मेनु मूल्यमाथि सर्भिस चार्ज र भ्याट जोडे कारबाही- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

मेनु मूल्यमाथि सर्भिस चार्ज र भ्याट जोडे कारबाही

उपभोक्ता संरक्षण ऐनअनुसार दुईदेखि तीन लाख रूपैयाँसम्म जरिवाना : वाणिज्य विभाग
कर छली गर्नेमाथि कानुनी कारबाही हुन्छ, नियमअनुसार पटकैपिच्छे ३० हजार रूपैयाँसम्म जरिवाना गर्छौं : आन्तरिक राजस्व विभाग
राजु चौधरी

काठमाडौँ — मेनु मूल्यमाथि सर्भिस चार्ज र भ्याट जोडेर सर्वसाधारण ठग्ने होटल–रेस्टुराँलाई कारबाही हुने भएको छ । केही होटल–रेस्टुराँले उपभोक्ता संरक्षण ऐन ०७५ र मूल्य अभिवृद्धि कर ऐन ०५२, मूल्य अभिवृद्धि कर नियमावली ०५३ विपरीत चर्को शुल्क असुलेपछि सरकारले अनुगमन गरेर कारबाही गर्ने जनाएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व विभाग, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान), होटल रेस्टुरेन्ट महासंघ, फास्ट फुड एसोसिएसनलगायत सरोकारवाला निकायबीच बिहीबार भएको छलफलमा अनुगमन र कारबाही गर्ने सहमति भएको हो । छलफलमा मूल्य अभिवृद्धि कर ऐन तथा नियमावली र उपभोक्ता संरक्षण ऐनअनुसार वाणिज्य विभाग, आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयबाट अनुगमन गर्ने सहमति भएको हो ।

‘मेनु मूल्यमाथि सर्भिस चार्ज र भ्याट लिएको सन्दर्भमा विगतमा पनि हामीले विज्ञप्ति जारी गरेका थियौं । केहीले कार्यान्वयन गरे पनि केहीले शुल्क लिइरहेका छन् । बिहीबार वाणिज्यमा भएको छलफलमा अटेर गर्नेमाथि अनुगमन र कारबाही गर्ने निर्णय भएको छ । ७ सय ५३ पालिकालाई संघीय कानुनअनुसार अधिकार प्रत्यायोजन गरिएको छ । त्यसलाई क्रियाशील गराउँछौं,’ वाणिज्य विभागका प्रवक्ता होमनाथ भट्टराईले भने, ‘७७ जिल्लाका प्रशासन कार्यालयलाई पनि अधिकार प्रत्यायोजन गरिएको छ । अटेरी गर्नेमाथि कानुनी कारबाही गर्ने सहमति भएको छ ।’

चर्को शुल्क लिएर उपभोक्ता ठगी गरिरहेको विषयमा उपभोक्ता संरक्षण ऐन आकर्षित हुन्छ । उक्त ऐन कार्यान्वयन गर्ने मुख्य दायित्व वाणिज्य विभागको हो । ऐनअनुसार २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ । आन्तरिक राजस्व विभागले पनि आफ्नो ऐन/नियमअनुसार अनुगमन र कारबाही गर्ने जनाएको छ । आन्तरिक राजस्व विभागअन्तर्गतका कार्यालयबाट पनि अनुगमन गर्ने जनाइएको छ । ‘आन्तरिक राजस्व विभागअन्तर्गत ८१ कार्यालय छन् । ऐन/नियमावलीअनुसार कर, जरिवाना र शुल्कको कुरा पनि छ । उल्लंघन गरेअनुसार पटकैपिच्छे एक हजारदेखि ३० हजारसम्म जरिवाना गर्न सकिन्छ,’ विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘उपभोक्ता भ्रमित हुने र कर पनि ठगी हुने हुँदा अनुगमन जरुरी पनि छ । मेनु मूल्यभन्दा बढी शुल्क असुले कारबाही हुन्छ ।’

छलफलमा व्यावसायिक छाता संगठनहरूबाट आआफ्नो संगठनमा आबद्ध सदस्य/व्यवसायीहरूलाई ऐन कार्यान्वयनमा ल्याउन सहजीकरण गर्ने पनि सहमति भएको छ । होटल–रेस्टुराँ, फास्टफुड तथा बारले उपभोक्ता एवं ग्राहकलाई उपलब्ध गराउने मेनुमा उपभोक्ता संरक्षण नियमावली ०७६ को नियम १३ (१) र मूल्य अभिवृद्धि कर नियमावली ०५३ को नियम १४ (ख) बमोजिम सम्पूर्ण कर तथा अन्य शुल्कसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्ने पनि सहमति भएको छ ।

‘बिल जारी गर्दा मूल्य अभिवृद्धि कर ऐन ०५२ तथा नियमावली ०५३ बमोजिम बिक्री मूल्य र कर रकम देखिने गरी छुट्याएर बिल बीजक जारी गर्न व्यावसायिक छाता संगठनहरूबाट सहजीकरण गर्न पनि सहमति भएको छ,’ रेबानका अध्यक्ष अरनिको राजभण्डारीले भने, ‘अनुगमनका लागि १० दिनको समय मागेका थियौं । तर एक सातापछि कडा रूपमा प्रस्तुत हुने सहमति भयो ।’

राजभण्डारीले पनि होटल–रेस्टुराँले मेनु मूल्यमाथि भ्याट असुल्नु गलत भएको बताए । सर्भिस चार्ज उठाउनुभन्दा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष पूर्णरूपमा लागू गर्नुपर्ने उनको भनाइ छ । ‘सेवा शुल्क उठाउने तर मजदुरलाई पारिश्रमिक नदिने ? यो कानुनसम्मत होइन,’ उनले भने, ‘मजदुरले पाउनुपर्ने सामाजिक सुरक्षा कोष हो । यो सबै ठाउँमा लागू गर्न आवश्यक छ ।’

सेवा शुल्क भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले पनि बन्देज गरेको छ । भारतीय रेस्टुराँले ५ देखि १० प्रतिशतसम्म सेवा शुल्क असुल्दै आएका थिए । नयाँ नियम लागू भएपछि भने अब कुनै रेस्टुराँले सेवा शुल्क लिएको खण्डमा त्यसविरुद्ध तत्कालै डिजिटल प्लेटफर्मबाटै उजुरी गर्न सकिने व्यवस्था त्यहाँ गरिएको छ । नेपालमा भने धेरैजसो होटल–रेस्टुराँमा चर्को शुल्कसँगै सर्भिस चार्जमाथि भ्याट जोडेर उपभोक्ता ठगी गरिरहेका छन् । मूल्य अभिवृद्धि कर नियमावली ०५३ को नियम १४ ‘ख’ मा पनि अतिरिक्त शुल्क लिन नपाइने प्रस्ट व्यवस्था छ । होटल–रेस्टुराँले मेनुमा उल्लिखित रकममा १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट जोडेर उपभोक्ता ठगिरहेका छन् । मूल्यकै अनुगमन गर्न साढे ८ सयभन्दा बढी निकाय छन् । तर यी निकायले प्रभावकारी अनुगमन नगर्दा सर्वसाधारण ठगिएका छन् ।

प्रकाशित : माघ ८, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

आधा उखु क्रसिङ भइसकेपछि सरकारले तोक्यो मूल्य

उद्योगीले तिर्ने मूल्य ५ सय ४० र सरकारी अनुदान ७० रूपैयाँसहित किसानले प्रतिक्विन्टल ६ सय १० रूपैयाँ पाउने, मूल्यमा किसान असन्तुष्ट
राजु चौधरी

काठमाडौँ — किसानको आधा उखु क्रसिङ भइसक्दा सरकारले बल्ल उखुको समर्थन मूल्य तोकेको छ । किसानका अनुसार उखु उद्योगहरूले मंसिर अन्तिम सातादेखि नै क्रसिङ सुरु गरिरहेका छन् । करिब ४० प्रतिशत उखु बिक्री भइसकेपछि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार चिनी उद्योगीले किसानलाई प्रतिक्विन्टल ५ सय ४० रुपैयाँ तिर्नुपर्ने छ । ‘सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनेछ,’ उनले भने । यस आधारमा अब किसानले प्रतिक्विन्टल ६ सय १० रुपैयाँ पाउनेछन् । यो मूल्य ०७८/७९ भन्दा प्रतिक्विन्टल २० रुपैयाँ बढी हो ।

सरकारले गतवर्षभन्दा प्रतिक्विन्टल २० रुपैयाँ मात्रै मूल्य बढाएपछि किसानहरू असन्तुष्ट बनेका छन् । बढ्दो महँगीले अहिलेको मूल्य अपुग हुने उनीहरूको भनाइ छ । ‘एक त मूल्य तोक्न ढिलाइ गर्‍यो । अर्कोतर्फ मलखाद, सिँचाइ, ढुवानी, मजदुरलगायत सबै क्षेत्रको मूल्य बढेको छ । किसानलाई उचित मूल्य दिलाउन कम्तीमा प्रतिक्विन्टल ६ सय ७० हुनुपर्ने हो,’ नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘सरकारी निर्णयले किसानहरू निराश छन, अहिलेको मूल्यवृद्धिअनुसार किसानलाई थेग्न सक्दैन । प्रतिक्विन्टल ६ सय ७० नभएसम्म उखु खेती कम हुँदै जान्छ ।’

उखु मुख्यतः सर्लाही, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवपरासी, कैलाली, कञ्चनपुरलगायत जिल्लामा खेती गरिन्छ । जानकारका अनुसार उखु किसानको हकहितका लागि असोज/कात्तिकमै मूल्य निर्धारण गरिदिनुपर्छ । तर, उद्योगीसँगको मिलेमतोमा ढिलाइ गरिरहेको किसानको आरोप छ । मैनालीका अनुसार डेढ महिना ढिला गरेर मूल्य तोक्दा किसानहरूले ४० प्रतिशत बिक्री गरिसकेका छन् । ती किसानहरूले उधारोमा बिक्री गरेका छन् ।

कतिपय किसानले गतवर्षकै मूल्यमा उद्योगलाई बिक्री गरेका छन । ‘मूल्य तोक्न ढिलाइ गर्दा नयाँ मूल्य पाउनेमा पनि अन्योल भइदिन्छ । केही उद्योग बेइमानी गरिदिँदा किसानले मूल्य पाउँदैनन्,’ मैनालीले भने ।

महासंघका अनुसार ०७९/८० का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिक्विन्टल ५ सय ३५ रुपैयाँ (सरकारी अनुदानबाहेक) को प्रस्ताव गरेको थियो । उक्त मूल्यमा असन्तुष्ट बनेका किसानका प्रतिनिधिहरूले सांसदहरूसँग समेत छलफल गरेका थिए । ‘१५ जना सांसद, उद्योग सचिव तोया ज्ञवालीसहितको छलफलमा मूल्यवृद्धिको आधारमा न्यूनतम मूल्य तोक्न आग्रह गरिएको थियो,’ मैनालीले भने, ‘तर, बुधबार भएको निर्णयले किसानलाई निराश बनाएको छ । १०/२० रुपैयाँ बढाएर किसानको लागत उठ्ने देखिँदैन ।’

उखुको मूल्यको हकमा कृषि मन्त्रालयले सिफारिस गर्छ । कृषिले उत्पादन लागत, ढुवानी, बजारमूल्य, मुनाफालगायत जोडेर प्रतिक्विन्टल मूल्य सिफारिस गरिन्छ । उक्त मूल्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषद्मा पेस हुन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयनमा जान्छ । राष्ट्रिय कृषि श्रमिक संघका महासचिव गोपाल यादवले किसानको उखु आधा बिक्री भइसकेको बताए ।

‘परासी क्षेत्रमा किसानको बारीमा उखु नै छैन । उद्योगीले आधा क्रसिङ गरिसके । भारतबाट उखु आएन भने अबको एक महिनामा क्रसिङ नै सकिन्छ,’ यादवले भने, ‘सरकारले निर्धारण गरेको मूल्यले लागत खर्च नै उठ्दैन । मूल्यमा सन्तुष्टि छैनौं ।’

सरकार र उद्योगीको मिलेमतोमा किसानलाई मार परेको यादवले बताए । ‘विगतमा सबैको प्रतिनिधित्व हुने गरी छलफल गरेर मूल्य सिफारिस गरिन्थ्यो । कृषि, किसान, उद्योगीहरूसहितको छलफल हुन्थ्यो,’ यादवले भने, ‘तर, यसपालि भएन ।’ सरकारले ढिला गरी मूल्य तोकिदिँदा किसानले उचित मूल्य पाउनेमा आशंका रहेको बताए । ‘वाग्मती चिनी उद्योगले दुई वर्षअघिकै मूल्य दिएको छैन । सरकारकै कारणले यसपालिको मूल्य पाउनेमा पनि अन्योल छ,’ यादवले भने, ‘अन्तिम विकल्प भनेको आन्दोलन नै हो ।’

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले चुनाव आचारसंहिताका कारण मूल्य तोक्न ढिलाइ भएको बताए । उखुको समर्थन मूल्यको प्रस्तावित फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट फिर्ता हुँदा थप ढिलाइ भएको हो ।

प्रकाशित : माघ ५, २०७९ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×