चिनियाँ नयाँ वर्षका कारण रसुवागढी नाकाबाट आयात रोकिने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ नयाँ वर्षका कारण रसुवागढी नाकाबाट आयात रोकिने

बलराम घिमिरे

रसुवा — चिनियाँ नयाँ वर्षका कारण रसुवागढी नाकाबाट सामान आयात नहुने भएको छ । शुक्रबार बिहानदेखि नै रसुवागढी नाकाबाट व्यापारीका सामान आयात भएको छैन ।

शुक्रबार बिहानदेखि नाकाबाट सामान आयात नभएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । 'नयाँ वर्षका कारण १५ दिनसम्म सामान आयात नहुने अनौपचारिक जानकारी आएको छ,' उनले भने ।

आगामी फेब्रुअरी ३ सम्म नाकाबाट सामान आयात नहुने जानकारी आएको उनले बताए । यस नाकाबाट हुने आयात पनि न्यून मात्रामा छ । अहिले नाकाबाट दैनिक चाइनीज १४ कन्टेनर मात्र सामान आयात भइरहेकोमा हालका लागि रोकिएको हो ।

यसअघि बिहान ७ र बेलुका ७ गरी दैनिक १४ कन्टेनर मात्र सामान आयात भइरहेको थियो। बिहीबारदेखि नै केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेको रसुवाका व्यवसायी धर्म पौडेलले बताए ।

चिनियाँ नयाँ वर्षका कारण हरेक वर्ष यसै समयमा केरुङमा रहेका सरकारी कार्यालयहरु नै बन्द हुने गर्छन् । सरकारी कार्यालय नै बन्द भएपछि सामान आयात रोकिएको उनले जानकारी दिए । नेपाली सामान चीनतर्फ निर्यात हुन थालेको पनि एक महिना भएको छ । तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको हो । निर्यात खुलेको एक महिनामा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ ।

रसुवागढी नाकाबाट अहिलेसम्म करिब ६ करोड मूल्य बराबरको ३९ कन्टेनर सामान चीनतर्फ निर्यात भएको छ । सामान आयत निर्यात भए पनि मानिसको आवतजावत हुन सकेको छैन । यस नाकाबाट (कोभिड–१९) अगाडिको अवस्थामा व्यापारीका सामान सहज रुपमा आउन अझै सकेको छैन । रसुवागढी नाकाबाट आयात–निर्यात प्रभावित भएको तीन वर्ष पूरा भइसकेको छ ।

२०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात, निर्यात बन्द भएको थियो । पछि कोरोना महामारीपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात निर्यात थप प्रभावित भयो ।

पाँच महिनाभन्दा लामो समय भने कोरोना महामारीका कारण नाका ठप्प रहेको थियो । २०७७ असार २२ गतेबाट पुन: सामान आयात सुरु भए पनि निर्यात ठप्प थियो । आयात सुरु भए पनि कहिले कोरोना, कहिले पहिरो र हिमपातका कारण पटकपटक नाका प्रभावित हुँदै आएको छ ।

चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, चप्पल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामान लगायत वस्तुहरु आयात हुने गरेको छ ।

नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्रिसो, मैदा, डाल्टा घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सीको क्याण्डी, चकलेट, सख्खर, चुइगम लगायत वस्तु निर्यात हुँदै आएको थियो । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर रहेको छ ।

प्रकाशित : माघ ६, २०७९ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्

रसुवागढी खुलेपछि चीनमा बढ्यो नेपाली सामानको माग

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकाबाट चीनतर्फ निर्यात खुलेपछि तिब्बतमा नेपाली सामानको माग हुन थालेको छ । झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात हुन थालेको हो । कोरोना महामारीका कारण रोकिएको निर्यात गत मंगलबारदेखि पुनः सुरु भएको छ ।

निर्यात सुरु भएसँगै तिब्बतमा नेपाली सामानको माग हुन थालेको व्यावसायीहरूले बताए । रसुवागढी हुँदै चीनतर्फ मैदा, बेसार, खुर्सानी, बाँसका मुडा, अम्रिसोको कुचो, हस्तकलाका सामान, कस्मेटिक, चाउचाउलगायत सामान निर्यात हुँदै आएको थियो ।

तिब्बतका व्यवसायीले फोन गरेरै नेपाली सामान मगाउन थालेको कालिका गाउँपालिका–५ जीवजीवेका व्यवसायी मुकुन्द पौडेलको भनाइ छ । ‘अहिले उताका व्यवसायीबाट नेपाली सामानको माग हुन थालेको छ,’ पौडेलले भने, ‘चिनियाँ नागरिकले नेपाली सामान औधी मन पराउँछन् ।’

तिब्बतबाट सामानको माग आएपछि आफूले निर्यात गर्ने सामान संकलन गर्न थालेको पौडेलले बताए । निर्यातका लागि दुई कन्टेनर बाँसका मुडा बुक भइसकेको उनको भनाइ छ । नेपालबाट निर्यात भएका सामान ल्हासा, सिगात्से आम्दोलगायत ठाउँमा पुग्ने गरेका छन् ।

रसुवागढीबाट सामान निर्यात सुरु भएदेखि सोमबारसम्म ११ कन्टेनर सामान चीनतर्फ निकासी भइसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ । सामान लैजान चिनियाँ कन्टेनर नेपाली भूभागमै आउने गरेका छन् । एक सातामा एक करोड ३१ लाख १६ हजार नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । मूर्ति, कार्पेट, बाँसका मुडा, ह्यान्डीक्राफ्ट, तामाका सजावटका सामानलगायत वस्तु चीनतर्फ निर्यात भएको उनको भनाइ छ ।

रसुवागढी नाका हुँदै करिब डेढ सय व्यापारीले सामान निर्यात गर्दै आएका छन् । ०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयातनिर्यात बन्द भएको थियो ।

पछि कोरोना भाइरस देखा परेपछि आयात, निर्यात थप प्रभावित भयो । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । ०७७ असार २२ बाट पुनः आयात सुरु भए पनि निर्यात ठप्प थियो । आयात सुरु भए पनि कहिले कोरोना, कहिले पहिरो र हिमपातका कारण पटकपटक नाका प्रभावित हुँदै आएको छ ।

बारम्बार आइरहने यस्ता समस्याका कारण व्यापारी भने मर्कामा छन् । नाका प्रभावित भएपछि सामान आयात पनि घटेको छ । सामान आयात घटेसँगै राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले जनाएको छ ।

अहिले नाकाबाट प्रतिदिन १४ कन्टेनर मात्र चिनियाँ सामान आयात भइरहेको छ । सामान आयातनिर्यात भए पनि मानिसको आवतजावत हुन सकेको छैन । नाका सहज हुँदा मासिक ४० टनसम्म बेसार र खुर्सानी मात्रै रसुवागढी हुँदै निर्यात भएको व्यवसायी बताउँछन् ।

आर्थिक वर्ष ०७६/७७ मा रसुवागढी हुँदै ७३ करोड ३० लाख ३४ हजार मूल्य बराबरको सामान चीनतर्फ निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।

प्रकाशित : पुस २०, २०७९ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×