विमान नआउने विमानस्थल : कालोपत्र धावनमार्गमा गाईगोरु र बिस्कुन

कालीकोटको कोटवाडा विमानस्थल र रूकुमपश्चिमको चौरजहारी विमानस्थल कालोपत्र भएर पनि सञ्चालनमा आउन सकेनन्

सुर्खेत, कालीकोट र चौरजहारी — निर्माण सुरु भएको ३७ वर्षपछि बहुचर्चित कोटवाडा विमानस्थलमा कालोपत्र गरियो । तर ७ वर्षअघि परीक्षण उडान भएको उक्त विमानस्थलमा अहिलेसम्म उडान भएको छैन । अहिलेसम्म कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित छ । स्थानीय भने विमानस्थल कालोपत्र भएपछि जहाज आउने आशामा छन् ।

विमान नआउने विमानस्थल : कालोपत्र धावनमार्गमा गाईगोरु र बिस्कुन

स्थानीय ७५ वर्षीय नरवहादुर विष्ट ३३ वर्षको उमेरदेखि कोटवाडाको पाखो खनेर विमानस्थल निर्माणमा संलग्न थिए । उनी सुरुमा कुल्ली (कामदार) बाट विमानस्थल निर्माणमा खटिएका थिए । पछिल्लो समय मेट (कामदारको नाइके) समेत बने । ‘अहिलेजस्तो खन्ने डोजर, ढुंगा, माटो बोक्ने र टिपर भए त उहिल्यै काम सकिन्थ्यो,’ उनले भने, ‘कोदालो, साबेल, गैंचीले खनेर भैंसीको छालामा माटो बोकेर काम गर्‍यौं ।’ ०४२ सालमा निर्माण सुरु भएको विमानस्थलमा उनले सुरुदेखि नै काम गरे भने झन्डै एक महिना श्रमदान पनि गरे ।

जुँगाको रेखी बसेदेखि कोटवाडाको पाखो खन्न थालेका स्थानीय जनक विष्ट विमानस्थल कालोपत्र भएपछि खुसी छन् । उनले पनि अब विमानस्थल कालोपत्र भएसँगै जहाज आउने आशा जागेको बताए । ‘रोड (सडक) नभएको बेला एयरपोर्ट बनेको भए त धेरै सहज हुन्थ्यो,’ उनले भने, ‘अहिले गाउँसम्म सडक पनि पुग्यो, तर जहाज आए जरुरी काम हुँदा सहर जान पाइन्थ्यो ।’ कोटवाडा विमानस्थल कालीकोटवासीको सडकभन्दा पनि पुरानो सपना भएको उनको भनाइ छ ।

निर्माण सुरु भएको ३ दशकपछि ०७३ माघमा कोटवाडा विमानस्थलमा तारा एयरले परीक्षण उडान गरे पनि नियमित उडान हुन सकेको छैन । विमानस्थल कालोपत्र सकिएर यही माघ १५ सम्म हवाई प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना छ । विमानस्थलको टर्मिनल टावर, सुरक्षा भवन, शौचालय, पार्किङलगायत संरचना निर्माण भइसकेका छन् । खानेपानी, बिजुली, धावनमार्गको सुधारलगायत काम भइरहेको विमानस्थल निर्माणमा संलग्न प्राविधिक केदार केसीले बताए । ‘ठेक्काको सबै काम माघभित्र सकिन्छ,’ उनले भने, ‘फागुनबाट विमानस्थलमा विमान अवतरण गर्न सकिने अवस्था छ ।’

कालीकोटको कोटवाडा विमानस्थल । तस्बिर : तुलाराम /कान्तिपुर

विमानस्थल कालोपत्रको ठेक्का पाएको गौरी/पार्वती श्याम एन्ड शंकर जेभीले सम्झौताअनुसारको काम सकेर हस्तान्तरणको तयारी गरेको छ । कम्पनीले विमानस्थल कालोपत्रका लागि १३ करोड ८६ लाख रुपैयाँमा सम्झौता गरेको थियो । विमानस्थल सुधारमा १५ करोड १४ लाख रकम लागेको विमानस्थल कार्यालयले जनाएको छ । ६ सय ४० मिटर लम्बाइ रहेको विमानस्थल मोडिने ठाउँमा ३० मिटर र अन्यत्र २० मिटर कालोपत्र भएको छ । कोटबाडा विमानस्थल कर्णालीका मुगु, डोल्पा र हुम्लाको भन्दा लामो र फराकिलो रहेको हवाई प्राधिकरणको दाबी छ ।

विमानस्थलको लम्बाइ ६ सय ९० मिटर र चौडाइ ४० देखि ६० मिटर छ । दुवैतिरबाट विमान अवतरण र उडान गर्न सकिने कोटवाडा विमानस्थल नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, पलाता, खाडाचक्रसहितका स्थानीय तह र अछामको रामारोसनका समेत बासिन्दाका लागि आवतजावतमा सहज हुने नन्दादेवी मावि कोटवाडाका प्रधानाध्यापक रत्नसिंह साउदले बताए । ‘चिलगाडी’ चढेर जाने नरहरिनाथका बासिन्दाको वर्षौं पुरानो सपना भएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टको भनाइ छ । ‘विमानस्थल निर्माण सकियो, अब नियमित उडानका लागि पहल गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अब अछामको रामारोसन, त्रिवेणी पाटन र बडिमालिका जाने पर्यटकका लागि सहज हुनेछ ।’ सडक गाउँमा पुगे पनि बिरामी पर्दा र सुत्केरी हुन नसक्दा जहाजको उपयोग हुने उनी बताउँछन् ।

कोटवाडा विमानस्थल खन्न लागेको ३१ वर्षपछि ०७३ सालमा जहाज आए पनि जहाज पढ्ने धोको अझै पूरा नभएको नरहरिनाथ–१ का वडाध्यक्ष पुर्थी विष्टको गुनासो छ । ०४२ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार रुपैयाँ बजेटबाट काम सुरु गरिएको थियो । विष्टले पनि विमानस्थलको काम सुरु हुँदा प्रतिदिन ५ रुपैयाँ ज्यालामा काम गरेका थिए । अहिले मजदुरले दैनिक ८ सय रुपैयाँ ज्याला बुझिरहेका छन् । सशस्त्र द्वन्द्वका बेला ०५८ फागुनमा अछाम मंगलसेन आक्रमणका दोषी खोज्दै आएको सेनाले धादिङ जोगिमारा, काभ्रे, सिन्धुली र रामेछापका २८ र ७ स्थानीय गरी ३५ जनाको हत्या गरेपछि अवरुद्ध विमानस्थल निर्माणको काम शान्ति स्थापनापछि पुनः सुरु भएको थियो । कर्णाली राजमार्ग निर्माणसँगै सदरमुकाम मान्मबाट कोटवाडा जान अहिले गाडीमा ३ घण्टा लाग्छ ।

आठ वर्षपछि विमानस्थल स्तरोन्नति गरिँदै

आठ वर्षदेखि अलपत्र रुकुम पश्चिमको चौरजहारी विमानस्थलको स्तरोन्नति गरी धावनमार्गको विस्तार गर्न थालिएको छ । तर ८ वर्षअघि कालोपत्र गरिएको विमानस्थलमा जहाज चलेका छैनन् । कच्ची धावनमार्ग हुँदासम्म उडान भइरहने विमानस्थल कालोपत्र भएपछि भने ठप्प बनेको हो । अहिले विमानस्थललाई डोल्पा, जुम्ला र जाजरकोटका पर्यटन विकासमा टेवा पुर्‍याउने गरी ७२ सिटे जहाज ओर्लने क्षमता भएको हवाई मैदानमा विस्तार गर्न लागिएको कर्णाली प्रदेशका पूर्वअर्थमन्त्रीसमेत रहेका स्थानीय गोपाल शर्माले बताए । संघीय सरकारको अर्थ मन्त्रालयले त्यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । हवाई मैदानको डीपीआर गर्न र मुआब्जा वितरण गर्न ९ करोड रुपैयाँ विनियोजन गरिएको उनले जनाए ।

आठ वर्षदेखि जहाज नचल्दा सुनसान रुकुम पश्चिमको चौरजहारी विमानस्थलको धावनमार्ग । तस्बिर : हरिहरसिंह/कान्तिपुर

नेपाल पर्यटन बोर्डमार्फत विनियोजित बजेटको सदुपयोग गर्न पहल भइरहेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बताए । अहिले उत्तर–दक्षिण फैलिएको धावनमार्गलाई ७२ सिटे जहाज ओर्लन सक्ने बनाउन नाखिरागाउँसम्मको जग्गा अधिग्रहण गरिनेछ । चौरजहारी विमानस्थल ०७० फागुनदेखि ०७२ भदौसम्मको समय लगाएर कालोपत्र गरिएको थियो । ५ करोड ५९ लाख रुपैयाँ लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि त्यसयता एउटै जहाज उडेको छैन । सुरुमा नेपाल वायुसेवा निगमले जहाज नभएको भन्दै उडान बन्द गराएको थियो । अहिले भने यात्रु नभएको कारण देखाउँदै जहाज आउन छाडेका छन् । चौरजहारीस्थित नेपाल वायुसेवा निगमको कार्यालय हटाएकै ६ वर्ष भएको छ । स्थानीय अब कहिल्यै जहाज नआउने हो कि भन्ने चिन्तामा छन् । ‘कार्यालय हुँदा जहाज आइहाल्छ कि भन्ने आस हुन्थ्यो,’ स्थानीय झुपबहादुर बुढाले भने, ‘वायुसेवा निगमले कार्यालय नै हटाएपछि त्यो आस पनि मरेको छ ।’

वायुसेवा निगमले कार्यालय उठाएर नेपालगन्ज लगेपछि त्यहाँ कार्यरत जुनियर सहायक कर्मचारी सुरेन्द्र नेपालीलाई सदरमुकामस्थित सल्ले विमानस्थल पठाइएको छ । विमानस्थलको धावनमार्ग नजिकै नागरिक उड्डयन प्राधिकरणको कार्यालय र टावर छ । तर त्यहाँ लामो एयर ट्राफिक कन्ट्रोलर (एटीसी) छैन । यो टावर पनि वर्षौंदेखि ढोका लगाएकै अवस्थामा छ । विमानस्थल सुरक्षाका लागि प्रहरी चौकी भए पनि बजार गस्तीमै सीमित भएको स्थानीय कमल लामिछानेले बताए । विमानस्थल बन्द भएपछि स्थानीयले काँडेतार हटाएर बिस्कुन सुकाउने र पशुचौपाया चराउने गर्न थालेका छन् । ‘जहाज नै नभएपछि विमानस्थलको के काम ?’ उनले भने । धावनमार्ग वरिपरि झाडी उम्रिएको छ भने टावरघरमा ताला लागेको छ ।

स्थानीय गाडीबाटै जिल्ला बाहिर जान थालेपछि विमानस्थल थप ओझेलमा परेको स्थानीय अगुवा यदु आचार्यले बताए । ‘अब त चौरजहारीमा जहाज आउँछ भन्ने कुरा कथा जस्तै भयो,’ उनले भने, ‘उडान नहुँदा जरुरी काम हुने र बिरामीलाई जिल्लाबाहिर जान निकै सास्ती छ ।’ रुकुम पश्चिम, सल्यान र जाजरकोटलाई लक्ष्य गरी ०२८ सालमा विमानस्थल बनाइएको थियो । विमानस्थल पुनः सुरु नहुनुको कारणबारे आफू अनभिज्ञ रहेको निगमका जुनियर सहायक सुरेन्द्र नेपालीले बताए । ‘नियमित जहाज आएपछि यात्रु नपाइने भन्ने हुँदैन,’ उनले भने, ‘तर किन हो यहाँ जहाज पठाउन निगमलाई मुस्किल भइरहेको छ ।’

प्रकाशित : माघ ७, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?