कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाँझो र घरघडेरी बढ्दा कृषि बालीको क्षेत्र घट्यो

सीमा तामाङ

काठमाडौँ — मुलुकमा कृषियोग्य भूमि घरघडेरीमा परिणत हुँदा र बाँझो राख्ने प्रचलन बढ्दा कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भूक्षेत्र घट्दै गएको छ । गत आर्थिक वर्ष समग्रमा देशभर कृषि बालीले ढाकेको क्षेत्र ५० लाख ६७ हजार ७३५ हेक्टर थियो । जुन अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ९ प्रतिशतले कम हो । अघिल्लो वर्ष यस्तो जग्गा ५१ लाख १४ हजार ७५९ हेक्टर थियो ।

बाँझो र घरघडेरी बढ्दा कृषि बालीको क्षेत्र घट्यो

भूक्षेत्र घटे पनि यस्ता कृषि बालीको उत्पादनमा भने शून्य दशमलव ८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन (एकीकृत) प्रतिवेदन र तालिकामा उल्लेख छ । अघिल्लो वर्ष २ करोड ३३ लाख ७८ हजार ९६ टन कृषि बाली उत्पादन हुँदा यस वर्ष २ करोड ३५ लाख ६२ हजार १६८ टन फलेको छ । मुलुकमा पूर्वाधार निर्माण गर्ने क्रम बढ्दा पनि कृषियोग्य भूमि घटिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए । प्लटिङमार्फत कृषियोग्य भूमिलाई घरघडेरीमा परिणत गर्दा र भएका जग्गाजमिन पनि बाँझो राख्ने प्रचलन बढ्दा कृषि बालीले ढाकेको भूक्षेत्र घटेको उनले स्विकारे ।

कृषि बालीले ढाकेको क्षेत्र सबैभन्दा बढी कर्णाली र सबैभन्दा कम मधेस प्रदेशमा घटेको प्रतिवेदनमा छ । गत वर्ष वाग्मतीमा खाद्य तथा अन्य बालीले ढाकेको भूक्षेत्र १.२ प्रतिशतले बढेको छ । कृषि बालीको उत्पादन भने २.२ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । सुदूरपश्चिममा कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भूक्षेत्र घटेको छ । अघिल्लो वर्ष शून्य दशमलव १८ प्रतिशतले वृद्धि हुँदा गत वर्ष ४.२ प्रतिशतले ह्रास आएको हो ।

मधेसमा पनि कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्रफल ०.१ प्रतिशतले बढेको छ । प्रदेश १ मा पनि कृषि बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष १.५ प्रतिशतले बढेको थियो । लुम्बिनीमा पनि कृषि बालीले ढाकेको क्षेत्र ०.८ प्रतिशतले घटेको छ । कर्णालीमा पनि समग्र कृषि बालीले ढाकेको क्षेत्रमा ३.२ प्रतिशतले ह्रास आएको छ । गण्डकीमा पनि १.० प्रतिशतले घटेको छ ।

समग्र कृृषि बालीको भूक्षेत्र घटे पनि मुलुकमा तरकारी, फलफूल र मसलाका उत्पादन क्रमशः ७.०, ४.९ र ५.४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन ३.९, मासु उत्पादन ४.५ र अन्डा उत्पादन ३.५ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनअन्तर्गत सबैभन्दा बढी दाउरा उत्पादन ५८.८ प्रतिशतले बढेको छ । सबैभन्दा कम काठ उत्पादन १३.१ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल भने १.६ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो क्षेत्रफल ०.९ प्रतिशतले बढेको थियो ।

खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा प्रदेश १ को हिस्सा सबैभन्दा बढी २१.१ र कर्णालीको सबैभन्दा कम ६.३ प्रतिशत छ । तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा वाग्मतीको हिस्सा सबैभन्दा बढी ५२.७ र सबैभन्दा कम कर्णालीको ४.५ प्रतिशत छ ।

फलफूल बालीले ढाकेको क्षेत्रफलमा सबैभन्दा बढी मधेसको ३४.५ प्रतिशत छ । सुदूरपश्चिममा ने ५.७ प्रतिशत मात्रै छ । मसला बालीले ढाकेको क्षेत्रफलमा प्रदेश १ को हिस्सा सबैभन्दा बढी ३९.४ प्रतिशत र गण्डकीको ७.१ प्रतिशत मात्रै छ ।

क्षेत्रफलका आधारमा फलफूलमा मात्रै मधेस अघि रहँदा उत्पादनका आधारमा भने खाद्य तथा अन्य बाली, तरकारी तथा वागवानी र फलफूलमा समेत मधेसकै वर्चस्व छ । खाद्य तथा अन्य बाली उत्पादनमा मधेसको सबैभन्दा बढी २७.३ प्रतिशत छ । सबैभन्दा भने कम कर्णालीको ४.७ प्रतिशत मात्रै छ । तरकारी तथा वागवानीमा पनि मधेस नै अघि छ । कर्णाली भने ४.५ प्रतिशतले पछि छ । फलफूलमा समेत मधेसको हिस्सा ३२.५ प्रतिशत हुँदा सुदूरपश्चिमको ६.३ प्रतिशत मात्रै छ । मसलाजन्यमा भने प्रदेश १ को सबैभन्दा बढी २७.५ प्रतिशत छ भने गण्डकीको ९.५ प्रतिशत मात्रै छ ।

हालसम्म देशभर ३ खर्ब १५ अर्ब ६१ करोड रुपैयाँ क्षेत्रगत कृषि कर्जा विस्तार भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष ४२ प्रतिशतले कर्जा विस्तार वृद्धि हुँदा गत वर्ष १४.२ प्रतिशत कर्जा विस्तार भएको हो । कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६९ अर्ब ४४ करोड कर्जा अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा प्रवाह हुँदा सबैभन्दा कम सिँचाइमा १३ करोड १ लाख रुपैयाँ मात्रै प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामा सबैभन्दा बढी वाग्मतीमा ३४.४ प्रतिशत प्रवाह हुँदा सबैभन्दा कम कर्णालीमा १.६ प्रतिशत मात्रै छ । यस्तै प्रदेश १ मा १७.३, मधेसमा १७.१, गण्डकीमा ८.९, लुम्बिनीमा १५.९ र सुदूरपश्चिममा ४.८ प्रतिशत छ ।

प्रकाशित : माघ ६, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?