कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रबडी नेपालगन्जको ब्रान्ड

नेपालगन्ज आएपछि रबडीको स्वाद नलिई फर्कनेहरु कमै हुन्छन्, घण्टौंसम्म दूध पकाएर घोटी–घोटी बनाइने रबडी उत्पादनमा यहाँका व्यवसायीको योगदान मिसिएको छ
जे पाण्डे

बाँके — नेपालगन्जबाट करिब १० किमि दक्षिण भारतीय बस्ती अहलादका ४० वर्षीय माताप्रसाद यादवको दैनिकी झिसमिसेबाटै सुरु भइहाल्छ । गोठमा भएका चार दुहुना र दुई ब्याउने भैंसीको स्याहारसुसार, आहार र १० लिटर दूध दुहेर मात्र उनको काम सकिँदैन । मोटरसाइकलमा उनी घर–घर दूध संकलन गर्न हिँड्छन् । १८ वर्षदेखि उस्तै दैनिकीमा रमाएका माताप्रसादले संकलन गरेको दूध रबडी बनाउन प्रयोग हुन्छ ।

रबडी नेपालगन्जको ब्रान्ड

नेपालगन्ज आएपछि रबडीको स्वाद नलिई फर्कनेहरू कमै हुन्छन् । घण्टौंसम्म दूध पकाएर घोटी घोटी बनाइने रबडी उत्पादनमा वर्षौंदेखि भारतीय माताप्रसादहरू जस्तैको योगदान मिसिएको छ । नेपालगन्ज सहरको स्वादको कथा उधिन्ने हो भने रबडीको कथा नभनी धरै छैन । जस्तो कि, माताका ७० वर्षीय बाबु बर्सादी ५० वर्षअघिको रबडी खाँदाका दिन स्वाद मानेर सुनाउँछन् । माताले सुनाए, ‘पुर्खादेखि नेपालगन्जको त्रिभुवन चोक र सदरलाइनका रबडी पसलेसित बुबाको गहिरो व्यापारिक सम्बन्ध छ ।’

झिसमिसेमै दूध बोकेर नेपालगन्ज धाउँदाधाउँदै माताप्रसादको दोस्ती भएको थियो, डुडुवा–१ पिप्रहवाका हंसराम यादवसित । ‘हाम्रो सम्बन्ध रबडीजस्तै मुलायम र मीठो छ,’ हंसरामले भने, ‘कहिल्यै टुट्दैन ।’ दुवै ‘ग्वाला’ को मुलुक फरक भए पनि उद्देश्य, समस्या र दैनिकी समान छन् ।

माताले जस्तै हंंसरामले पनि चारवटा भैंसी पालेका छन् । उनको घरबाट दैनिक १० लिटर दूध हुन्छ । थप ५० लिटर दूध भने उनले गाउँबाट संकलन गर्छन् । अनि माताजस्तै त्रिभुवन चोक र सदरलाइनका रबडीवालाहरूलाई बेच्छन् । स्वादिष्ट रबडी बनाउन धेरै तर लाग्ने बाक्लो दूध चाहिन्छ । बाक्लो दूध दिन भैंसी गतिला हुनुपर्छ । दाना धेरै खुवाउनुपर्छ । त्यसैले भैंसीको स्याहारसुसारमा धेरै समय बित्ने गरेको हंसरामले बताए । दूध बेचेर फर्केपछिको सिंगो दिन उनी भैंसीको स्याहारमा खर्चिन्छन् । रबडी बनाउनेहरूले पनि गाईको भन्दा भैंसीकै दूध खोज्छन् । हंसरामले भैंसी पाल्नुको कारण बताउँदै भने, ‘गाईको दूध पातलो हुन्छ । रबडी बनाउन बाक्लो तर लाग्नुपर्छ । पेडा बनाउन चाहिने खुवा पनि कम निस्कन्छ । त्यसैले भैंसीकै दूध खोज्छन् ।’ हिजोआज बजारमा ढुटो महँगो भएकाले खुवाउन नसक्दा भैंसीको दूध धेरै बाक्लो हुन छाडेकाले रबडी बनाउनेले किचकिच गर्न थालेको समस्या उनले सुनाए ।

डुडुवा गाउँपालिका–३ हल्कारापुर्वाका रामसुहावन यादवका ६ भाइ छन् । रामसुहावन काइँला हुन् । ६ भाइको ४० जनाको परिवार छ । हल्कारापुर्वाको यादव बस्ती राप्ती तटमा छ । भैंसी पाल्नु र दूध, दही र घिउ व्यवसाय गर्नु उनको पुस्तैनी पेसा हो । उनले अहिले १ सय ३० वटा भैंसी पालेका छन् । पाडापाडी दर्जनौं छन् । उनको गोठबाट उत्पादन हुने तीन सय लिटर दूध सबै रबडी बनाउनकै लागि प्रयोग हुन्छ ।

एक जनालाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक दिएर उनले ६ गोठाला राखेका छन् । ‘कुनै महिनामा त भैंसी साढे दुई सय वटासम्म पुग्छन् । अहिले कम भएका हुन्,’ रामसुहावनले दुधालु भैंसीे देखाउँदै भने, ‘दूधको त पोखरी बन्छ ।’ त्रिभुवन चोक नेपालगन्जको केन्द्र मात्रै होइन, रबडी उत्पादनको पनि केन्द्र जस्तै बनेको छ । यहाँ दशकौंदेखि रबडीको उत्पादन र बिक्रीमा संलग्न व्यापारी भेटिन्छन् । जस्तो कि, त्रिभुवन चोकको कृष्णभोग मिष्ठान्न भण्डारका सञ्चालक राकेशकुमार गुप्ता जिजुबाजे बाँकेलालले पनि दूध घोटेर रबडी बनाएको इतिहास सम्झन्छन् ।

राकेशले आफ्नो छोरा दिव्यान्सलाई पनि रबडी बनाउन सिकाइसकेका छन् । स्नातक अध्ययन गरेका दिव्यान्सले पुर्खाको बिँडो सम्हाल्न थालेको ४ वर्ष भयो । राकेशका बाबुछोरा बिहान उज्यालो भएदेखि राति १० बजेसम्म रबडीका पारखीलाई पर्खिरहेका हुन्छन् । साँझ खान आउने धेरै हुन्छन् ।

परम्परागत ढंगले पकाएको रबडीको स्वाद मीठो हुनुका साथै सुगन्धित पनि हुन्छ । तर धेरै बनाउन समय लाग्छ । आधुनिक प्रविधिबाट रबडी बनाउने सोच नभएको होइन । तर, परम्परागत शैलीमा बनाएको जस्तो स्वाद आधुनिक शैलीमा बनाएर नहुने उत्पादकहरूको अनुभव छ । दिव्यान्सले नेतृत्व गर्दै आएको कृष्णभोग मिष्ठान्न भण्डारको तीन तलामाथि रबडी बनाउने ठाउँमा लस्करै कराही देखिन्छन् । एउटै ६० लिटरसम्म अट्ने कराही छ । ग्वालाले ल्याएको दूध तलामाथि नै नापेर छान्ने गरिन्छ । अनि कामदारहरू पनि कराहीमा दूध भकभकी उमाल्छन् । उम्लेको दूध खप्चा (पन्युँ) ले बिस्तारै घोट्दै तरलाई कराहीको छेउतिर ल्याएर टाँस्दै जान्छन् । किनकि, तरलाई टुक्राटुक्रा पर्न दिनु पर्छ । कामदारहरू यो मामलामा उत्तिकै सजग देखिन्छन् ।

उम्लेर बाक्लो भएको दूधमा मोटो तर मिसाएपछि रबडी तयार हुन्छ । कतिले चिनी पनि मिसाउँछन् । तर, धेरैले चिनी हाल्दैनन् । किनकि उमालेको बाक्लो दूधको रङ र तरको स्वाद आफैं गुलियो हुन्छ । कुनै पनि वस्तुको मिसावटबिनाको रबडी सबैभन्दा गुणस्तरीय मानिन्छ । बजारमा चिनीबिनाको रबडीको माग धेरै छ ।

नेपालगन्जमा बनाइने रबडी छिमेकी जिल्ला, मुलुकका प्रमुख सहरदेखि छिमेकी भारतका सहरहरूसम्म पुग्छ । पछिल्ला वर्षमा यसको माग र खपत बढ्दै गएकाले पहिले त्रिभुवन चोकमा सीमित रहेका रबडी पसल अहिले सबैतिर फैलिएका छन् । यहाँका धीरजकुमार जैसवाल १४ वर्षदेखि रबडी बनाउने पेसामा छन् । नेपालगन्ज–११ का उनका बुबाले पनि चोक बजारमा ३० वर्ष रबडी बेचे । बाबुको पेसा अपनाएका धीरज पसलैपिच्छे रबडीको स्वाद भने फरक–फरक हुने बताउँछन् । घरमा आएका पाहुना हुन् वा मन्त्रालयका मन्त्रीदेखि सचिवसम्मलाई भेट्न नेपालगन्जबाट जानेले लैजाने कोसेली भनेको रबडी नै हुन थालेको उनले सुनाए । नेपालगन्जको ब्रान्ड बनिसकेको रबडी किनेर कोसेलीस्वरूप लैजाने पनि उत्तिकै छन् ।

प्रकाशित : माघ २, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?