वीरगन्जमा खाद्यले खरिद गर्‍यो ४ करोड ३५ लाखको धान

शंकर आचार्य

पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष किसानबाट करिब १३ हजार ८ सय ९० क्विन्टल धान खरिद गरेको छ । शाखाले यस वर्ष पुस ११ देखि धान खरिद सुरु गरेकोमा बिहीबारसम्म शाखा परिसरमा किसानको धान तौल गरिएको हो ।

वीरगन्जमा खाद्यले खरिद गर्‍यो ४ करोड ३५ लाखको धान

शाखा प्रमुख विकास कटुवालका अनुसार यस वर्ष शाखाले प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँको दरले ४ करोड ३५ लाख रुपैयाँ बराबरको धान खरिद गरेको हो । शाखाले पुस २२ गते नै धान खरिद बन्द गरेकोमा शाखा परिसरमा भित्रिसकेको धान यस अवधिमा तौल गरिरहेको थियो ।

यस वर्ष बाराको फेटा गाउँपालिका र पर्साको पोखरिया नगरपालिका, बिन्दवासिनी तथा जगरनाथपुर गाउँपालिकाका किसानले बढी धान बिक्री गर्न ल्याएको उनले बताए । शाखाले यस वर्ष सोना मन्सुली धान १० हजार र जिरा मसिनो धान २ हजार क्विन्टल गरी कूल १२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर किसानले जिरा मसिनो धान नल्याएपछि शाखाले त्यस बराबरको सोना मन्सुली धान नै खरिद गरेको थियो ।

पछि केन्द्रबाट यस वर्षको कोटामा थप गरी कूल १५ हजार क्विन्टलसम्म धान खरिदको अनुमति पाएको थियो । त्यस कारण शाखाले पुस २२ सम्म मात्र धान खरिद गर्ने घोषणा गरेर १५ हजार क्विन्टल धान शाखा परिसरमा भित्रिसकेको अनुमान गरी नयाँ धान बोकेका ट्याक्टरलाई शाखा परिसरमा प्रवेशमा रोक लगाएको थियो ।

संघीय सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरेको थियो । यस वर्ष शाखाले किसानको न्यूनतम २५ देखि अधिकतम ६० क्विन्टलसम्म धान खरिद गरेको थियो । गत वर्ष शाखाले १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो ।

प्रकाशित : पुस २९, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?