२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

घाम नलागे टुकीको भर

स्थानीय व्यवसायीले सोलार राखेर उज्यालो बनाउनेसम्मको प्रयत्न गरेका छन् । तर घाम नलागेर ब्याट्री चार्ज नभए बत्ती बल्दैन । कहिले पाहुनाले खाना खाँदाखाँदै बत्ती निभ्छ र हतारहतार टुकी सल्काउनुपर्छ ।

ताप्लेजुङ, सुर्खेत — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको इलाडाँडा सदरमुकाम फुङलिङबाट ओलाङ्चुङगोला जाने मुख्य नाका हो । चीनको तिब्बत पुग्न यही मार्ग भएर जानुपर्छ । एक दिन पैदलको ओलाङ्चुङगोला पुग्न यहाँ अनिवार्य बास बस्नुपर्छ । यहाँ बस्नेलाई मोबाइल चार्ज गर्नदेखि उज्यालोमा रम्न कठिन छ । यहाँ बिजुली पुगेको छैन । 

घाम नलागे टुकीको भर

स्थानीय व्यवसायीले सोलार राखेर उज्यालो बनाउनेसम्मको प्रयत्न गरेका छन् । तर घाम नलागेर ब्याट्री चार्ज नभए बत्ती बल्दैन । कहिले पाहुनाले खाना खाँदाखाँदै बत्ती निभ्छ र हतारहतार टुकी सल्काउनुपर्छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने यस्ता थुप्रै बस्ती छन् जहाँ बिजुली पुगेको छैन । पुगेकामा पनि अस्थायी प्रकारका मात्रै छन् ।

लेलेप र तापेथोकका लागि ताक्लिङ खोलाबाट ६५ किलोवाट विद्युत् उत्पादन गरिएको सरस्वती मावि तापेथोकका प्रधानाध्यापक चन्द्रमणि लिम्बूले जनाए । तर कहिले कम्प्युटरैसमेत नखुल्ने गरी भोल्टेज आउँछ, कहिले बिग्रिएको महिनौंसम्म पनि बनाउन हम्मे पर्छ । ‘पावर नमिलेर होला कम्प्युटर झ्यापझ्याप मार्छ,’ उनले भने, ‘बिजुली छैन भन्दा छ, तर त्यत्रो काम लाग्ने गरी चाहिँ छैन ।’

ताप्लेजुङ भौगोलिक दृष्टिकोणले डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला हो । ताप्लेजुङको कुल क्षेत्रफलको आधाभन्दा बढी भू–भाग फक्ताङलुङ गाउँपालिकामा छ । तर यहाँ अहिलेसम्म बिजुलीको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । सदरमुकाम रहेको फुङलिङ नगरपालिकासँग जोडिएको वाड नम्बर ३ लिंखिममा पनि राष्ट्रिय प्रसारण लाइन छैन । चुनावमा यस पालिकामा भोट माग्न जाने नेताले राष्ट्रिय प्रसारणको आश्वासन दिए पनि व्यवहारमा नदेखिएको स्थानीयको गुनासो छ ।

सल्यानको कालीमाटी गाउँपालिका–६ मा विद्युत् प्राधिकरणले ०७३ सालदेखि बिजुलीका पोल गाड्न सुरु गर्‍यो । निर्माणको काम गर्दै आएको ठेकेदार कम्पनी सन्तोष कन्स्ट्रक्सनले अहिलेसम्म काम अलपत्र पारिरहेको छ ।

‘हामीलाई त बिजुली सपना जस्तै हुने भो, बिजुली नहुँदा सूर्य अस्ताएसँगै गाउँ सुनसान हुन्छ, बिहान सूर्य उदाएपछि मात्र हामी उठ्छौं,’ स्थानीय कमला विकले भनिन्, ‘बिजुली भएको भए केटाकेटीले समयमै होमवर्क गर्न पाउने थिए, हामीलाई साँझ–बिहानको काम गर्न सजिलो हुन्थ्यो, मोबाइल चार्ज पनि घरमै गर्न पाउने थियौं, पारिपट्टिको गाउँ पुतलीबजारको बिजुली हेरेर चित्त बुझाउनुपर्ने बाध्यता छ, अहिले पनि सल्लाको दियालो प्रयोग गर्न बाध्य छौं ।’ मोबाइल चार्ज गर्न आधा घण्टा हिँडेर पुतलीबजार जानुपर्ने बाध्यता भएको उनले बताइन् । बिजुली नहुँदा गाउँमा मोबाइल नेटवर्कले पनि राम्ररी काम नगर्ने उनको भनाइ छ ।

पोल गाडेको दुई वर्ष बित्दा पनि बन्गाडकुपिण्डेको माल्टाका बासिन्दाले बिजुली बाल्न पाएका छैनन् । कर्णालीका धेरैजसो दुर्गम गाउँमा बिजुली नपुग्दा स्थानीय अझै दियालोकै भरमा छन् ।

राष्ट्रिय जनगणना–०७८ को प्रारम्भिक प्रतिवेदनअनुसार कर्णालीमा ५ लाख ६१ हजार घरधुरी छन् । त्यसमध्ये १ लाख १२ हजार घरमा मात्रै विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण सुविधा छ ।

कर्णालीका ‘हाम्रो गाउँमा त बिजुली त सपना मात्रै हो,’ जाजरकोटको बारेकोट गाउँपालिका–३ की सुनिता बस्नेतले भनिन्, ‘घर उज्यालो भए दैनिक कामकाज गर्न, केटाकेटीलाई लेखपढ गर्न र घरका सानातिना उपकरण चलाउन मिल्थ्यो, बिजुली छैन त्यसैले मोबाइल चार्ज गर्न पनि छिमेकी गाउँ रग्दा जानुपर्छ, त्यो पनि आधा घण्टा हिँडेर ।’

प्रकाशित : पुस २७, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?