एप डेभलपमेन्ट : सिर्जनशील आम्दानी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एप डेभलपमेन्ट : सिर्जनशील आम्दानी

नेपालीले बनाएका एपमा हाम्रो पात्रो, नेपाली पात्रो, ई–सेवा, फुडमान्डु, भोजडिल्स, लुडोलगायत चलेकामध्येमा पर्छन् । टिकटक, पबजी मोबाइल, कलब्रेक, क्लास अफ क्लान्स, पठाओ भने धेरै डाउनलोड हुने विदेशी एप हुन् ।
सजना बराल

काठमाडौँ — पछिल्ला दिनमा नेपाली युवाहरू व्यावसायिक र सोखका रूपमा एप डेभलपमेन्टतर्फ आकर्षित भएको देखिन्छ । विभिन्न कलेजहरूमा औपचारिक रूपमै पढाइ हुने र एप सफल हुँदा करियरको राम्रो विकल्प बन्ने भएकाले यसमा आकर्षण बढेको हो ।

कतिपयले त औपचारिक अध्ययन नै नगरी युट्युब भिडियो ट्युटोरियल वा अनलाइन सिकाइ प्लाटफर्महरूबाट ज्ञान बटुल्दै यस क्षेत्रमा लागेका उदाहरण पनि छन् । उनीहरूले कम्पनी खोलेर इन–हाउस एप (आफ्नै लागि निर्मित एप) बनाउने वा फ्रिलान्सरका रूपमा देश/विदेशका ग्राहकको आवश्यकताअनुसार विभिन्न प्रयोजनका लागि मोबाइल एप्लिकेसनहरू बनाउने गरेका छन् ।

झापा, बिर्तामोडका प्रदीप अधिकारी विगत ६ वर्षदेखि वेब डेभलपमेन्ट, एप डेभलपमेन्ट, गेम स्ट्रिमिङलगायत क्षेत्रमा आबद्ध छन् । उनको कम्पनी टेक सञ्जालले झापाकै एक शिक्षकका लागि बनाइदिएको ‘योर अल नोट्स’ नामक एन्ड्रोइड एप विद्यार्थीहरूमाझ लोकप्रिय छ । यसमा कक्षा ९ देखि १२ सम्मका विभिन्न विषयका नोटहरू राख्ने गरिन्छ । ती नोट निकै उपयोगी भएको प्रतिक्रिया दिँदै इशुधी दाहालले उक्त एपलाई गुगल प्लेस्टोरमा फाइभ रेटिङ दिएका छन् । ‘यो एपमा लगभग सबै विषयका नोटहरू छन्,’ उनले लेखेका छन्, ‘धेरै भद्दा नोट छैनन् । हामीजस्ता विद्यार्थीलाई उपयोगी हुने एप बनाइदिएकामा धन्यवाद दिन चाहन्छु ।’

टेक सञ्जालले नै केही समयअघि बनाएको रिजल्ट एपचाहिँ विद्यालयहरूको परीक्षाका बेला बढी डाउनलोड र प्रयोग हुने गरेको प्रदीपको भनाइ छ । उक्त एपमा विद्यालयका एडमिनले रिजल्ट पोस्ट गरेपछि शिक्षक, विद्यार्थी र अभिभावकले हेर्न सक्छन् । हाल प्रदीप र उनका साथीहरू एक राइड सेयरिङ एप निर्माणमा व्यस्त छन् । ‘आजभोलि सबैको हातमा मोबाइल छ, सबैले एपबाटै आफूलाई चाहेको कुरा खोज्न थालेकाले एपको माग बढेको छ,’ प्रदीप भन्छन्, ‘एपका लागि धेरै जिज्ञासाहरू आउँछन् तर रमाइलो कुरा के छ भने ५० लाख रुपैयाँ पर्ने एप देखाएर ५/१० हजारमै बनाइदेऊ भन्नुहुन्छ । एउटा सामान्य एप बनाउन कम्तीमा २० हजार रुपैयाँ लाग्छ ।’

हिजोआज एप व्यवसाय कसरी फस्टाउँदै गएको भने हामीकहाँ विभिन्न सरकारी निकायका कार्यालयले आफ्ना शाखापिच्छे छुट्टाछुट्टै एप बनाउने गरेका छन् । निजी क्षेत्रका संघसंस्था मात्रै नभएर विभिन्न पेसा तथा व्यवसायमा सम्बद्धहरूले पनि आफ्ना ग्राहक वा अनुयायीसम्म पुग्न मोबाइल एप्लिकेसन बनाउने गरेको देखिन्छ । डिजिटल संवादका लागि एप सबैभन्दा सहज माध्यम मानिने भएकाले विश्वभरमै स्मार्टफोन र एपको प्रयोग द्रुत गतिमा बढिरहेको छ ।

भविष्यमा हरेक थोक एपमा उपलब्ध हुने भएकाले वेब सर्चको आवश्यकता नै नपर्ने प्रविधि क्षेत्रका विश्लेषकहरू बताउँछन् । २०२२ को नोभेम्बरसम्ममा गुगल प्ले स्टोरमा ३५ लाख ५० हजार र एप्पल एप स्टोरमा १६ लाख वटा एपहरू उपलब्ध रहेको बजार र उपभोक्ताबारे आर्थिक विवरणहरू तयार पार्ने स्टाटिस्टाले जनाएको छ । फोर्ब्स टेक्नोलोजी काउन्सिलका सदस्य रोल्यान्ड पोल्जिनका अनुसार एक व्यक्तिले औसतमा प्रतिदिन ४.२ घण्टा एप चलाएर बिताउने गर्छन् ।

‘पछिल्लो समय सबै कुरा मोबाइल फर्स्ट भन्नेमा गएकाले चाहिने/नचाहिने सबै कुराका लागि मोबाइल एपहरू बनिरहेका छन्,’ नेपालमा आर्थिक प्रविधि क्षेत्रको अग्रणी, एफ वान सफ्ट समूहका निर्देशक सुवास शर्मा भन्छन्, ‘भर्खर–भर्खर सिक्ने वा फ्रिलान्सरहरूले पनि आ–आफ्नो तरिकाले एप बनाइरहेका छन् । पहिला वेबसाइटका लागि जस्तो क्रेज थियो अहिले एपका लागि त्यस्तै क्रेज छ ।’

शर्माका अनुसार नेपालमा कुनै व्यावसायिक समस्या (बिजनेस प्रब्लम) समाधान गर्नभन्दा पनि मनोरन्जन वा सानातिना प्रयोजनका लागि एप बनाउने चलन छ । त्यसरी नै बनाइएका कतिपय एप असाध्यै लोकप्रिय भई डेभलपरले उल्लेख्य प्रगति गरेको देखेर पनि युवाहरू एप मेकिङमा लागिपरेका छन् । तर, एप बनाउनासाथ सबै सफल र बनेकाजति सबै एप लोकप्रिय हुन्छन् भन्ने छैन ।

सुरुमा सोख र प्रयोगका लागि बनाइएका हाम्रो पात्रो, नेपाली पात्रो, लुडो, कलब्रेकजस्ता एपहरू अहिले ठूलो परिणाममा डाउनलोड र प्रयोग भएका छन् । पोखराको गेमिङ कम्पनी, यार्सा ल्याब्सले सन् २०१९ मा बनाएको लुडो एप गुगल प्लेस्टोरमा १० करोडभन्दा बढी डाउनलोड भएको छ ।

यार्साले नै बनाएका कलब्रेक, नेपाल ड्राभिङ लाइसेन्स, धुम्बल, म्यारिज, स्नेक एन्ड ल्याडर गरी ९ वटा गेमिङ एपको कुल डाउनलोड १५ करोडभन्दा बढी रहेको ल्याब्सका प्रमुख गेम डेभलपर प्रेरक गिरी बताउँछन् । ‘हाम्रो एपमा दैनिक सक्रिय र नियमित प्रयोगकर्ताको संख्या ७० हजारदेखि १ लाख नाघ्ने गरेको छ,’ उनी भन्छन्, ‘भारत, बंगलादेश, पाकिस्तानजस्ता दक्षिण एसियाली देशमा हाम्रा एप लोकप्रिय छन् ।’

यार्साका संस्थापक एनजे सुवेदी र राहुल सुवेदीको समूहले जम्मा दुई दिनमा तयार गरेको लुडो एप यति सफल भयो कि कुनै बेला यो दिनमै ५ लाख पटकसम्म डाउनलोड हुने गरेको संस्थापकहरूको दाबी छ । यसकै सफलतापछि यार्साले पोखरा र काठमाडौंमा कार्यालय स्थापना गरी हाल ५० जनालाई रोजगारी दिएको छ ।

एप बनाएर सफलता हासिल गरेका अन्य कम्पनी, तिनका संस्थापक र कर्मचारीहरूको पनि आर्थिक जीवनशैली फेरिएको छ । हामीकहाँ चलेका स्थानीय एपहरूमा लुडो, हाम्रो पात्रो, नेपाली पात्रो, ई–सेवा, कलब्रेक, टुटल, फुडमान्डु, भोजडिल्सलगायत छन् । धेरै डाउनलोड हुनेमा चाहिँ टिकटक, पबजी मोबाइल, क्लास अफ क्लान्स, पठाओजस्ता विदेशी एपहरू छन् ।

कसरी हुन्छ आम्दानी ?

फोर्ब्समा हालै प्रकाशित फोर्ब्स टेक्नोलोजी काउन्सिलका सदस्य पोल्जिनको विश्लेषणअनुसार सन् २०२६ सम्ममा विश्व एप अर्थतन्त्र ६१४ बिलियन डलर पुग्ने अनुमान गरिएको छ । हालसम्म सबैभन्दा धेरै ग्राहकमार्फतको आयले एप उद्योगमा दबदबा कायम गरिरहेको भए तापनि अबका दिनमा एप मनिटाइजेसनको मोडल परिवर्तन हुने उनले उल्लेख गरेका छन् । उनका अनुसार सन् २०१४ देखि २०१७ सम्ममा गुगल प्लेका एपहरूको सब्स्त्रिप्सन दस गुणाले बढेका थिए । सन् २०२१ मा आइपुग्दा एन्ड्रोइड एपको सब्स्क्रिप्सन १२ प्रतिशत र आईओएसको १६ प्रतिशतले घटेको स्टाटिस्टाको तथ्यांकले देखाउँछ ।

‘अबका दिनमा सब्स्क्राइब गरेर वा पैसा तिरेर मात्रै चलाउन मिल्ने एप बनायो भने प्रयोगकर्ता पाउन गाह्रो छ,’ पोल्जिनले लेखेका छन्, ‘एप मनिटाइजेसनको हाइब्रिड मोडल अपनाउनु उपयुक्त हुन्छ । यसमा एपभित्र विज्ञापन समावेश गर्ने, एपभित्रै विभिन्न प्याकेजहरू किन्न मिल्ने सुविधा (इन–एप पर्चेज) राख्ने जस्ता विकल्प अपनाउन सकिन्छ ।’ हामीकहाँ सब्स्क्रिप्सन मोडल चल्तीमा छैन । फुडमान्डु, दराज, सस्तो डिल, पठाओजस्ता एपले आफ्नो ‘प्लेटफर्म’ प्रदान गरेबापत निश्चित कमिसन लिएर आम्दानी गर्ने गरेका छन् ।

हाम्रोबजार जस्ता एपले विज्ञापनमार्फत आम्दानी गर्छन् भने हाम्रो पात्रो जस्ता एपले गुगलको एडमब नेटवर्कमा जोडिएर मासिक रूपमा आम्दानी गर्ने गरेका छन् । ग्राहकका लागि एप बनाइदिएर पनि आम्दानी गर्ने गरिएको छ । यस्तो काम गर्नेहरूमध्ये केहीले मासिक ७ लाख रुपैयाँसम्म आर्जन गर्ने गरेको एप डेभलपरहरू बताउँछन् । फ्रिलान्स सेवाका लागि बनेका फाइभर, उपवर्कजस्ता ग्लोबल मार्केटप्लेसहरूमा जोडिएर युवाले विदेशी ग्राहकको मागअनुरूप मोबाइल, डेस्कटप एप्लिकेसनहरू बनाउने गरेका छन् । यस्ता मार्केटप्लेसमा कति नेपाली आबद्ध छन् र तिनले कति आम्दानी गरिरहेका छन् भन्नेबारे कुनै विवरण छैन । यसबारे आफूहरूले अध्ययन गरिरहेको अर्थशास्त्री स्वर्णिम वाग्लेले हालै आयोजित एक कार्यक्रमा बताएका थिए ।

एपको नशा

हामीकहाँ गेमिङ वा मनोरन्जनसम्बन्धी एप धेरै बन्ने गरेका भए पनि केही युवाले चाहिँ समस्या समाधान र सामाजिक रूपमा उपयोगी हुने एपसमेत निर्माण गरिरहेका छन् । उदाहरणका रूपमा खेतीपातीसम्बन्धी खेती फार्म, कृषि गुरु, स्मार्ट कृषिजस्ता एपलाई लिन सकिन्छ । कृषिप्रधान देशमा सफल हुनुपर्ने यस्ता एपले भने व्यावसायिक रूपमा उल्लेख्य छाप छोड्न सकेको देखिँदैनन् । तथापि, युवाहरूले आफ्ना एपमार्फत किसानको दैनिकी र व्यवसाय सहज बनाउन मद्दत गरिरहेका मात्रै नभएर किसानलाई सरकारी कार्यक्रम, बैंक तथा वित्तीय संस्था र उपभोक्तासँग जोड्ने प्रयत्न जारी राखेका छन् ।

‘हाम्रा किसानहरूलाई बीउबिजन किन्नदेखि कृषिसम्बन्धी जानकारीमूलक सेवा लिन, आफ्ना उत्पादनको बजारीकरण गर्न, सरकारी निकाय वा बैंक तथा वित्तीय संस्थाबाट सहयोग लिन समस्या भइरहेको देखेर हामीले खेती फार्म र खेती फुड एप बनाएका थियौं,’ खेती फार्मका चिफ टेक्नोलोजी अफिसर सुवास भट्टराई भन्छन्, ‘किसानलाई चाहिने सबै कुरा हामीले एउटै एपमा ल्याएका छौं । अहिले २२ हजारभन्दा बढी किसानले एप डाउनलोड गर्नुभएको छ । १० हजार जना किसान आफैं आबद्ध भएर नियमित रूपमा एप चलाइरहनुभएको छ ।’ एपलाई सक्दो धेरै किसान र उपभोक्तासम्म पुर्‍याउन आफूहरूले बेलाबेलामा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम गर्दै आएको उनले बताए ।

मनोरन्जनात्मक एपको तुलनामा अन्य एपका प्रयोगकर्ता कम हुनु स्वाभाविक हो । यस्ता एपमा सीमित वर्गलाई मात्रै रुचि र आवश्यकता हुने भएकाले ठूलो परिणाममा प्रयोग नहुने सुवासले बताए । ‘पछिल्लो समय विशेषतः मनोरन्जनात्मक एपले प्रयोगकर्ताको रुचि, आनीबानी अध्ययन गरेर कन्टेन्ट र फिचरहरू समावेश गरी एप रिलिज गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘प्रयोगकर्ताले त्यसमा प्रशस्त समय बिताउने भएकाले धेरै उपात्दनशील समय र ऊर्जा खेर गइरहेको छ ।’

प्रकाशित : पुस २८, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्

उडानमा थिए ज्याक मा पखेटा किन काटिँदै छ ?

सजना बराल

काठमाडौँ — ‘चीनका सबैभन्दा धनाढ्यहरूमध्ये एकदमै कमको मात्र सुखद अन्त्य हुन्छ ।’कुनै समय चीनको सबैभन्दा धनी र विश्वभर सबैभन्दा चर्चित उद्यमीमध्येका एक ज्याक माले माथिको वाक्य भन्दै गर्दा सायद अनुमान गरिसकेका थिए होलान्– उनको अन्त्य पनि सुखद हुने छैन भन्ने । अहिले ठ्याक्कै त्यस्तै भएको छ ।


यो महिना आफ्नै नेतृत्वमा हुर्काएर अमेरिकी कम्पनी अमेजनको हाराहारीमा पुर्‍याएको चिनियाँ एन्ट ग्रुप (अलिबाबालगायत १३ कम्पनी) गुमाएका उनले अब कम्पनीमा ६.२ प्रतिशतको मात्रै भोटिङ अधिकार हुनेछ ।

सन् २०२० मा चिनियाँ सरकारले सुरु गरेको प्रविधि क्षेत्रमाथिको नियमनको प्रयासको आलोचना गरेपछि रहस्यमय रूपमा सार्वजनिक जीवनबाट हराउनुअघि ज्याक आफ्नो ठाँटिलो जीवनशैली र निर्धक्क बोल्ने व्यवसायीका रूपमा मात्र प्रख्यात थिएनन्, ‘चीनको अमेजन’ भनिने उनको कम्पनी अलिबाबा १ खर्ब डलरभन्दा माथिको बजार मूल्यका साथ विश्वको सबैभन्दा ठूलो आर्थिक–प्रविधि कम्पनी थियो । अनलाइन सपिङ, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्सलगायत उनका कम्पनीहरू ८० करोडभन्दा बढी ग्राहकसँग प्रत्यक्ष जोडिएका थिए । उनका हरेक कदम र भाषण चाखपूर्वक पछ्याइने मात्रै होइन, विश्वव्यापी बजारले उनलाई ‘नयाँ चीन’ को सफल ‘पोस्टर ब्वाई’ का रूपमा अत्यन्तै मन पराएको पनि थियो ।

तर २०२० को सुरुतिर झन्डै ५० अर्ब डलर बराबरको सम्पत्ति भएको मानिएका उनी एकाएक सार्वजनिक जीवनबाट हराए र नोभेम्बरतिर बल्ल जापानको राजधानी टोकियोमा देखा परे । त्यसयता आक्कलझुक्कल सार्वजनिक रूपमा देखिने गरेका ज्याक पछिल्लो समय थाइल्यान्डको राजधानी बैंककस्थित एक बक्सिङ म्याचमा झुल्किएका थिए । विभिन्न रिपोर्टहरूका अनुसार उनी अहिले टोकियोमा आफ्ना परिवार र एक व्यक्तिगत सेफका साथ बस्ने गर्छन् । प्रस्टै छ, ‘अन्त्य’ सम्बन्धी ज्याकको भनाइ आफ्नै जीवनसँग मेल खाएको छ ।

सन् १९६४ को सेप्टेम्बर १० मा चीनको दक्षिणपूर्वी सहर हाङझोउमा एक परम्परागत संगीतकर्मी परिवारमा जन्मिएका उनको वास्तविक नाम मा युन हो । १२ वर्षको उमेरसम्म अंग्रेजी भाषाको स्वःअध्ययन गरेका उनले पर्यटकहरूलाई निःशुल्क गाइडेड टुर दिने गर्थे । पछि हाङझोउकै टिचर्स कलेजबाट अंग्रेजी विषयमा स्नातक गरेपछि उनले मासिक १५ सय डलर बराबरको शिक्षकको जागिर पनि पाएका थिए । सन् २०१६ मा दिएको एक अन्तर्वार्तामा उनले जागिरका लागि दर्जन पटक असफल भएको र हार्वर्ड विश्वविद्यालयमा १० पटक आवेदन दिँदा पनि भर्ना नपाएको बताएका थिए ।

आफ्नो पहिलो व्यावसायिक सुरुवातका रूपमा उनले हाङझोउ हाइवो अनुवाद सेवाको स्थापना गरे । सोही कामको क्रममा माले चिनियाँ र अमेरिकी व्यवसायीका लागि अनुवादकका रूपमा अमेरिकाको सियाटलसम्म यात्रा गर्ने क्रममा पहिलो पटक कम्प्युटर देखेका थिए । प्रविधि क्षेत्रमा अत्यन्तै रुचि बढाएका उनले केही समयपछि सन् १९९४ मा ‘चाइना पेजेज’ नामक कम्पनी सुरु गरे । ३ वर्षभित्रै यो कम्पनीले ८ लाख डलर बराबरको कमाइ गरेको थियो । त्यसपछि इन्टरनेटप्रति झनै उत्सुक भएर एक अर्को कम्पनी खोलेका उनले १९९८ देखि दुई वर्ष चिनियाँ सरकारको वैदेशिक व्यापार विभागले स्थापना गरेको सूचना प्रविधि केन्द्रको प्रमुख भएर पनि काम गरे ।

सन् १९९९ मा उनले चिनियाँ सरकारको जागिरबाट राजीनामा दिएर १८ जना साथीबाट जम्मा गरेको ६० हजार डलरले पहिलो पटक अलिबाबा कम्पनीको स्थापना गरे । यसले साना तथा मझौला चिनियाँ व्यवसायीका लागि इन्टरनेट बजार उपलब्ध गराउने काम गर्थ्यो । २००२ मा तीन वर्षभित्रै अलिबाबाले झन्डै १० लाख प्रयोगकर्ता पुर्‍याउनुका साथै प्रख्यात अमेरिकी लगानीकर्ताहरू गोल्डम्यान स्याक्स, सफ्टबैंकसमेतको झन्डै २५ मिलियन डलर बराबरको वैदेशिक लगानी हासिल गर्न सफल भएको थियो । योसँगै ज्याकले खुद्रा व्यापार प्लेटफर्म ताओबाओ र पेमेन्ट गेटवे अलिपेको समेत स्थापना गरे । ताओबाओको राम्रो प्रगति देखेर इबेले गरेको कम्पनी खरिदको आग्रहलाई उनले याहुका संस्थापक जेरी याङको १ बिलियन डलर लगानी सहयोग पाएपछि अस्वीकार गरिदिएका थिए ।

सन् २०१४ को सेप्टेम्बरमा अलिबाबा न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत हुँदा यसले झन्डै २५ अर्ब डलर बराबरको कीर्तिमानी आईपीओ जम्मा गर्न सफल भएको थियो । यो आईपीओले उनलाई झन्डै २५ अर्ब डलर सम्पत्तिसहित चीनकै सबैभन्दा धनाढ्य व्यक्तिका रूपमा स्थापित गरेको थियो । यसअघि २०१३ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर अध्यक्ष पदमा रहेका उनको व्यक्तिगत कुल मूल्य २०२१ को उच्च बिन्दुमा ५० अर्ब डलरसम्म पुगेको अनुमान थियो । सन् २०२१ मा अलिबाबाको कुल आम्दानी ४१ प्रतिशतले बढेको तथ्य सार्वजनिक भएका थिए । अथाह सम्पत्तिका बाबजुद ज्याक भव्य खर्चालु व्यक्ति होइनन्, उनी १५ हजार डलरको रोवे एसयूभी चढ्ने गर्थे । उनले २०१५ मा झन्डै १९१ मिलियन तिरेर हङकङकै महँगो अपार्टमेन्ट खरिद गरेका थिए भने फ्रान्समा २१० एकडमा फैलिएको एउटा भाइनयार्ड पनि किनेका छन् जसले वर्षमा ५ लाख बोतल वाइन उत्पादन गर्छ । उनको झन्डै ५० मिलियन डलरको प्राइभेट जेट पनि छ ।

सन् २०२० को सुरुका महिनामा चीनको सरकारले प्रविधि क्षेत्रमाथि लागू गरेको नियमनको प्रयासबाट ज्याक समस्यामा पर्न थालेका हुन् । त्यस वर्षको अक्टोबरमा एन्ट ग्रुप विश्व इतिहासकै सबैभन्दा ठूलो (३७ अर्ब डलर बराबरको) आईपीओ निष्कासन गर्ने तयारीमा थियो । त्यसअघि केही उच्च वित्तीय व्यक्तिहरूसँगको एक बैठकमा ज्याकले एक विवादास्पद अभिव्यक्ति दिएका थिए । जसमा उनले चीनको वित्तीय प्रणालीको आलोचना गरेका थिए । ज्याक चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य हुन् । एकदमै सावधानीपूर्वक पटकपटक राष्ट्रपति सीका भनाइहरू समेत साभार गर्दै उनले आफ्ना भनाइलाई ‘अपरिपक्व, त्रुटिपूर्ण र हासउठ्दो’ भन्दै चीनका राज्य नियन्त्रित बैंकहरूलाई ‘कबाडी पसलेको मानसिकता भएको’ भनेर कडा प्रतिवाद गरेका थिए । उनको ‘चिनियाँ अधिकारीहरूको डिजिटल अर्थतन्त्र व्यवस्थापन एयरपोर्ट व्यवस्थापन गर्न रेलवे व्यवस्थापनको तरिका अपनाएको जस्तो’ भन्ने समेतका अभिव्यक्तिलाई कतिपयले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको तिक्तताको रूपमा पनि परिभाषित गरेका थिए र रोयटर्सका अनुसार यो राष्ट्रपति सीसम्म पनि पुगेको बताइन्छ ।

बीबीसी रेडियो ४ को एक अध्ययनका अनुसार उक्त भनाइलगत्तै ज्याकसहित उच्च अधिकारीहरूलाई सरकारी उच्च नियमनकर्ताहरूले डाकेका थिए । त्यसपछि चीन सरकारले एन्ट ग्रुपको उक्त आईपीओ निष्कासनमात्रै रोकिदिएन, उनको व्यावसायिक साम्राज्यमाथिको कडाइ पनि बढाउँदै झन्डै २.८ अर्ब डलर बराबरको जरिवानासमेत लगाइदियो । यो भनाइपछि उनी २०२१ जनवरीको अन्त्यसम्म सार्वजनिक जीवनमा कतै देखिएनन् र उनको यो रहस्यमय तवरले गायब हुनुलाई धेरैले नजरबन्द या पक्राउ परेको हुन सक्ने रूपमा अर्थ्याएका थिए ।

ज्याकले जब चिनियाँ आर्थिक नीतिविरुद्धको अभिव्यक्ति दिए, यो एक्कासि भएको घटना थिएन । स्पष्टवक्ता मानिने माले ‘यो अभिव्यक्तिले कति गम्भीर असर गर्छ भन्ने आकलन गरेका भए सायद यस्तो भन्ने थिएनन् होला,’ विश्लेषकहरू भन्छन् । विगतमा माको अन्तर्वार्ता लिइसकेकी चीन विज्ञ क्रिस्टिना बोस्ट्रप भन्छिन्, ‘यो उनको आफ्नै लागि पनि अचम्मको विषय थियो । उनले सो अभिव्यक्ति दिने क्रममा जुन सीमा पार गरे, त्यसको राम्रो वस्तुनिष्ठ जोडघटाऊ गरेको भए यस्तो भन्ने थिएनन् होला ।’

हुन पनि ज्याक आधुनिक चीनको नयाँ अर्थतन्त्रका एक ‘पोस्टर ब्वाई’ थिए । चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक मेड इन चाइना २०२५, चाइना स्ट्यान्डर्डस २०३५ लगायतका दस्तावेज र कार्यक्रमहरूमा नयाँ पुस्ताको व्यापार र प्रविधिलाई अगाडि बढाउने विषयहरू उल्लेख छन्, जसलाई एन्ट ग्रुपको संसारभर १ अर्ब ३० करोड प्रयोगकर्ता रहेको जस्ता तथ्यांकले बल पुर्‍याउने काम गर्थे ।

सन् २०१३ मा रेबेक्का चाओले ज्याकमा विश्वव्यापी रूपमा प्रख्यात हुनुअघिको आफ्नो एक लेखमा उल्लेख गरेको भनाइ हो यो । लेखमा चिनियाँ अर्बपतिहरूको संख्या २००७–२०१३ को अवधिमा १५ बाट बढेर २५० भएको तर उनीहरूको सफलता अल्पकालीन भएको उल्लेख गरेकी छन् । एक अध्ययनले चिनियाँ धनाढ्यहरूमध्ये लगभग १७ प्रतिशत जेल पुग्ने अनुमान सार्वजनिक गरेको थियो । ब्रिटेनका धनाढ्य हुगरवेर्फले १९९९ देखि निकाल्न सुरु गरेको चाइना रिच लिस्ट नामक रिपोर्टहरूमा पनि यस्ता धेरै चिनियाँ धनाढ्य पक्राउ परेको, अभियोग लगाइएको या जेल गएको भन्ने उल्लेख छ । चीनमा ज्याक जस्ता धेरै धनाढ्य यसअघि पनि राज्य र निकायहरूको तारो बनेका थिए ।

ज्याक जस्तै प्रविधिको उपयोगबाट धनाढ्य बनेका र चीनको विभिन्न क्षेत्रमा पहुँच भएका व्यवसायीहरू सम्बन्धी चीनको नीति फेरिँदै गएको छ । २०२० को घटनापछि चीन सरकारले अलिबाबामाथि एकाधिकारसम्बन्धी विषयहरूमा अनुसन्धान सुरु गरेको छ । गत सातामात्र एकाधिकारविरुद्धको निकायले टासेन्ट, विडुलगायत १० वटा प्रविधि कम्पनीले एकाधिकारसम्बन्धी नीतिको उल्लंघन गरेका प्रतिवेदन सार्वजनिक भएका थिए । यस्तै अलिबाबा घटनापछि ३४ वटा प्रविधिसम्बन्धी कम्पनी अनुसन्धानको दायरामा रहेको जनाइएको छ । अस्ट्रेलियन स्ट्राटेजिक पलिसी इन्स्टिच्युटकी सामन्था हफम्यान भन्छिन्, ‘चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न कमिटीहरू छन् जसले कम्पनीहरूलाई अन्ततोगत्वा अधिकार पार्टीसँगै भएको याद दिलाउने गर्छन्, चाहे ती व्यवसायी ज्याक मा जस्ता शक्तिशाली सेलिब्रिटी किन नहुन् ।’

ज्याक अझै पनि चीनका सबैभन्दा धनाढ्यमध्ये एक हुन् । हाल उनी झोङ शनशन, झाङ इमिङ, रविन जेङ, मा हुएतेङपछि झन्डै २५ बिलियन डलर सम्पत्तिका साथ धनाढ्यको सूचीमा पाँचौं स्थानमा छन् । तर उनले आफैंले स्थापना गरेको समूह एन्ट ग्रुपको अध्यक्षको पद र नियन्त्रण छाडेका छन् । उनको स्थानमा विभिन्न क्षेत्रका १० जनालाई कम्पनीको नेतृत्व सुम्पिइएको छ । तर ज्याक अझै पनि ६.२ प्रतिशत सेयरधनी रहेकाले चीनका विभिन्न सेयर बजारमा लिस्टिङसम्बन्धी प्रावधानहरूको समय बढाउनेछ । कम्पनीका अध्यक्ष एरिक जिङले एन्ट कम्पनी कुनै समयमा पुनः सार्वजनिक सेयर आह्वानमा जाने तर अहिले त्यो समय नआइसकेको जनाएका छन् । २०२० मा आईपीओ निकाल्न ठिक्क पर्दाको समयमा झन्डै २८० बिलियन डलर आकलन गरिएको एन्ट कम्पनीको कुल मूल्य अहिले निकै कम भएको छ ।

ज्याकले जब तेस्रो पक्ष लेनदेनसम्बन्धी इन्टरनेटमा आधारित प्लाटफर्म र सेवाहरू निर्माण गरिरहेका थिए, त्यतिबेला चीनमा त्यससम्बन्धी कुनै नियम थिएनन् । ‘यदि कोही जेल जानुपर्‍यो भने म जान्छु,’ त्यतिखेर ज्याक माले खुला रूपमा यस विषयमा बोलेका थिए जुन कुरा उनलाई अहिले ग्लानि हुन सक्छ किनभने ‘पुँजीवादविरुद्धको अभियान’ मा दृढ देखिएका अति शक्तिशाली राष्ट्रपति सीको चीनमा यी कुरा सार्थक नहोलान् भन्न सकिन्न ।

प्रकाशित : पुस २७, २०७९ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×