१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लेयर कुखुरापालन गरेका अर्जुनले १ महिनामै बेच्छन् ३ लाखको अण्डा 

विप्लव महर्जन

सल्यान — एकातिर बेरोजगारको समस्या, अर्कोतिर भनेको समयमा काम नपाउँदा र काम गरे अनुसारको रकम(ज्याला) नपाउँदा जिल्लाका युवा पैसा कमाउनका लागि भन्दै धमाधम खाडी लगायत अन्य मुलुक गइरहेका छन् ।  बेरोजगारको समस्या देखाउँदै युवाहरु बाहिरिएका बेला जिल्लाको त्रिवेणी गाउँपालिका ६ लुहामका ४६ वर्षिय अर्जुन श्रेष्ठ घरमै बसेर लेयर कुखुरापालनमा लागेका छन् ।

लेयर कुखुरापालन गरेका अर्जुनले १ महिनामै बेच्छन् ३ लाखको अण्डा 

लेयर कुखुरापालन गरेका उनले हाल अण्डा मात्र बिक्री गरेर महिनाकै ३ लाख आम्दानी गर्दै आएका छन् । उनले उत्पादन गरेको अण्डाको माग पनि पर्याप्त छ । जिल्लामा बाहिरका भन्दा स्थानीय अण्डाको माग बढेपछि नै आफू यसतर्फ लागेको उनले बताए ।

उत्पादित अण्डा बिक्री गरेको रकमबाट उनले ६ जनाको परिवार सजिलै पाल्दै आएका छन् । काम गर्ने जोश र मेहनत गरेमा विदेशमा भन्दा बढी रकम कमाउन सकिन्छ भन्ने उदाहरणको रुपमा प्रस्तुत भएका छन् उनी । १ हजार २ सय लेयर कुखुरापालन गरेका उनले दैनिक २६ क्रेट अण्डा उत्पादन गर्दै आएका छन् । प्रतिक्रेट ४ सयका दरमा उनले दैनिक १० हजारको अण्डा बिक्री गर्दै आएको बताए । उत्पादित अण्डा सजिलै स्थानीय बजारमा धमाधम बिक्री भैरहेको उनले जानकारी दिए ।

आठ वर्षदेखि कुखुरापालन ब्यवसायलाई निरन्तरता दिएका उनले घरमै सबैलाई रोजगारी दिलाएका छन् । अहिले यसबाटै आत्मनिर्भर भएको उनले बताए । ‘बेरोजगार बस्नु भन्दा केही गरौं भनेर कुखुरापालनमा लागेँ, अहिले कुनै समस्या छैन’ उनले भने ‘उत्पादित अण्डा थुपारेर राख्नु पर्दैन । सबै खर्च कटाएर पनि महिनाको ४०/५० हजार बचत हुने गरेको छ ।’ उत्पादित अण्डा स्थानीय बजारमै खपत हुन थालेपछि अब कुखुराको संख्या बढाउने तयारी गरेको उनले बताए ।

वाहृय जिल्लाबाट आयातित अण्डाको मूल्यसँग प्रतिस्पर्धा गर्दा सोचेअनुसारको मूल्य पाउन नसकेको उनको गुनासो छ । दिन प्रतिदिन बढ्दै गएको दानाको मूल्यले व्यवसाय सञ्चालनमा कठिनाई भएपनि गाउँपालिकाले प्रतिगोटा अण्डामा ५० पैसाका दरले अनुदान दिँदै आएकाले राहत भएको उनको भनाइ छ । कामको खोजीमा विदेश पलायन हुनुभन्दा घरमै आमाबुवा तथा परिवारसँगै बसेर कृषि ब्यवसाय अपनाएमा पैसा पनि कमाउन सकिने र मन पनि खुसी रहने उनले बताए ।


प्रकाशित : पुस २८, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?