१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टेक कम्पनीले कर्मचारी हटाउने क्रम रोकिएन

काठमाडौँ — गत वर्ष सिलिकन भ्याली तथा अन्य क्षेत्रका प्रविधि स्टार्टअप कम्पनीले झन्डै १ लाख ५० हजार कर्मचारीलाई अवकाश दिएका थिए । यसरी अवकाश दिनेमा बाइजुज (१५ हजारभन्दा बढी), मेटा (११ हजारभन्दा बढी), ट्वीटर (३७ सयभन्दा बढी), अमेजन (१० हजारभन्दा बढी), माइक्रोसफ्ट, लिफ्ट, अल्फाबेट, टेस्ला, सपिफाइ, नेटफ्लिक्सलगायत दर्जनौं कम्पनी थिए ।

टेक कम्पनीले कर्मचारी हटाउने क्रम रोकिएन

सिलिकन भ्याली र अन्य क्षेत्रका प्रविधि स्टार्टअप र उद्यमीका लागि सन् २०२२ कठिन वर्ष थियो । बढ्दो आर्थिक मन्दी र कोभिड महामारीका कारण प्रविधि क्षेत्रमा बढेको लगानी र अवसरको आकर्षण घट्दै गएपछि सुरु भएको कर्मचारी हटाउने ट्रेन्ड यस वर्ष पनि जारी रहने संकेत देखिएको छ । वर्ष २०२३ को सुरुमै यो ट्रेन्ड अझै आक्रामक रूपमा देखापरेको छ । क्रन्चबेस न्युज डेलीमा प्रकाशित एक रिपोर्टका अनुसार २०२३ को पहिलो सातामै अमेरिकाका ३० वटा टेक कम्पनीले २१ हजारभन्दा बढी कर्मचारीलाई अवकाश दिएका छन् ।

यो वर्ष धेरै कर्मचारी हटाउनेमा क्लाउड सफ्टवेयर कम्पनी सेल्सफोर्स (८०००), प्रख्यात ई–कमर्स प्लाटफर्म अमेजन (१८ हजारभन्दा बढी), क्रिप्टो कम्पनी क्वाइनबेस (१ हजार १ सय) लगायत छन् । यी ठूला कम्पनीलाई पछ्याउँदै अन्य टेक कम्पनीले पनि कर्मचारीलाई अवकाश दिने क्रम सुरु गरेका छन्, जसमा एडोबी, चाइम फाइनान्सियल, भिमियो, क्रिप्टो बिक्रेता हुओवीलगायत कम्पनी छन् । यो त सुरुवात मात्रै भएको र भविष्यमा यो क्रम अझै बढ्ने विज्ञहरू बताउँछन् ।

सिस्को सिस्टम्स, एचपी, ट्वीटर, सिगेटजस्ता कम्पनी निकट भविष्यमै थप कर्मचारीलाई अवकाश दिने तयारीमा रहेको याहु फाइनान्सका सिमोन्ट हन्टको अनुमान छ । आर्थिक मन्दी, बढ्दो प्रतिस्पर्धा र घट्दो प्रतिस्पर्धासँगै टेक कम्पनीहरूको सेयर मूल्यमा गएको वर्ष ठूलो गिरावट आएको थियो । उदाहरणका लागि टेस्लाको सेयर मूल्य ६५ प्रतिशतले खस्केको थियो । मेटा (६४ प्रतिशत), पेपाल (६२ प्रतिशत), नेटफ्लिक्स (५२ प्रतिशत) र जुम टेक्नोलोजिज (५४ प्रतिशत) का सेयर मूल्यमा पनि कमी आएको थियो ।

बिल गेट्स, जेफ बेजोज, ल्यारी पेज, इलन मस्क, मार्क जुकरबर्गका जस्ता टेक स्टार्टअपका प्रख्यात मालिक तथा उद्यमीले अर्बौं डलरको सम्पत्ति गुमाएका थिए । अर्थतन्त्र र कमाइमा आएको यही गिरावटलाई यस्तो ठूलो संख्याको अवकाशको मुख्य कारण मानिएको छ ।

प्रकाशित : माघ ४, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?