तमोर नदीमा निर्माणाधीन पुलको काम छ वर्ष वित्दा आधा पनि सकिएन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तमोर नदीमा निर्माणाधीन पुलको काम छ वर्ष वित्दा आधा पनि सकिएन

चन्द्र कार्की

तेह्रथुम — पाँचथर र तेह्रथुमलाई जोड्ने तमोर नदीमाथि निर्माण सुरु भएको मोटरेबल पुल ६ वर्ष पुग्दा आधा काम पनि सकिएको छैन । निर्माण कम्पनीले पुल अलपत्र पारेपछि जिल्लाबासी आन्दोलनमा उत्रिएका छन् । काम चाँडो गर्न माग गर्दै स्थानीय युवा अर्जुन ढुंगानासहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गराएको छ ।


निर्माण सम्पन्न भएको काममा समेत ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेको आरोप स्थानीयको छ । दुवै जिल्लाका जनप्रतिनिधिले पुलको स्थलगत निरीक्षण गरी गुणस्तरीय सामान प्रयोग गर्न ठेकेदारलाई पटक पटक निर्देशन दिएका थिए । जनप्रतिनिधिको स्थलगत निरीक्षणपछि तमोर नदीको लुम्वुघाटमा निर्माणाधीन मोटरेबल पुलमा प्रयोग गरिएका अधिकांश निर्माण सामग्री कमसल फेला परेको म्याङलुङ नगरपालिकाका प्रमुख संजय तुम्बाहाम्फेले बताए ।

निर्माण कम्पनीले पुलमा कमसल सामग्रीको प्रयोग गरेको जनगुनासो आएपछि दुवै जिल्लाका जनप्रतिनिधिले फरक फरक समयमा पुलको स्थलगत अनुगमन गरेका थिए । विभिन्न बहाना देखाउँदै पुल निर्माणमा ढिलाई गर्दै आएको स्वछन्द निर्माण सेवाबाट जनप्रतिनिधिले प्रयोग गरिएका सामग्रीको ल्याव टेष्ट रिपोर्ट मगाएका थिए । त्यसयता ठेकेदारले काम नै रोकेर बसेको छ । पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बसन्तकुमार नेम्वाङ समेतको टोलीले पुल निर्माणस्थलमै पुगेर पटक पटक अनुगमन गरेको थियो । पछि उनै नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत बने । तर पनि उनकै जिल्लाको सीमा तमोर नदीमा निर्माणाधीन पुल बनेन । पाँचथरबाट नेम्वाङ सहितको जनप्रतिनिधि र तेह्रथुमबाट म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्वाहाम्फे नेतृत्वको जनप्रतिनिधि टोलीले फरक फरक मितिमा पुलको स्थलगत निरीक्षण गरेर चाँडो काम गर्न ठेकेदारलाई दबाव दिएका थिए ।

निर्धारित समयमा पुल निर्माणको काम सम्पन्न नहुँदा दुई जिल्लाका बासिन्दाले दुख बेहोर्नु परेको पाँचथर कुम्मायक गाउँपालिकाका निवर्तमान अध्यक्ष जयबहादुर चेम्जोङले बताए । सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंसँग ३ वर्षमा काम सम्पन्न गर्नेगरी ९ वर्षअघि ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कैलाश कुमार देवले बताए ।

भारतीय नाकाबन्दी, बाढी पहिरो, सामान ढुवानीमा सडकको समस्या लगायतका कारण पुल निर्माणमा ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीले ९ वर्षमा चार वटा पिल्लर हालेर पुलको सतह मात्र ढलान गरेको छ । बाँकी ६० प्रतिशत कामको अवस्था लथालिङ्ग देखिन्छ । अहिले पुल निर्माणस्थलमा निर्माण कम्पनीका कोही प्रतिनिधि समेत देखिँदैनन् । पुलको काम अलपत्र अवस्थामा छोडिएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार १ सय ६० मिटर लामो पुलमा ९२ मिटर ढलान हुनुपर्ने छ । बाँकी ५७ मिटरमा स्टिलको ट्रस्ट राखिनेछ । दुई लेनको पुल निर्माणका लागि स्वछन्द निर्माण सेवाले ०७० सालमा १५ करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन गर्न ठेक्का सम्झौता गरेको थियो । ०७३ सालमा निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माण कम्पनीको लापरबाहीका कारण ६ वर्ष ढिला हुँदा पनि आधा काम भएको छैन । पुलमा २ वटा पिल्लर, ४ वटा स्लाप र ६० मिटर लम्बाईको ट्रष्ट निर्माण गर्न बाँकी नै छ ।

पुलमा प्रयोग गरिएका निर्माण सामाग्री कमसल भएको भन्ने गुनासो आएपछि परीक्षणमा पठाए पनि सडक डिभिजन कार्यालयले त्यसको रिपोर्ट सार्वजनिक गरेको छैन । पुल निर्माणको काम लामो समय देखि रोकिएपछि दुई जिल्लाबासीलाई बिरामी ओसारपसार र कृषिजन्य वस्तु ढुवानीमा समेत समस्या भएको उजुरीकर्ता ढुंगानाले बताए । निर्माण कम्पनीका प्रमुख ठेकेदार जयराम लामिछानेले आगामी असार मसान्तसम्म काम सक्ने म्याद पाएकाले सोही समयभित्र सम्पूर्ण काम सम्पन्न गरी सडक डिभिजन कार्यालयलाई जिम्मा लगाउने दावी गरे । पुलमा प्रयोग गरीएका निर्माण सामाग्रीहरु ढुंगा, वालुवा, गिट्टी, सिमेन्ट लगायत सबै सामग्रीको ल्याब टेस्ट गरेर मात्र प्रयोग गरिएको लामिछानेको दावी छ ।


प्रकाशित : पुस २४, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्

तराईको शीतलहर छल्न पहाडतिर

चन्द्र कार्की

तेह्रथुम — तराईमा शीतलहरसँगै चिसो बढेपछि स्थानीयहरू चिसो छल्न पहाडतर्फ लाग्न थालेका छन् । अघिल्ला वर्षहरूमा यो सिजनमा पहाडमा समेत दिनभर हुस्सु लाग्ने र राति तुसारो परेर मौसम ठन्डा हुने गरे पनि अहिले पहाडको मौसम पनि घमाइलो देखिन थालेको छ । 

पूर्वी तराईलाई बाक्लो हुस्सुसहितको शीतलहरले छोपिरहँदा पहाडी जिल्लाहरू तेह्रथुमसहित धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायत जिल्लामा दिनहरू घमाइलो हुने भएकाले पनि तराई भेगका वृद्धवृद्धा र केटाकेटीहरू पहाड उक्लिन थालेको तीनजुरे पहाडमा पसल चलाउँदै आएका युवराज खड्काले बताए ।

पुस महिना सुरु भएपछि आकाश खुल्ला छ । दिनभर न्यानो घाम लाग्ने गरेकाले यो वर्षको पुसमा पहाडका बासिन्दाले जाडोको त्यति महसुस गर्नु नपरेको ३ हजार मिटरको उचाईमा रहेको गुफा बजारका फुजुङ भोटेले बताए । चिसो मौसम हुने समयमा समेत यो महिना न्यानो अनुभव भैरहेको उनले सुनाए ।

३ हजार मिटरको उचाईमा रहेको गुफा बजारमा समेत यो वर्ष अघिल्लो वर्षजस्तो चिसो नभएको स्थानीय मकालु होटलका सञ्चालक हिमा खनालले बताइन् ।

पूर्वी तराईमा चिसो बढेपछि पहाडमा आफन्त हुने र घरघडेरी हुनेहरू तराईको चिसो छल्न पहाडतर्फ उक्लिन थालेका छन् । तराईमा शीतलहरसँगै कठांग्रिने जाडो बढेपछि विराटनगरको वरगाछी बसोबास गर्दै आएका ६५ वर्षीय नन्दलाल भट्टराई तेह्रथुमको मोराहाङमा रहेका आफन्तकोमा आएका छन् । तराईमा चिसो बढेर बस्न नसकेपछि केही समय भए पनि पहाडमा चिसो छल्न आएको उनले बताए ।

तराईको चिसो छल्न धेरै बुढापाका र केटाकेटी पहाडतिर आइरहेका छन् । अबको एक महिना यतै रहने र तराईमा शीतलहर र कठांग्रिने चिसो हटेपछि मात्र फर्किने झापाको तोपगाछीबाट पहाड घर दांगपा आएका मित्रलाल बस्नेतलले बताए । ‘तराईभन्दा त पहाड धेरै तातो रहेछ‚’ धनकुटाको सिंधुवा बजारमा भेटिएका बस्नेतले भने ।

मौसम न्यानो भएकाले अस्पताल तथा अन्य स्वास्थ्य स्वास्थ्यमा चिसोका कारण समस्या लिएर आउने बिरामीको संख्यासमेत अघिल्लो वर्षको यही सिजनको तुलनामा कम रहेको स्वास्थयकर्मीको भनाइ छ ।

प्रकाशित : पुस २४, २०७९ १२:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×