प्राधिकरणले घटायो विद्युत् चुहावट, मधेस प्रदेशमा धेरै चुहावट

काठमाडौँ — पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट घटाउँदै लगेको छ । प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को मंसिरसम्म समग्र विद्युत् प्रणालीको चुहावट १२.०५ प्रतिशत छ । गत असार मसान्तसम्म यस्तो चुहावट १५.३८ प्रतिशत रहेको थियो ।

प्राधिकरणले घटायो विद्युत् चुहावट, मधेस प्रदेशमा धेरै चुहावट

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको संचित चुहावट पोहोरको तुलनामा यस वर्ष १.७४ प्रतिशत विन्दुले घटाइएको जनाएको हो । प्राधिकरणका अनुसार गत वर्ष मंसिरसम्म वितरणतर्फको विद्युत् चुहावट ९.२३ प्रतिशत थियो । मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट बिक्री भएको र ३१ करोड ७ लाख ७९ हजार युनिट चुहावट भएको प्राधिकरणको भनाइ छ ।

मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७.४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि रहेको बताए । चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर लक्ष्यभन्दा कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको उनले बताए ।

‘यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ हुँदा चुहावट घटेको हो’, घिसिङले भने । हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसन र फिडर लाइनहरुको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको लगानीको नतिजा मिल्दै गएको उनले बताए ।

सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेशमा

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरुको मंसिरसम्ममा समग्र विद्युत् चुहावट १२.८० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा १२.९७ प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४४.८३ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४३.८२ प्रतिशत थियो ।

रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत चुहावट ४०.५५ प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट ७.२२ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३७.८२ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट ३९.८० प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ३७.६१ प्रतिशत रहेकोमा यस वर्ष ३४.५१ प्रतिशत रहेको छ ।

प्रकाशित : माघ ५, २०७९ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?