रेस्टुराँमा मेनु मूल्यको नियमन कसैले गरेनन्- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रेस्टुराँमा मेनु मूल्यको नियमन कसैले गरेनन्

मेनु मूल्यको नियमन गर्ने निकाय नभएका होइनन् । मूल्यकै अनुगमन गर्न साढे ८ सयभन्दा बढी निकाय छन् । तर यी निकाय मौन बसिदिँदा प्रतिदिन सर्वसाधारण ठगिएको ठगियै छन् । 
राजु चौधरी

काठमाडौँ — होटल तथा रेस्टुराँले मेनु मूल्यमाथि चर्को शुल्क लगाएर सर्वसाधारण ठगिरहेका छन् । मेनु प्राइसबाहेक अन्य शुल्कलाई ऐनले रोके पनि धेरैजसोले सेवा शुल्क र भ्याटका नाममा रकम असुलिरहेका छन् । मेनु मूल्यको नियमन गर्ने निकाय नभएका होइनन् । मूल्यकै अनुगमन गर्न साढे ८ सयभन्दा बढी निकाय छन् । तर यी निकाय मौन बसिदिँदा प्रतिदिन सर्वसाधारण ठगिएको ठगियै छन् । 

मापदण्ड बनाएर वस्तुको मूल्य नतोक्दा सर्वसाधारण ठगिएको जानकार बताउँछन् । तर तत्काल अनुगमन र केहीलाई जरिवाना गरे मूल्य नियन्त्रण हुने उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

‘केन्द्रीय स्तरमा अनुगमन गर्ने मुख्य दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकै हो । पालिकाहरूले पनि अनुगमन गर्नुपर्छ, अनुगमनका क्रममा उपभोक्ता ठगेको देखिए तत्काल २/३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार छ,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘दुई/चार दिन व्यापक अनुगमन र कारबाही गरे बजार स्वतः सुध्रिहाल्छ । तर नियमनको अधिकार पाएका निकाय सुस्त भइदिए ।’

पालिकाहरूले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन बनाएका छन् । उपभोक्ता संरक्षण ऐनअनुसार वाणिज्य विभागले स्थानीय तहमा निरीक्षक तोकेको छ । तर पनि होटल–रेस्टुराँमा अनुगमन हुन सकेको छैन । यी क्षेत्रमा अनुगमन नहुँदा होटल–रेस्टुराँले उपभोक्ता संरक्षण ऐन, ०७५ र मूल्य अभिवृद्धि कर ऐन, ०५२, मूल्य अभिवृद्धि कर नियमावली–०५३ र सर्वोच्च अदालतको आदेशविपरीत ‘मेनु प्राइस’ मा थप शुल्क असुलिरहेका छन् ।

समग्र बजार अनुगमन देखावटी रूपमा मात्रै हुँदा समस्या भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘उपभोक्ता संरक्षण ऐनअनुसार ७७ वटै सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमनको अधिकार छ, तिनले ऐन कार्यान्वयन गर्न सक्छन् । ७ सय ५३ पालिकामा निरीक्षण अधिकृत तोकिएको छ । अनुगमन गर्नकै लागि स्थानीय तहको आफ्नै कानुन पनि छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘तर होटल–रेस्टुराँको मेनु प्राइसमा अनुगमन भएन । बजार अनुगमन भए पनि देखावटी मात्रै भयो ।’

अनुगमनका लागि सातै प्रदेशमा रहने उपभोक्ता हित निर्देशनालय पनि छ । तर उसको काम पनि सुस्त नै छ । ‘कुनै पनि पालिकाले आफ्नोअन्तर्गतको अनुगमन गर्न सकेको छैन । केन्द्रीय कानुन कार्यान्वयन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र वाणिज्य तथा आपूर्ति मन्त्रालय हुन्,’ तिमिल्सिनाले भने, ‘अनुगमनमा यी निकाय चुक्दा बजार भद्रगोल भयो । त्यसको फाइदा बिचौलियाले उठाइरहे ।’

उपभोक्तालाई ठगिनबाट जोगाउन सरकारले तत्काल मापदण्ड बनाएर लागतका आधारमा वस्तुको मूल्य तोक्नुपर्ने तिमिल्सिनाले बताए । ‘अहिले प्रयोग भइरहेको वस्तुको गुणस्तरमा पनि प्रश्न छ । गुणस्तरको विषय खाद्य प्रविधिले हेर्ने हो । तर मूल्यमा वाणिज्यले नै हेर्नुपर्छ,’ उनले भने, ‘उपभोक्ताले गुणस्तरीय वस्तु उचित मूल्यमा पाए, नपाएको यकिन गर्न मापदण्ड अनिवार्य छ ।’

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि मूल्य नियन्त्रणको दायित्व वाणिज्यकै भएको बताए । ‘मेनुमाथि थप शुल्क असुल्नेलाई उपभोक्ता संरक्षण ऐनसँगै कालोबजारी ऐन लगाएर कारबाही गर्न सकिन्छ । करिब ८/१० वर्षअघि वाणिज्यले होटलसम्बन्धी निर्देशिका नै जारी गरेको छ,’ उनले भने, ‘तर विभाग स्वयंले ऐन नियम कार्यान्वयन गरेको देखिएन ।’

वाणिज्य विभागसँगै स्थानीय तह र प्रशासनले आफ्नो दायित्व पूरा नगरिदिँदा उपभोक्ता ठगिएको महर्जनको बुझाइ छ । ‘यो दायित्व आन्तरिक राजस्व विभागको पनि दायित्व हो । तर उसले कर उठाउनेबाहेक केही काम गरेन । एक पटक भ्याट लागेको वस्तुमा पुनः भ्याट लाग्दैन । सर्भिस चार्जमा भ्याट लाग्दैन । तर वस्तुको मूल्यसँग जोडेर सर्भिस चार्ज, त्यसमा पनि भ्याट जोडेर ठगी भइरहेको छ,’ महर्जनले भने, ‘यो व्यापक ठगी हो ।’

मूल्य अभिवृद्धि कर नियमावली ०५३ अनुसार ‘मेनु प्राइस’ बाहेक भुक्तानी गर्नुपर्दैन । ठूला होटलमा बास बस्दा मेनुमा उल्लेख गरिएको रकमबाहेक अतिरिक्त तिर्नुपर्दैन । मेनुमा उल्लिखित रकममा १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट जोडेर उपभोक्ता ठगिइरहेका छन् । काठमाडौं जिल्ला अदालतले मेनुबाहेक अतिरिक्त रकम लिन नपाउने फैसला गरिसकेको छ । जिल्ला अदालतले ०७९ भदौ पहिलो साता गरेको फैसलामा मेनुमा अतिरिक्त रकम जोड्ने कार्य उपभोक्ता संरक्षण ऐन, ०७५ र मूल्य अभिवृद्धि कर ऐन, ०५२ विपरीत भएको ठहर गरेको थियो ।

मेनु मूल्यमाथिको नियमनमा आफूहरूको ध्यान नपुगेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले स्विकारे । यस बिषयमा संयोजक तोकेर अनुगमन गरिने उनको भनाइ छ । ‘सर्भिस र भ्याट शुल्क लिन नपाउने भनिए पनि होटल–रेस्टुराँले लिइरहेका छन्, महानगरपालिकासँग आफ्नै अनुगमन टोली पनि छ,’ उनले भने, ‘संयोजक तोकेर मूल्यको अनुगमन गर्छौं ।’ मेनु मूल्यमाथि अतिरिक्त मूल्य नलिन वाणिज्यले कात्तिक २ मा सूचना प्रकाशन गरेको थियो । उल्लिखित मूल्यमा कुनै किसिमको अतिरिक्त रकम लिए उपभोक्ता संरक्षण ऐन ०७५ तथा नियमावली ०७६ बमोजिम कारबाही गरिने जनाएको थियो । तर कारबाही सूचनामा मात्रै सीमित भएको छ । सर्वसाधारण ठगिए पनि होटल–रेस्टुराँलाई अनुगमन र कारबाही गरिएको छैन ।

वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले पनि मेनु मूल्यभन्दा बढी शुल्क लिन नपाइने बताए । अदालतबाट पनि आदेश आइसकेको विषयमा प्रभावकारी नियमन नहुँले उपभोक्ता मारमा परिरहेको उनको भनाइ छ ।

‘उपभोक्ता र मूल्यको विषय वाणिज्य विभागले हेर्नुपर्छ । करको विषयमा आन्तरिक राजस्व विभागले हेर्ने हो । अदालतको आदेश करिब ५० प्रतिशत कार्यान्वयन भएको छ,’ उनले भने, ‘मूल्यका विषयमा भने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेशमा रहेका उपभोक्ता हित निर्देशनालयले गर्नुपर्छ ।’ होटल रेस्टुराँले अतिरिक्त शुल्क लिएको प्रमाणसहित उजुरी परे कारबाही गरिने उनको भनाइ छ ।

प्रकाशित : माघ ४, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

सेजभित्रका उद्योगलाई थप सुविधाको प्रस्ताव

विशेष आर्थिक क्षेत्र ऐन ०७३ लाई संशोधन गर्न बनेको विधेयक प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत
संसद्‌बाट विधेयक पारित भएपछि कार्यान्वयनमा आउने
राजु चौधरी

काठमाडौँ — विशेष आर्थिक क्षेत्र प्राधिकरणले सेजमा आउन चाहने उद्योगलाई सुविधै सुविधाको प्रस्ताव गरेको छ । प्राधिकरणले विशेष आर्थिक क्षेत्र ऐन–०७३ लाई संशोधन गरेर उत्पादन, ऋण, निर्यातसँगै भाडा दरमा थप सुविधा दिन प्रस्ताव गरेको हो । आयात प्रतिस्थापन र निर्यातलाई प्राथमिकता दिन थप सुविधा प्रस्ताव गरिएको हो ।

सञ्चालक समितिको २८ औं बैठकले सुविधा दिनेबारे निर्णय गरिसकेको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जनाए । सञ्चालक समितिबाट स्वीकृत विधेयक कानुन मन्त्रालयमार्फत संसद्मा पेस गरिनेछ । संसद्बाट पारित भए थप सुविधाको बाटो खुला हुने भट्टले बताए ।

‘मुख्यतः निर्यातमा ध्यान दिएका छौं । सेजभित्र रहेका उद्योगको भाडा दरको कुरा पनि छ । पर्याप्त सुविधा नहुँदा उद्योग उत्साहित भएनन् । निर्यात बढाउन सुविधा आवश्यक छ,’ उनले भने, ‘सुविधा थप्नेबारे ०७९ असोज ३० को सञ्चालक समितिबाट स्वीकृत भइसकेको छ । अब संसद्बाट पारित भए कार्यान्वयनमा जानेछ ।’ सेजमा स्थापित उद्योगबाट उत्पादन सुरु गरेको दुई वर्षसम्म निर्यातमा छुट दिने सञ्चालक समितिको निर्णय छ । सेजमा रहेका उद्योगले उत्पादन गरेको वस्तु वा सेवा दुई वर्षसम्म निर्यात गर्नुपर्दैन । तेस्रो वर्षमा भने उत्पादित वस्तु वा सेवा कम्तीमा २० प्रतिशत निर्यात गर्नुपर्ने विधेयकमा उल्लेख छ । चौथो वर्षमा उत्पादित वस्तु वा सेवाको कम्तीमा ४० र चौथो वर्षपछि हरेक वर्ष उत्पादित वस्तु वा सेवाको कम्तीमा ६० प्रतिशत अनिवार्य निर्यात गर्नुपर्ने विधेयकमा उल्लेख छ । तर अनुमतिपत्रवालाले उत्पादन सुरु भएको पहिलो वर्षदेखि नै उत्पादन तथा सेवाको शतप्रतिशत परिमाणसम्म निर्यात गर्न बाधा पर्ने छैन ।

अहिलेको नियमअनुसार सेज स्थापना भएको पहिलो वर्ष मात्र निर्यात गर्नु नपर्ने भट्टले जनाए । तर, दोस्रो वर्ष ६० प्रतिशत निर्यात गर्नुपर्छ । ‘ंसंशोधित विधेयकमा दुई वर्ष निर्यातमा छुट दिन खोजेका छौं । तेस्रो वर्षमा पनि निर्यात गर्नुपर्ने परिमाण कम नै छ,’ उनले भने, ‘यसरी छुट हुँदा उद्योगलाई प्रोत्साहन मिल्छ ।’

संशोधन गर्न बनेको विधेयकमा कुनै उद्योगले कुनै वर्ष तोकिएको न्यूनतम निर्यात सीमा पुर्‍याउन नसकेको अवस्थामा त्यसपछिको लगातार दुई वर्षभित्र अघिल्ला वर्षको नपुग निर्यात सीमा समायोजन गर्न सक्ने उल्लेख छ । उद्योग सञ्चालनमा आएको मितिले दुई वर्षसम्म त्यस्ता उद्योगबाट उत्पादन गरेको वस्तु वा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्न सक्नेछन् ।

तर नेपालको आन्तरिक बजारमा बिक्री गर्ने भए वस्तु वा सेवा बिक्री गर्नुअघि तोकिएका विषय खुलाई त्यसको जानकारी प्राधिकरणलाई दिनुपर्नेछ ।

तर, नेपालको आन्तरिक बजारमा वस्तु वा सेवा बिक्री गर्ने अनुमतिपत्रवालालाई वस्तु वा सेवा बिक्री गरेको परिमाणको हदसम्म ऐनबमोजिमको कर छुट तथा सुविधा प्रदान हुँदैन ।

जग्गा वा भवनको बहाल वा लिजमा छुटको व्यवस्था गर्न सञ्चालक समितिले निर्णय गरेको छ । उद्योगले प्रयोग गरेको जग्गा वा भवनको बहाल वा लिजबापत बुझाउनुपर्ने रकममा उद्योग स्थापना भएको पहिलो, दोस्रो र तेस्रो वर्षका लागि क्रमशः ७५, ५० र २५ प्रतिशतका दरले छुट पाउनेछन् । अहिले पहिलो वर्ष ५०, दोस्रो ४० र तेस्रो वर्षमा २५ प्रतिशतका दरले छुटको व्यवस्था छ । छुट सुविधा २५ प्रतिशतसम्म बढाउने सञ्चालक समितिले निर्णय गरेको हो । ‘न्यूनतम हदभन्दा प्रत्येक वर्ष जति प्रतिशत बढी उत्पादित वस्तु तथा सेवा निर्यात हुन्छ, उद्योगले सोही प्रतिशत बराबर त्यस वर्षको जग्गा बहालमा छुट पाउनेछन्,’ उनले भने । महिला उद्यमीद्वारा प्रवर्द्धन गरी सञ्चालन गरिएका उद्योगका हकमा छुटमा थप १५ प्रतिशत छुट दिइने जनाएको छ । ऋण लिन पनि सुविधा दिने निर्णय सञ्चालक समितिले गरेको छ । विशेष आर्थिक क्षेत्रको बहालमा लिएको जग्गामा लगानीकर्ताले स्थापना गरेको उद्योगसँग सम्बन्धित संरचना, भवन, मेसिनरी, औजार धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा लिन सक्ने पनि जनाइएको छ ।

भाडा र निर्यातमा छुट पाउने आशाले भैरहवा विशेष आर्थिक क्षेत्र र सिमरा विशेष आर्थिक क्षेत्रमा गरी करिब १० अर्ब रुपैयाँ लगानी प्रस्ताव आइसकेको छ । प्राधिकरणका अनुसार ३३ उद्योग तथा व्यक्तिले ९ अर्ब ९४ करोड रुपैयाँको प्रस्ताव गरेका हुन् । दुवै क्षेत्र गरी ४ हजार २ सय ५१ रोजगारी सिर्जना गर्ने प्रस्ताव आएको प्राधिकरणले जनाएको छ ।

भैरहवा सेजमा ४५ प्लटका लागि आवेदन खुला भए १३ प्लटको ओभर डिमान्ड भएको थियो । विशेष आर्थिक क्षेत्रले भौतिक पूर्वाधार, आन्तरिक सडक, पानी, विद्युत्, सुरक्षा, पेट्रोलियम पम्प, धर्मकाँटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक र बिमाको सुविधा उपलब्ध छ । उद्योगलाई प्रोत्साहन गर्न थप सुविधा दिने सञ्चालक समितिको निर्णय छ । समयमै सम्झौता नगर्ने उद्योगीको हकमा भने प्राधिकरणले कडाइ गरेको छ । उद्योग स्थापना गर्न अनुमति पाएका मितिले १ सय २० दिनभित्र सम्झैता नगरे अनुमतिपत्र स्वतः खारेज हुने जनाएको छ ।

‘अनुमतिवालाले अनुमतिपत्र पाएको मितिले १ सय २० दिनभित्र उद्योग दर्ता गरी सम्झौता नगरे प्राप्त अनुमतिपत्र स्वतः रद्द हुनेछ,’ भट्टले भने । यसअघि दिन तोकिएको थिएन । इजाजतको अनुमति लिएर उद्योगीहरू होल्डमा बस्न थालेपछि सम्झौता गर्न समय सीमा नै तोकिदिएको भट्टले जनाए ।

प्रकाशित : माघ २, २०७९ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×