८३ दिनमा २१ सय मिटर सुरुङ खनियो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
 सुनकोसी-मरिण डाइभर्सन आयोजना

८३ दिनमा २१ सय मिटर सुरुङ खनियो

अहिले टनेल बोरिङ मेसिनले दैनिक सरदर २५ देखि ३८ मिटरसम्म सुरुङ खनिरहेको छ ।
राजकुमार कार्की

सिन्धुली — सुनकोसी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम प्रगति लक्ष्यभन्दा बढी भएको छ । काम सुरु भएको ८३ दिनमा २.१ किलोमिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाले जनाएको छ । गएको असोज २८ गतेबाट टनेल बोरिङ मेसिन (टीबीएम)को सहयोगमा सुरुङ खन्न सुरु गरिएको थियो ।

आयोजनाका प्रमुख मित्र बरालका अनुसार १३.३ किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको हो । सुरुङ निर्माणमा हालसम्म कुनै समस्या नआएको भन्दै प्रमुख बरालले अहिले चुरेमुनिको भूभागमा खनिरहेको र महाभारत क्षेत्र लागेपछि कडा चट्टान हुने भएकाले समस्या आउन सक्ने बताए ।

यही रफ्तारमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधिअगावै निर्माण सम्पन्न हुने आयोजनाको दाबी छ । सुरुङ निर्माणमा खटिएका प्राविधिक कर्मचारी तथा कामदारको सहजताका लागि भनेर ठूलो पाइपमा अक्सिजनसहित हावा पास गर्ने क्षेत्र बनाइएको छ । सुरुङ निर्माण क्षेत्रमा ठाउँ-ठाउँबाट पानी निस्किए पनि ठूलो मुल भेटिएर कामै रोक्नु पर्ने अवस्था भने आएको छैन । अघिल्लो आर्थिक वर्षसम्म ९ प्रतिशत भौतिक प्रगति रहेकोमा यो ६ महिनाको अवधिमा १.५ प्रतिशत बढेर १०.५ प्रतिशत पुगेको प्रमुख बरालले जानकारी दिए ।

सुनकोसी–मरिण डाइभर्सनअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारमा सुरुङ खन्दै । तस्बिर : राजकुमार कार्की/कान्तिपुर


ल्याब परीक्षणबाट स्वीकृत भएका सेगमेन्ट मात्र सुरुङ निर्माणमा प्रयोग भएको आयोजनाको दाबी छ । प्रमुख बराल भन्छन्, ‘ल्याब परीक्षण गरी स्वीकृत सेगमेन्ट मात्र प्रयोगमा आएका छन् । गुणस्तरमा कमी आउन नदिन राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ फिल्डमै खटिएका छन् ।’

टीबीएम मेसिनको खन्ने काम र सेगमेन्ट निर्माणको तालमेलपछि कुनै समस्या नआएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर अशोकराज गौतमले बताए । सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिनबाट एक महिनामा ५ सय मिटर सुरुङ खन्ने लक्ष्य राखेकोमा प्रगति बढेको उनको भनाइ छ ।

अहिले टनेल बोरिङ मेसिनले दैनिक सरदर २५ देखि ३८ मिटरसम्म सुरुङ खनिरहेको छ । सुनकोसी गाउँपालिकाको कानढुंग्रीमा गएर सुरुङ निर्माण सम्पन्न हुन्छ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा ७ सय मिटर तलपर्छ । पानी बग्ने क्षेत्र ५.५ डायमिटर रहने गरी अहिले ६.६ डायमिटरको सुरुङ मेसिनले खनिरहेको छ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपैयाँमा ठेक्का पाएको छ । टीबीएमले आठ/आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबीसै घण्टा सुरुङ खनिरहेको छ ।

आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । साथै सिंचाइका साथै यस आयोजनाबाट ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने छ । आयोजनाको कुल लागत करिब ४६ अर्ब रहने अनुमान गरिएको छ ।

आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुर्‍याउने रहेको छ । बाह्रै महिना सिंचाइ सुविधा पुगेमा वार्षिक २६ अर्ब रुपैयाँबराबरको कृषि उत्पादन बढ्ने र आयोजनाअन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक १ अर्ब ५५ करोड आम्दानी आकलन छ ।


प्रकाशित : पुस २१, २०७९ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

खैंजडी भजनमा छमछमी नाचे मन्त्री बडू

राजकुमार कार्की

सिन्धुली — लोपोन्मुख मौलिक खैंजडी भजनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू छमछमी लय मिलाएर नाचे । सिन्धुलीमाडीमा सुरु भएको सिन्धुली महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री बडू स्थानीय कलाकारहरुसँगै खैंजडी भजनमा नाचेका हुन् ।

स्थानीय कलाघरका युवा कलाकारहरुसँग मन्त्री बडूले लयमा लय मिलाएर लोपोन्मुख खैंजडी भजनमा नाचेका हुन् । मन्त्री बडूलाई संघीय सांसद श्याम घिमिरे र लेखनाथ दाहालले साथ दिएका थिए । खैंजडी भजन विशेषगरी सप्ताहपुराणमा प्रस्तुत गरिन्छ । पुरुषहरुले मात्र खैंजडी भजन प्रस्तुत गरेर मनोरञ्जन दिने गरेकोमा यतिखेर महिला युवा कलाकारहरुले गरेको प्रस्तुतीलाई दर्शकदीर्घाले निकै रुचाएका थिए । ‘कृषि उद्योग र पर्यटनमा अभिवृद्धि गरौं, समृद्धि र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ भन्ने नारा सहित छैठौं सिन्धुली महोत्सव–२०७९ सुरु भएको छ ।

यस क्रममा मन्त्री बडूले ग्रामीण तहदेखि नै औद्योगिकग्राम स्थापना सरकारको लक्ष्य रहेको बताए । ‘अहिले मुलुकमा खासगरी ग्रामीण तहदेखि नै उद्योगहरु र उद्यमशिलताको स्थापना अहिलेको सरकारको लक्ष्य छ,’ उनले भने, ‘अहिले ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्रामहरुको स्थापनाको लक्ष्य छ । १०५ वटा घोषणा भइसकेका छन् । यो वर्ष ३० वटा ग्रामीण औद्योगिक ग्रामहरु स्थापना हुँदैछन् ।’ औद्योगिक ग्राम स्थापनाले मुलुक आत्मनिर्भर हुने र त्यसको लागि सरकारले तीनकरोड खर्च गर्ने उनको भनाइ थियो ।

मन्त्री बडूले औद्योगिक क्षेत्र पूर्ण क्षमतामा चल्न जरुरी रहेको बताए । औद्योगिक क्षेत्रहरु जुन चलि रहेका छन, जुन उद्योगहरु निजी क्षेत्रले नै चलिरहेका छन् । ती पनि पूर्ण क्षमतामा चलिरहेका छैनन्,’ उनले भने ‘मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सरकारको आफ्नो योजना रहेको छ । निजी क्षेत्रको सहभागितासहित मुलुकको समृद्धि र उत्पादन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजकताका साथ अगाडि बढिरहेको उनले बताए ।


कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सुनकोसी मरिण डाइभर्सन निर्माणले मधेसको विकासमा ठूलो सहयोग पुगेको चर्चा गर्दै उक्त आयोजना निर्माणले मधेस प्रदेशको जमिनमा सिञ्चाइ सुविधा पुगी खाद्यान्न उत्पादन बढ्ने बताए । सांसद श्यामकुमार घिमिरेले जबसम्म उद्योग र व्यवसायको विकास हुँदैन तबसम्म देशको पनि विकास नहुने बताए । कार्यक्रममा सांसद लेखनाथ दाहालले सिन्धुली महोत्सवले सबैमा उत्साह भर्नुपर्ने उल्लेख गर्दै महोत्सव उत्पादन र रोजगारसँग जोडिनु पर्ने बताए । महोत्सव आयोजक मूल समारोह समितिका संयोजक तथा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले महोत्सवबाट उठेको रकमले शक्तिशाली दमकल खरिद गरी आगलागीका घटना न्यूनिकरणमा योगदान दिनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।

पुस ८ गतेदेखि १८ गतेसम्म चल्ने छैठौं सिन्धुली महोत्सवले जिल्लाको कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, स्थानीय व्यापार, उद्योगको विकास, मौलिक उत्पादन, स्थानीय परम्परागत सीप, कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सहयोग पुग्ने बताइएको छ।

उक्त महोत्सव उद्घाटन सहारोहमा वाग्मती प्रदेश सांसद छेत्रबहादुर बम्जन, सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा, एमालेका जिल्ला अध्यक्ष कुमारबहादुर कार्की, सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकाल लगायत वक्ताले महोत्सव सफलताको कामना गरेका थिए । महोत्सवमा कृषि, पशु, घरेलु उद्योग, लघु उद्यम, पर्यटन आदिसँग सम्बन्धित ३५० वटा स्टल प्रदर्शनीमा राखिएको र करिब पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

कार्यक्रमको आयोजक कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले भारतसँग नजिक रहेको सिन्धुलीमा उद्योग स्थापना गरी निर्याततर्फ लाग्नुपर्ने खाँचो औंल्याए । महोत्सवका लागि विभिन्न जाति तथा कलाकारहरुले सदरमुकाममा आआफ्नो परम्परागत पहिरन तथा कला प्रदर्शन गरेका थिए ।


प्रकाशित : पुस ८, २०७९ २१:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×