपातको कारण पटकपटक नाकामा समस्या आइरहेको छ । बारम्बार आइरहने यस्ता समस्याका कारण व्यापारी भने मर्कामा परेका छन् ।

चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायत मुख्य वस्तु आयात हुने गरेका छन् । नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्रिसो, मैदा, डाल्डा घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सीको क्यान्डी, चकलेट, सक्खर, चुइगमलगायत वस्तु निर्यात हुँदै आएको थियो । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किमि छ ।

प्रकाशित : माघ ८, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?