भारतबाट हिँड्यो जीटूजीको रासायनिक मल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

भारतबाट हिँड्यो जीटूजीको रासायनिक मल

राजेश मिश्र

नयाँदिल्ली — लामो अवधिको तयारी र प्रतीक्षापछि भारतबाट नेपालका लागि पहिलो खेप युरिया मल बिहीबार कोलकाताबाट हिँडेको छ । सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडले किनेको ३० हजार टन मल ढुवानी सुरु भएको हो ।

२ हजार ५ सय १० टन युरिया बोकेको रेल र्‍याक वीरगन्जका लागि हिँडिसकेको कम्पनीका महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले जनाए । कोलकातामा रहेका कार्कीले साता–दस दिनमा पहिलो खेपमा किनिएको मल नेपाल पुगिसक्ने उनको भनाइ छ । दुई देशका सरकारबीच मल खरिद बिक्रीका लागि गत वर्ष फागुनमै सम्झौता भएको थियो । यसअघि ग्लोबल टेन्डरबाट मात्रै मल किन्ने गरिएकामा पहिलो पटक जीटूजी प्रक्रियाबाट मल आपूर्ति थालिएको हो ।

दुई देशका सरकारबीच भएको सम्झौतापछि कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच साउनमा खरिद–बिक्रीसम्बन्धी आवश्यक सहमति (एमओयू) भएको हो । त्यसयता भारतबाट मल खरिदको प्रक्रिया थालिँदै आएको कार्कीले बताए । ‘पहिलो पटक जीटूजीको प्रक्रिया गरिएकाले समय लागेको हो, कहिले हाम्रोतिर, कहिले भारततिर प्रक्रिया पूरा गर्दा समय लाग्न गयो,’ उनले भने ‘एक पटक थालनी भइसकेपछि आगामी दिनमा सहज हुनेछ ।’

भारतीय कम्पनी आरसीएफले विराटनगर, वीरगन्ज र भैरहवाको सीमा क्षेत्रमा रहेका कृषि सामग्री कम्पनीको गोदामसम्म मल पुर्‍याउनेछ । सार्वजनिक खरिद ऐनका सबै प्रक्रिया पूरा गरेर ग्लोबल टेन्डरबाट मल खरिद गर्दा कम्तीमा ७ महिना लागेको कार्कीले बताए । छिटोका लागि जीटूजी प्रक्रिया नै आगामी दिनमा सहज देखिएको उनले उल्लेख गरे । ३० हजार टन खरिदका लागि ३ अर्ब २७ करोड नेपाली रुपैयाँ कम्पनीले खर्चिएको छ । आवश्यक करबाहेक प्रतिटन ६ सय ६७ डलर मूल्यमा भारतबाट मल किनिएको हो । कर थप्दा प्रतिटनको मूल्य ८ सय ९ डलर पुग्छ । ५० किलो युरियाको प्रतिबोराको खरिद मूल्य ५ हजार ३ सय रुपैयाँ पर्ने र किसानलाई उक्त बोरा ७ सय ५० रुपैयाँमा मात्रै बिक्री गरिने कार्कीले जानकारी दिए ।

अहिले भित्रिने युरियाले गहुँको सिजनलाई राहत हुनेछ । यसबाहेक ग्लोबल टेन्डरबाट ९० हजार टन मल खरिदको अर्डर भइसकेको र मलेसियाबाट केही दिनमा ढुवानी सुरु हुने महाप्रबन्धक कार्कीले बताए । भारतबाट ३० हजार टनको ढुवानी पूरा भएसँगै अर्को अर्डरको प्रक्रिया थालिने उनले जनाए ।

आगामी आर्थिक वर्षको बजेटबाट खरिद गरिने मलको टेन्डर प्रक्रियाका लागि कम्पनीले सरकारसँग स्वीकृति मागेको छ ।

‘सार्वजनिक खरिद ऐनमा रहेका प्रावधानले समय धेरै लिन्छ, त्यही भएर अहिलेबाटै प्रक्रिया थाल्न सहमति मागेका हौं, त्यसो हुँदा साउनमै मल ल्याउन सकिन्छ,’ कार्कीले भने, ‘धानको सिजनमा किसानलार्ई मलको सुनिश्चितता होस् भन्ने विभिन्न प्रयास गरिरहेका छौं ।’ कम्पनीले यसै वर्ष पनि मल खरिदका लागि ७ अर्ब ७५ करोड थप रकम सरकारसँग मागेको छ । सबैतिरबाट समयमै काम भए आगामी वर्ष धानको सिजनमा मलको समस्या नहुने कार्कीको दाबी छ ।

भारतसँग भएको सम्झौताअनुसार ५ वर्षका लागि भारत आफूले तेस्रो मुलुकबाट किनेकै मूल्यमा नेपाललाई तोकिएको अनुपातमा मल दिनेछ । सम्झौताअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार, चौथो र पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग किन्न पाउनेछ ।

प्रकाशित : पुस २२, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

छवि बदल्ने प्रयासमा राहुल

भारत जोडो यात्राले राहुलको छवि सकारात्मक बनाएको, पार्टीको भित्र र बाहिर राहुलको नेतृत्व स्वीकार गर्ने वातावरण बन्दै गएको विश्लेषकहरुको भनाइ
राजेश मिश्र

नयाँदिल्ली — अटलबिहारी वाजपेयी नेतृत्वको एनडीए सन् २००४ को चुनावमा पराजित भएपछि सोनिया गान्धी प्रधानमन्त्री बन्ने लगभग निश्चित थियो । उनकै नेतृत्वमा कंग्रेससहितको यूपीए गठबन्धनले चुनाव जितेको थियो । सोनिया कंग्रेसको अध्यक्ष त थिइन् नै, युनाइटेड प्रोग्रेसिभ एलाइन्स (यूपीए) को प्रमुख पनि उनी नै चुनिएकी थिइन् ।

तर, छोरा राहुल भने आफ्नी आमा सोनियालाई प्रधानमन्त्री बन्न दिने पक्षमा थिएनन् । उनी कंग्रेस पार्टी र गठबन्धनमा रहेका सबै दलले सोनियालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावको विरुद्धमा थिए । बुबा राजीव गान्धी र हजुरआमा इन्दिरा गान्धी जस्तै आमा सोनियाको जीवन पनि खतरामा पर्ने डरले उनले आमालाई प्रधानमन्त्री बन्न नदिन जिद्दी गरेका थिए । कंग्रेस वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री नटवर सिंहले आफ्नो आत्मकथामा सोनियालाई त्यतिबेला प्रधानमन्त्री हुनबाट राहुलले रोकेको लेखेका छन् । राहुलको दृढ अडानको अगाडि आमाको हृदय झुकेको र सोनियाले प्रधानमन्त्रीका लागि मनमोहन सिंहको नाम प्रस्ताव गर्नुपरेको उनको भनाइ छ ।

त्यतिबेला ३४ वर्ष रहेका राहुलले अहिले पाँच दशक पार गरिसकेका छन् । तिनै राहुल अहिले ज्यानको प्रवाह नगरी हजारौं मानिसको भीडमा लगातार महिनौंदेखि पैदल यात्रा गरिरहेका छन् । हाफ टिसर्ट, पाइन्ट र स्पोर्ट जुत्तामा उनले सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि थालेको ‘भारत जोडो यात्रा’ ले सय दिन पार गरिसकेको छ । यस अवधिमा उनले २ हजार ८ सय किलोमिटर दूरी पैदल यात्रा गरिसकेका छन् । कन्याकुमारीदेखि कश्मीरसम्मको ३ हजार ५ सय ७० कलोमिटरको पैदल यात्रा सक्ने उनको लक्ष्य छ । ‘राजकुमार’ उपमा पाएका राहुलले यो यात्रामाथि धेरैको आशंका थियो । कंग्रेस पार्टी र त्यसका नेता–कार्यकर्ताले संगठन गर्ने, जनतामाझ जाने, पैदल हिँड्नेजस्ता व्यवहार बिर्सिएका बेला सुखसयलको जीवन व्यतीत गरेका राहुलले विभिन्नखाले मौसम, पार्टीभित्रको अन्तरद्वन्द्व, बाहिरी आलोचना तथा मिडियाको असहयोगबीच यात्रालाई निरन्तरता दिनेमा कतिपयले आशंका गरेका थिए । तर, ती सबै आशंका चिर्दै राहुलले यात्रालाई निरन्तरता दिएका छन् ।

यात्राको १ सय ५ औं दिनमा उनी दिल्ली पुग्ने तय थियो । राजस्थानबाट हरियाणा हुँदै दिल्ली आउँदै गर्दा केन्द्र सरकारले ‘कोरोना’ को कारण देखाउँदै उनलाई यात्रा रोक्न भनेको छ । कोरोनासम्बन्धी कुनै ‘प्रोटोकल’ जारी नै नभएका बेला केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्डवियाले राहुललाई यात्रा रोक्न आग्रहसहितको पत्र पठाए । त्यसपछि अर्को दिन एकाएक प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनालाई लिएर ‘आपत्कालीन’ बैठक डाके । मिडियाहरूले लगातार सरकारसँगै मुखरित भएर कोरोनालाई लिएर सतर्क गराउन थाल्यो । मानौं, एकै दिनमा दिल्लीमा कोरोनाको ठूलो फैलावट भयो । विपक्षी दलले

संसद्मा चीनसँग सीमामा विवाद भइरहेको विषयमा छलफल हुनुपर्ने अडान लिएका बेला संसद् कोरोनाको विषयले तात्यो । तर पछिल्लो दिनमा संक्रमितको संख्या तीन वर्षयताकै कम देखिएको छ ।

कंग्रेस र राहुलले आफ्नो यात्रालाई बीचमै रोक्न सरकारले गरेको चालबाजीको आरोप लगाए । र, यात्रा कुनै पनि हालतमा नरोकिने राहुलको अडान बाहिर आयो । गर्मी, बर्खा र अहिले दिल्लीको चिसो मौसमको प्रतिकूलता र यात्रा अवरोध गर्ने सरकारको चलाखीलाई चिर्दै उनको ‘भारत जोडो यात्रा’ शनिबार दिल्ली आइपुग्यो । कन्याकुमारीबाट तमिलनाडु, केरल, आन्ध्र प्रदेश, तेलंगना, महाराष्ट्र, उडिसा, मध्यप्रदेश, राजस्थान, हरियाणापछि उनको यात्रा दिल्ली आएको हो ।

हरियाणा र दिल्लीको सीमा बदुरपुर हुँदै लालककिला पुगेका उनले भारतीय जनता पार्टीले देशमा घृणा, हिंसा र डर फैलाएर शासन गरिरहेको र त्यसलाई मिडियाले साथ दिएको बताएका छन् । ‘जतिबेला म टेलिभिजन खोल्छु, हिन्दु–मुस्लिमलाई लडाउने कोसिस भइरहेको पाउँछु । जताततै घृणा र द्वैष फैलाउने कार्यक्रम चलाइएको पाउँछु, देशभित्रको मूल मुद्दाबाट ध्यान भड्काउन भाजपाले त्यस्तो माहोल बनाएको छ,’ उनले भने, ‘तर, यथार्थमा वास्तविकता अर्कै छ । आमनागरिक हिन्दु, मुस्लिम, सिख वा इसाई एकअर्काको इज्जत गरेर बसेका छन् ।’ त्यही घृणा र द्वैषको राजनीति अन्त्य गर्न आफूले ‘भारत जोडो यात्रा’ थालेको भन्दै आएका छन् ।

जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का राजनीतिक अध्ययन केन्द्रका प्राध्यापक मनिन्द्रनाथ ठाकुर भारतको राजनीतिक इतिहासमा महात्मा गान्धीदेखि धेरै नेताहरूले पैदल यात्राको लाभ लिन सफल भएको बताउँछन् । ‘विविधताले भरिएको देशमा जोड्ने कुरालाई धेरैले मन पराउँछन्, यस्ता यात्राको असर जनतामा पर्छ । कंग्रेसको आइडोलोजी यही थियो । तर बीचमा यो धेरै कमजोर हुन पुग्यो,’ कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘त्यसलाई राहुलले बल दिने कोसिस गरेका छन् । यसलाई स्वयं राहुल र कंग्रेस पार्टीका लागि ठूलो उपलब्धि नै भन्न सकिन्छ ।’

भारतको प्रथम राष्ट्रपति पण्डित जवाहरलाल नेहरू, पूर्वप्रधानमन्त्रीहरू हजुरआमा इन्दिरा र बुबा राजीवको विरासत बोकेका राहुलको छवि गम्भीर नेताको थिएन । उनी आफैं राजनीतिमा आएको दुई दशक पुग्न थालेको छ ।

सन् २००४ मै उनी आफ्नो पारिवारिक निर्वाचन क्षेत्र उत्तरप्रदेशको अमेठीबाट लोकसभा चुनाव जितेर राजनीतिमा प्रवेश गरेका थिए । त्यसयता युथ कंग्रेसको नेतृत्व गर्दै पार्टी महासचिव हुँदै पार्टी अध्यक्ष भइसकेका छन् । तर, उनको भाषण र वक्तव्यबाजीप्रति सधैं प्रश्न उठ्ने गरेको छ । उनको छवि ‘हल्का’ नेताकै थियो । आमजनताबीच नपुगेको र भारतको धरातलीय यथार्थ नबुझेको नेताका रूपमा उनको चित्रण गरिएको थियो । तर, दृढताका साथ ३ हजार किलोमिटरको यात्रा पूरा गर्दैगर्दा उनले आफ्नो नकारात्मक छवि भने बदलिरहेका छन् ।

‘भाजपाले मेरो छवि खराब गर्न करोडौं रुपैयाँ खर्च गरेको छ,’ यात्राका क्रममा राहुलको यस्तो भनाइ पटकपटक सुनिएको छ । नेता र नेतृत्व दिने मानिसको छविले धेरै ठूलो अर्थ राख्दछ । प्रधानमन्त्री नरेन्द्र मोदीको ‘बोल्ड’ छविका कारण भाजपाले चुनावहरू जित्दै आएको छ । उनलाई राहुलको कमजोर छविले टक्कर दिन सकिरहेको थिएन । विश्लेषकहरूले उनको यस यात्राले जनतामा बनेको उनको नकारात्मक छवि फेरिन ठूलो मद्दत गरेको बताउँछन् । स्वयं राहुल पनि आफ्नो छविलाई लिएर चिन्तित देखिन्छन् । र, मिडियासँग साक्षात्कार हुने बेला सतर्कता अपनाउँछन् । पार्टी र उनका समर्थकले यात्राका दौरान सर्वसाधारण, पार्टी कार्यकर्ता, बालबालिकादेखि वृद्धवृद्धा, महिला, शिक्षक, स्वास्थ्यकर्मी र किसानसँग गरेका सजिला संवादका भिडियोहरू प्रचारमा ल्याएर उनको धैर्यतापूर्वक कुरा सुन्न, सहज जवाफ दिने ‘गम्भीर’ छविलाई प्रचारित गर्दै छ । उनले विभिन्न ठाउँका संस्कृतिअनुसार नाचगानमा सामेल भएको र बालबालिकालाई माया गरेका चित्रहरू आएका छन् ।

१८ वर्षको राजनीतिक यात्रामा उनले आफूलाई पहिलो पटक राजनीतिको ‘सिरियस प्लेयर’ का रूपमा स्थापित गरेका छन् । आलोचकहरूले उनको यस यात्रालाई ‘इमेज बिल्डिङ’ को प्रयास मात्रै पनि भनेका छन् । जेएनयूका प्राध्यापक ठाकुर यात्राका क्रममा राहुलले आममानिससँग गरेको वार्तालाप र व्यवहारहरूको प्रचारित फोटो/भिडियोले आमजनतामा उनलाई हेर्ने नजरमा सकारात्मक छाप छोडिरहेको बताउँछन् । ‘राहुलका विपक्षीले सोसल मिडियामार्फत उनको इमेजलाई खराब चित्रण गरेको थियो । उनको यस यात्राले त्यो खराब इमेजलाई पूरै ब्रेक गर्न सफल भएको छ,’ उनले भने, ‘हजारौं किलोमिटरको पैदल यात्राले उनले हिन्दुस्तानलाई र उनलाई हिन्दुस्तानले बुझ्ने मौका मिलेको छ ।’

पत्रकार मो. साहिद भाजपाले दिएको ‘पप्पु’ तथा ‘राजकुमार’ को छविलाई राहुलले यस यात्राको दौरान पूरै चिर्न सफल भएको देख्छन् । ‘उहाँका बारेमा सोसल मिडियामार्फत अनेक मिथहरू प्रचारित छन्,’ उनले भने, ‘जनताको बीचमा गएर त्यो सबै मिथलाई उहाँ ब्रेक गर्न सफल देखिनुभएको छ ।’

अर्कोतिर, पुनः पार्टी अध्यक्ष बन्न सम्पूर्ण पार्टी पंक्तिको आग्रहलाई अस्वीकार गरेर आफू पदलोलुप नरहेको तथा भाजपाले लगाउँदै आएको परिवारवादको आरोपलाई चिर्ने कोसिस गरेका छन् । उनले पार्टीको नेतृत्व गर्दैगर्दा सन् २०१९ मा पराजित हुन पुगेको थियो । त्यसलगत्तै उनले अध्यक्षबाट राजीनामा दिएका थिए । दुई महिना अगाडि भएको पार्टी अध्यक्षको चुनावमा उनले आफूलाई एउटा मतदाताका रूपमा मात्रै राखे । पार्टी नेतृत्व लिन दबाब बढ्दै जाँदा पनि उनले आफूलाई यात्रामै व्यस्त राखे । त्यस निर्णयले पनि उनले पार्टीभित्र र बाहिर एउटा राजनीतिक उचाइ प्राप्त गरेका छन् ।

राजनीतिक विश्लेषक तथा टिप्पणीकार चन्द्रभूषणको शब्दमा ‘कमजोर स्ट्यान्डिङ’ भएको नेताबाट मजबुत नेताका रूपमा राहुलको उदय भइरहेको छ । यसले उनको दृढ इच्छा शक्तिको प्रदर्शन भएको उनले बताए । ‘लगातार प्रतिदिन २५ किलोमिटर पैदल हिँड्नु, यो मामुली काम कोइन, उनले लिएको मुद्दा र उनले देखाएको व्यवहार इच्छा शक्ति प्रशंसनीय छ,’ उनले भने ।

आफ्नो यात्रालाई उनले वा उनको पार्टीले चुनावसँग जोडेर नहेर्न पटकपटक भन्दै आएको छ । यसै अवधिमा भएको गुजरात र हिमाचल प्रदेशको चुनावलाई भन्दा राहुलले आफ्नो यात्रालाई बढी महत्त्व दिए । उनी चुनावी प्रचारप्रसारमै सामेल भएनन् । उनी यात्रामै रहँदा गुजरात विधानसभा र दिल्लीको नगर निगम चुनावमा पार्टीले नराम्ररी हार बेहोरिसकेको छ । यद्यपि, हिमाचलमा कांग्रेस सत्तामा फर्किन सफल भएको छ । यात्राबाट बनेको छवि र आर्जित लोकप्रियतालाई सम्भवतः उनले आगामी २०२४ को लोकसभा चुनावसम्मलाई सञ्चित गर्ने कोसिस गरेको देखिन्छ ।

जेएनयूका प्राध्यापक ठाकुर राहुलको यात्राले तीन वटा प्रभाव पारिरहेको बताउँछन् । पहिलो राहुलको इमेज सकारात्मक बनाएको छ । अर्को भारतलाई जोड्ने कुरा सही हो, यो मुद्दा स्थापित गराउने काम भइरहेको छ । तेस्रो पार्टीको भित्र र बाहिर राहुलको ‘लिडरसिप’ स्वीकार गर्ने वातावरण बन्दै छ । यात्राका कारण नै समाजवादी नेता चन्द्रशेखरलाई भारतको राजनीतिमा स्थापित गराएको भन्दै उनले यात्राको लाभ राहुलले पनि पाउने सम्भावना देख्छन् । ‘कंग्रेस पार्टीले चुनावमा यसको कति लाभ लिन सक्छ, त्यसको निर्भरता पार्टीले लिने नीतिमै रहनेछ,’ उनले भने, ‘यसको उपयोग पार्टीले कसरी गर्न सफल हुन्छ, त्यसैमा यसको लाभ निर्भर हुनेछ ।’

राजनीतिक विश्लेषक चन्द्रभूषण कंग्रेसलाई ‘रिभाइव’ गर्न यस यात्राले कस्तो भूमिका खेल्ने यस विषयमा अहिले नै भन्न मुस्किल हुने बताउँछन् । ‘१२५ वर्ष पुरानो पार्टी एउटा यात्राको भरमा रिभाइव हुन सक्छ जस्तो मलाई लाग्दैन,’ कान्तिपुरसँग उनले भने, ‘पार्टी कमजोर हुनुमा अनेकौं कारण छन् ।’ राहुलको यात्राले मात्र भाजपालाई खासै नोक्सान नपुग्ने उनको बुझाइ छ ।

पत्रकार साहिद पनि यस यात्राले बलमा मात्र आगामी चुनावमै कांग्रेसले ठूलो लाभ पाउन सक्ने सम्भावना देख्दैनन् । तर, भविष्यमा यसको लाभ भने निश्चित प्राप्त हुने उनको बुझाइ छ । ‘राहुलले गुमाउनका लागि केही छैन, अब उनले प्राप्त मात्रै गर्ने हो,’ उनले भने, ‘तत्कालै नभए पनि ५/१० वर्ष पछाडिको समयमा उनले यसको लाभ पाउने छन् ।’

प्रकाशित : पुस ११, २०७९ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×