बजेट कम भएपछि टिंकर सडक निर्माण सुस्त

मनोज बडू

दार्चुला — नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोरको कोठेधार–टिंकर सडक खण्डमा बजेट अभाव भएको छ । सेनाले चालु आर्थिक वर्षमा लक्ष्यअनुसारको काम गर्न २५ करोड बजेट मागे पनि सरकारले कम बजेट उपलब्ध गराएपछि कामको गति घटेको छ ।

चालु आर्थिक वर्षमा सेनालाई यहाँको ट्र्याक खोल्न ९ करोड बजेट आएको थियो । उक्त बजेट अति कम भएको कोठेधार–टिंकर सडक आयोजनाका प्रमुख शिव केसीले बताए । यस सडक खण्डका ७/८ ठाउँमा काम भइरहेको छ ।

‘कामलाई तीव्र गतिमा अघि बढाउन बजेट पर्याप्त छैन । अहिले मकर संक्रान्ति पर्व मनाउन स्थानीय कामदार घर जाने क्रम चलेको छ,’ उनले भने । यस सडकखण्डमा करिब २ सय हाराहारीमा सेनाबाहेकका स्थानीयले दैनिक ज्यालादारीमा मजदुरी गरिरहेका छन् । बजेट अभावका कारण धेरैलाई ज्याला दिन सकिने अवस्था छैन । अहिले चट्टानी भूभागमा काम भइरहेकाले मेसिनको प्रयोग बढी भएको छ । आवश्यकताअनुसार सेना र सिभिल कामदार परिचालन गरिएको केसीको भनाइ छ ।

अहिले बजेट अभाव भएको भन्दै निर्माणको गति घटाएको स्थानीय जसमल विष्टले बताए । २५/३० जनाको समूह बनाएर सेनासँगै स्थानीयले मजदुरी गरिरहेका थिए । दुई/तीन दिनअघि सेनाले मजदुरको संख्या घटाउन समूहका नाइकेहरूलाई निर्देशन दिएको सुनेको उनको भनाइ छ । ‘सरकारले बजेट कम दिएको छ, कामदार घटाउन नाइकेहरूलाई भनेको सुनेका छौं,’ विष्टले भने, ‘केही दिनअघि टाढाबाट मजदुरी गर्न साइटमा पुगेका छन् । उनीहरूलाई अलपत्र पारिने जस्तो देखिएको छ ।’

गत वर्ष सेनाले करिब साढे ८ किलोमिटर सडकको ट्र्याक खोलेको आयोजना प्रमुख केसीले जनाए । हालसम्म १० किमिभन्दा बढी ट्र्याक खोलिसकिएको उनको भनाइ छ । सेनाले तोसरपानी, माल, कोठेधार, साङक्नाडी, दुम्लिङ, फुल्चिङ, आङदुक्ति, घट्टेखोला, कल्जुलगायतका ठाउँमा काम गरिरहेको छ । ठाउँ–ठाउँमा सडक ट्र्याक खोल्ने काम भइरहेको स्थानीय अरबिन्द्रसिंह विष्टले बताए । केही दिनमा तम्बाकुमा पनि सडकको ट्र्याक खोल्ने काम सुरु गर्ने तयारी रहेको उनको भनाइ छ । गत साता हेलिकोप्टरबाट मेसिन ढुवानी गरेर सेनाले ठाउँ–ठाउँमा पुर्‍याएर सडकको ट्र्याक खोल्ने काम गरिरहेको छ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने कोठेधार–टिंकर सडक खण्डमा सडकको ट्र्याक खोल्ने काम प्रभावित भएको कुनै जानकारी प्राप्त नभएको र नियमित निर्माण चलिरहेको बताए । अघिल्लो साता मात्र हेलिकोप्टरबाट ठाउँ–ठाउँमा ट्र्याक खोल्न मेसिन ढुवानी गरिएका छन् । अब उक्त सडक खण्डमा कामको गति बढ्न सक्ने उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा टिंकर सडकको ट्र्याक खोल्न मागअनुसारको बजेट सरकारबाट प्राप्त हुन नसकेको उने उनले स्विकारे । ‘बजेट थप मागिएको छ । सरकारले बजेट थपे टिंकर सडक निर्माण अझ राम्रो गतिमा अघि बढाउन सकिन्छ,’ उनले भने ।

अघिल्लो महिनादेखि दुम्लिङदेखि माथिल्लो क्षेत्रमा ट्र्याक खोल्ने काम भएको आयोजना प्रमुख केसीले जनाए । कल्जु, तम्बाकुमा ट्र्याक खोल्न मेसिन ढुवानी गरिएको छ । केही महिनापछि दोपखे, पोला, बुदी क्षेत्रमा पनि ट्र्याक खोल्ने तयारी भइरहेको उनको भनाइ छ । माथिल्लो क्षेत्रमा हिमपात हुने भएकाले अहिले तीव्र गतिमा काम गर्नुपर्ने बाध्यता छ । वैशाखदेखि दोपखे–बुदी क्षेत्रमा काम गर्न थिमा सेनाको क्याम्प राख्ने काम भइरहेको छ । ‘त्यसयता तम्बाकु तलको क्षेत्रमा ट्र्याक खोल्ने काम हुन्छ,’ उनले भने, ‘माथिल्लो क्षेत्रमा जाने तयारीमा पनि सेना जुटेको छ । त्यसका लागि थिमा क्याम्प राखिरहेका छौं ।’

व्यास गाउँपालिका–२ स्थित थी क्षेत्रमा नेपाली सेनाले क्याम्प राख्ने भएको छ । कोठेधार–टिंकर सडक खण्डको काम गर्न यहाँ क्याम्प राख्न लागिएको सेनाले जनाएको छ । यसअघि पनि सेनाले तम्बाकु क्षेत्रमा घोडेटो बाटोको चट्टान फुटाउन थी क्षेत्रमा क्याम्प राखेर काम गरिसकेको छ । गत साता थीमा सेनाको बेसक्याम्प निर्माण गर्न हेलिकोप्टरमार्फत सामान ढुवानी गरिएको छ । सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरले यस क्षेत्रमा बेसक्याम्प निर्माणका लागि निर्माण सामग्री झारेको नेपाली सेनाको विकास निर्माण कार्यदलले जनाएको छ ।

सेनाले दुई वर्षदेखि दार्चुला–टिंकर सडक निर्माण गर्दै आएको छ । सेनाको निर्माण कार्यदल आयोजनाको कार्यालय सुन्सेराबाट सडक निर्माण हुने विभिन्न ठाउँमा कम्प्रेसर मेसिनलगायत अन्य निर्माण सामग्री हेलिकोप्टरले ढुवानी गरेको हो । दार्चुला सदरमुकामदेखि टिंकर नाका जोड्न १३२ किमिमध्ये ८७ किमि

क्षेत्रमा नेपाली सेनाको विकास निर्माण कार्यदलले निर्माणको काम गरिरहेको छ । व्यास गाउँपालिका–३ तुसरपानीदेखि टिंकरसम्मको ८७ किमिमध्ये अहिलेसम्म करिब १० किमि सडकको ट्र्याक खोलिएको छ ।

प्रकाशित : माघ ५, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

८१ प्रतिशत सुत्केरी ‘घरमै असुरक्षित’

कान्तिपुर संवाददाता

मकवानपुर — मकवानपुरको चैनपुरमा अधिकांश गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । सुत्केरी व्यथा लागे पनि गाउँका चेपाङ झाँक्री ल्याएर ढ्यांग्रो ठोक्दै झारफुक गर्ने गरिएको छ । 


राक्सिराङ गाउँपालिका–५ ताङराङकी २६ वर्षीया शर्मिला चेपाङलाई व्यथाले च्यापे पनि स्वास्थ्य संस्था लगिएन । धामीझाँक्री लगाएर घरमै बच्चा जन्माइन् । यो उनको चौथो सन्तान हो । उनले गर्भ परीक्षण पनि गराइनन् । स्वास्थ्यचौकीमा सुत्केरी भयो भने भत्ता पाइन्छ भन्ने उनलाई र परिवारलाई नै जानकारी छैन ।

‘गाउँमा सुत्केरी घरमा नै हुन्छन्, अस्पताल लैजाँदैनौं,’ स्थानीय बलराम चेपाङले भने, ‘अस्पताल टाढा छ, कसरी लैजानु, हाम्रा छोराछोरी पनि घरमा नै जन्मेका हुन् ।’

चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङका १९ प्रतिशत गर्भवती मात्र बर्थिङ सेन्टरमा सुत्केरी हुने गरेका छन् । ९ वटा वडामा विभाजित राक्सिराङमा एक वर्षमा ७ सय जना गर्भवती हुने अनुमान गाउँपालिका स्वास्थ्य शाखाले गरेको छ । गत आर्थिक वर्षमा सात सय गर्भवतीमा १ सय ३५ जनामात्र स्वास्थ्य संस्थामा सुत्केरी हुन आएको स्वास्थ्य संयोजक विजयकुमार कापरीले जानकारी दिए । अशिक्षा, अन्धविश्वास र परम्परागत चिन्तनका कारणले करिब ८१ प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गरेका उनले बताए ।

गाउँपालिकाको केन्द्र रहेको चैनपुरस्थित बर्थिङ सेन्टरमा ६ महिनामा १३ जनामात्र सुत्केरी भएका छन् । तीमध्ये ५ जना १४ देखि १९ वर्षसम्मका छन् । गर्भ परीक्षण गराउन १५ जना मात्र आएका छन् । राक्सिराङमा चारवटा बर्थिङ सेन्टर छन् । सबै वडामा स्वास्थ्य संस्था छन् । संस्थामा सुत्केरी हुनेलाई सवारीसाधनको भाडासहित थप ३ हजार रुपैयाँ दिने गरिएको छ ।

कैलाश गाउँपालिकामा पनि एक वर्षमा साढे ६ सय जना गर्भवती हुने अनुमान गरिएकामा १ सय १० मात्र स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । स्वास्थ्य निर्देशनालय हेटौंडाका अनुसार मकवानपुरका ५८ प्रतिशत गर्भवती घरमै असुरक्षित ढंगले सुत्केरी हुने गरेका छन् ।

प्रकाशित : माघ ५, २०७९ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×