लम्की–चुहा नहरमा छाडियो पानी

मोहन बुडाऐर

धनगढी — राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणअन्तर्गत निर्माणाधीन लम्की–चुहा नहरमा पानी छाडिएको छ । आयोजनाले दोस्रो चरणअन्तर्गत लम्की–चुहा नगरपालिकाको ६ हजार हेक्टर जमिन सिञ्चित हुने गरी ६ वर्षपछि १४.६ किमि लम्बाइको नहर निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

नहर निर्माणको ९६ प्रतिशत काम पुगेका बेला नहरमा गत शुक्रबारदेखि पानी छाडेर परीक्षण गरिएको आयोजनाका इन्जिनियर तोपबहादुर खत्रीले बताए । ‘नहरको ६ किमि लाइनिङ पक्की र ८ दशमलव ६५ किमि अर्जन्ट (कच्ची) नहर निर्माण गर्ने काम सकिएको छ,’ खत्रीले भने, ‘ठेक्का सम्झौताअनुसार नहरको लम्बाइसम्मको क्यानल निर्माण पूरा भएको हो ।’ बाँकी चार प्रतिशत काम नहरको सर्भिस रोडको ग्राभेलिङ र बायोग्यास इन्जिनियर मात्रै पूरा गर्न बाँकी रहेको उनको भनाइ छ । नहरको पानी पथरिया र वाणी सिँचाइ प्रणालीमा समेत पुग्ने गरी छाडिनेछ ।

आयोजनाको दोस्रो चरणअन्तर्गतको लम्की–चुहा नहरको ठेक्का सम्झौता ०७३ भदौमा कालिका–कुमार कम्पनीसंँग १ अर्ब ७९ करोड ३१ लाख १ हजार १६७ रुपैयाँमा गरिएको थियो । निर्माण कम्पनीलाई अहिलेसम्म एक अर्ब ६९ करोड २३ लाख रुपैयाँ भुक्तानी भएको छ । ठेक्का सम्झौतामा नहर निर्माण सक्ने म्याद ०७५ असारसम्म तोकिएको थियो । विभिन्न कारणले ठेकेदार कम्पनीबाट समयमा ठेक्का पूरा गर्न नसक्दा ६ पटक म्याद थप्दै अन्तिम म्याद गत पुस १५ सम्मको दिइएको थियो । अन्तिम पटक थपिएको म्यादभित्रै ठेकेदार कम्पनीले ९६ प्रतिशत काम पूरा गरेको इन्जिनियर खत्रीले बताए । समयमा नहरको काम नसकिनुको मुख्य कारण वनले नहर क्षेत्रभित्रका रुख कटानको अनुमति समयमै नदिनु रहेको इन्जिनियर खत्रीले जनाए ।

‘नहर क्षेत्रभित्र २ हजार ६८८ रुख काट्नुपर्ने थियो,’ खत्रीले भने, ‘वनले रुख हटाउने अनुमति दिनै १ वर्ष ५ महिना लगायो ।’ दोस्रो नम्बरी जग्गा प्राप्तिको निर्णयमा ढिलो भएको उनको भनाइ छ । ०७५ फागुनमा मात्रै नम्बरी जग्गा प्राप्तिको अनुमति पाएको उनले बताए । ऐलानी जग्गा प्राप्तिमा थप ढिला हुनुले ठेकेदार कम्पनीले दिएको समयमा नहर निर्माणको काम पूरा गर्न नसकेको पनि दाबी गरिएको छ ।

प्रकाशित : पुस २३, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?