माइक्रोसफ्टले गर्‍यो हजारौं कर्मचारी कटौतीको घोषणा

एजेन्सी

काठमाडौँ — अमेरिकी धनाढ्य बिल गेट्सको चर्चित कम्पनी माइक्रोसफ्टले बुधबार दस हजार कर्मचारीहरूलाई अवकाश दिने घोषणा गरेको छ । अमेजनले ८ हजार, सेल्सफोर्सले ८ हजार, क्वाइनबेसले झण्डै एक हजार लगायत कर्मचारी अवकाश दिने घोषणा गरेलगत्तै माइक्रोसफ्टले पनि ठूलो संख्यामा कर्मचारी कटौतीको घोषणा गरेको हो ।

माइक्रोसफ्टले गर्‍यो हजारौं कर्मचारी कटौतीको घोषणा

कोभिड-१९ लकडाउनपछि अकासिएको माग घट्दै जानु र विद्यमान आर्थिक मन्दीलाई पनि यसको कारण मानिएको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाद्वारा जारी एक मेमोमा भनिएको छ, 'हामी चुनौतिपूर्ण समयमा छौं र त्यसको लागि मार्चको अन्त्यसम्ममा हामी पूरा कर्मचारी संख्याको ५५ भन्दा कम कटौती गर्दैछौँ । यसको साटो हामी रणनीतिक महत्वका क्षेत्रमा नयाँ कर्मचारी थप्दै पनि जानेछौं ।' माइक्रोसफ्टका विश्वभर लगभग २ लाख २१ हजार कर्मचारीहरू छन्, जसमा सन् २०१९ यता भर्ती गरिएका मात्रै झण्डै ७५ हजार कर्मचारीहरू थिए । यसअघि माइक्रोसफ्टले सन् २००८ को मन्दीपछि झण्डै ५८०० र सन् २०१४ मा नाडेला प्रमुख कार्यकारी नियुक्त हुनेबित्तिकै १८००० कर्मचारी कटौती गरेको थियो ।

सन् २०२२ को मार्चबाट शुरू भएको प्रविधी कम्पनीहरूको कर्मचारी कटौतीकै निरन्तरताको रूपमा यी कटौतीलाई हेरिएका छन् जसको क्रममा गत वर्षमा मात्रै एक लाख ५४ हजार जनाले आफ्नो रोजगारी गुमाएका थिए । कर्मचारी कटौतीको रेकर्ड राखिरहेको लेअफ्स डट एफवाईआईले सिलिकन भ्याली समेतका १ सयवटा कम्पनीले सन् २०२३ शुरु भएयता मात्रै लगभग ३० हजार हाराहारीमा कर्मचारी कटौती गरिसकेको सार्वजनिक गरेको छ ।

कोलम्बिया बिजनेश स्कुलका एसोसियट प्रोफेसर ड्यानिएल किम कोभिड महामारीपछिको डिजिटल आकर्षण घट्नु मात्रै नभएर महँगो ब्याजदरलाई पनि कम्पनीहरूको यस्तो कदमको कारक मान्छन् । 'यी ठूला प्रविधि कम्पनीहरूसँग नगद नभएर वा कमाइ असाध्यै खस्केर यस्तो कदम चालिएको होइन,' उनी भन्छन्, 'कम्पनीहरूले नयाँ तथा जोखिमपूर्ण क्षेत्रहरूमा ठूला लगानी गरिरहेका छन् जुन एकदमै महँगो हुँदै गएको छ । यही कारण कम्पनीहरू बिस्तारै खर्च कटौती गर्दैछन् ।' माइक्रोसफ्ट आफैँ पनि आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ओपनएआईमा उल्लेख्य लगानी गरीरहेको छ जसका दुई प्लेटफर्म डेलई र च्याटजीपीटी अहिले एकदमै चर्चित छन् । माइक्रोसफ्टका प्रमुख नाडेलाले आफ्नो घोषणामा यस्ता प्लाटफर्महरूलाई 'कम्प्युटिङको आगामी प्रमुख क्षेत्र' भनेका छन् ।

लेअफ्सका सञ्चालक रोजर ली र प्राध्यापक किम दुबैजना कर्मचारी कटौतीको ट्रेन्ड यो वर्ष मझौला तथा साना प्रविधि कम्पनीहरूमा अझै फैलिने अनुमान गर्छन् ।

प्रकाशित : माघ ५, २०७९ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?